जनक नेपाल
नेपालगन्ज-, कार्तिक ६ - बर्दियामा एकैसाताभित्र भएका दुई बालिका बलात्कार तथा हत्याको अध्ययन राष्ट्रिय महिला आयोगले सुरु गरेको छ ।
आयोगकी सदस्य मोना अन्सारीले पीडित परिवारसंग भेटेर घटनाको विवरण लिएकी छन् । त्यस्तै, जिल्लास्थित प्रमुख जिल्ला अधिकारी विणीमाधव ज्ञवाली र प्रहरी प्रमुख उपाध्यायलाई भेटि दोषी उम्किन नसक्ने गरी अनुसन्धान गर्न आग्रह गरिन् । 'अत्यन्त दुःखद घटना भएको छ'-अन्सारीले इ-कान्तिपुरसित भनिन्- गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्छ ।
दसैको दिन दिउँसो मामाघरमा टिका लगाएर फर्किदा धधवारकी ५ बषर्ीया जुना बुढामगर अपहरणमा भएकी थिईन । दुई दिनपछि जंगलको बिचमा बेहोस अबस्थामा फेला परेकी जुनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यू भयो । 'दसैकै दिन अपराधीले फूलजस्ती मेरी छोरी चुड्यो'-बुवा अमरले रुँदै भने ।
मामाघरबाट फर्किदा आमा कमलाले गाउँकै १० बषर्ीय विकास चन्दको साइकलमा चढाएकी थिईन् । तर, रक्सीले मात्तिएका 'सुरज' नामको युवाले दिउँसो ४ बजेतिर साइकल खोसेर बालिकालाई जंगलतर्फ लगेको चन्दले बताएका छन् । अमरले गाउँमा हल्ला फैलिएपछि साँझ साढे ६ बजे छोरी अपहरणमा परेको थाह पाएका थिए । गाउँलेले रातभर जंगल वरपर जुनाको खोजी गरेका थिए ।
'वरपरका गाउँलेले धेरै मद्दत गरे'-अमरले भने,-रातभर खोज्यौ तर भेटिएन् । दुई दिनपछि बलात्कारपछि बेहोस भएकी छोरी भेटिएको सुनाउँदा उनी भक्कानिए । बालिकाको गुप्ताङ क्षत-विच्छेत रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
बालिकाको बलात्कार र हत्यामा संलग्न मुख्य अभियुक्त नभेटिदा बर्दिया प्रहरी हैरान छ । प्रहरी थुनामा रहेका अभियुक्तहरुले पोले- बलात्कारी हामी हैनौ, 'सुरज' हो । तर, उनीहरुले दिएको ठेगानामा कुनै सुरज भेटिएन् । प्रहरीले बाँके र बर्दियाका सुरज नामका युवाहरुलाई पक्राउ गर्दै केरकार सुरु गरेको छ । हातमा 'सुरज' टाटु लेख्नेहरु प्रहरीको निगरानीमा परेका छन् । '६ जनालाई ल्याइसक्यौ'- प्रहरी उपरीक्षक सूर्य उपाध्यायले कान्तिपुरसित भने,- अभियुक्त फेला परेको छैन ।
भारतमा संगै मजदुरी गर्ने 'सुरज'लाई अभियुक्त इन्द्रबहादुर डाँगी, उनकी पत्नी राधिका र छिन्चुका प्रेमबहादुर वलीले चिन्ने बताए । अभियुक्त डाँगीले दसैको दिन आफ्नो 'सुरज' आफ्नो घरमा आएको, बुवासंग टिका लगाएको र संगै रक्सी खाएको बयान दिएका छन् । तर, उनले दिएको तारातालको ठेगनामा 'सुरज' नामको कोही नभेटिएपछि प्रहरी हैरान भएको हो ।
जुनाका बुवा अमरले 'सुरज', डाँगी र वलीबिरुद्ध शुक्रवार जिल्ला प्रहरीमा किटानी जाहेरी दिएका छन् । तर, 'सुरज' नामका व्याक्तिका बारे उनी आफै ढुक्क छैनन । 'हातमा सुरज लेखेको केटा देखेको भन्छन'-उनले भने,- उसैले साइकलमा हालेर छोरीलाई जंगलमा लगेको देख्नेहरु छन् । अनुसन्धानका लागि पक्राउ गरेका खुशीराम चौधरी, राधिका डाँगी, हस्तबहादुर परियार र कर्णबहादुर डाँगीलाई भने प्रहरीले रिहा गरेको छ ।
उक्त घटनाको दुई दिनपछि खैरीचन्दनपुर-८ खैरीकी ८ वषिर्या सबिना चौधरीको पनि बलात्कारपछि हत्या गरियो । उनी ४ कक्षामा पढ्थिन् । गाउँकै २८ बषर्ीय रामबहादुर चौधरीले चाउचाउ खुवाउने प्रलोभन देखाएर बलात्कार गरेका हुन् । 'अभियुक्तले अपराध स्वीकार गरिसकेको छ । बलात्कारपछि घाँटी थिचेर हत्या गरेर आत्महत्या देखाउन झुण्डाएको बयान दिएको छ'- उपरीक्षक उपाध्यायले भने,- दुबै घटना मादक पदार्थको मातमा उत्तेजनामा आएर गरेको देखिन्छ ।
बालिका अपहरण, बलात्कार र हत्याका यी दुई घटनापछि बर्दियाको पश्चिमी भेगमा आतंक फैलिएको छ । अधिकांशले स-साना नानीलाई आफैसंग लिएर हिड्न थालेका छन् । 'छोरी घरमा बस्थी-खेल्थी । तर, घटनापछि आफैसंग लिएर हिड्न थालेको छु'-अधिकारकर्मी कौशिल्या वलीले भनिन्- कतै सुरक्षित लाग्दैन ।
बालबालिकाको हेरचाहमा हेलचेक्र्याईले पनि दुःखद् घटना भएका धधवार गाविसका पूर्वअध्यक्ष दयाराम खड्काले बताए । 'गाउँमा आतंक छ । अभिभावकहरु बालबालिका जोगाउने चिन्तामा छन्'- उनले भने । बर्दियामा बितेको एकबर्षमा नौ जना महिला बलात्कृत भए । तीमध्ये अधिकांश १४ बर्षमुनिका बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीसम्म नआएर पीडितलाई आर्थिक सहयोग गरेर गाउँमै मिल्ने घटनाहरु त्योभन्दा दोब्बर रहेको अधिकारकर्मीहरुको अनुमान छ । बलात्कारमा संलग्न चार जना मात्र कारागारमा रहेको प्रहरी निरीक्षक बासुदेव खतिवडाले बताए । गत बैशाखमा गुलरिया नगरपालिकाभित्रै भादा पुलछेउ बहिरा किशोरी सामूहिक बलात्कृत भईन् । तर, अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अधिकांश अभियुक्तहरु फरार रहेको प्रहरी दाबी छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks