सोलुखुम्बु , कार्तिक ९ - भारतीय राजदूत राकेश सुदको सुरक्षामा प्रशासनले कुनै कन्जुस्याँइ नगरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताएका छन् ।
मंगलबार प्रजिअ सुवेदीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मलेन गर्दै राजदूतका लागि आफूहरुले दरिलो सुरक्षा रणनीति अपनाएको बताए । 'माओवादीले प्रशासनलाई अन्तरघात गरी शान्तिपूर्ण विरोधको नाममा जुत्ता प्रहार गरेका हुन्' उनले भने ।
'उनीहरुले जुत्ता हान्ने वित्तिकै लाठी चार्ज या अरु कुनै कारवाही गरेको भए अरु थप अप्रिय घटना हुने भएकाले तत्काल उनीहरुलाई केही गरेनौं' प्रजिअ सुवेदीले भने ।
असोज २० गते सदरमुकाम सल्लेरीमा राजदूत सुदमाथि भएको जुत्ता प्रहारको विषयलाई लिएर गृहमन्त्रालयले एक साताभित्र यथार्थ विवरण पठाउन सोमबार निर्देशन दिएको थियो ।
उनले गृह मन्त्रालयले दिएको निर्धारित समयमा नै आफूले यथार्थ प्रतिबेदन पठाउनका निम्ति छानविन गरिरहेको बताए ।
भारतीय राजदूत सुद सोलुखुम्बुको खुम्जुङमा भारतीय सहयोगमा निर्मित खानेपानी परियोजनाको उदघाटनमा सहभागी हुन गएका थिए । माओवादीले भने सहयोगको नाममा नेपालको उत्तरी सीमा क्षेत्रमा भारतीय प्रभाव बढाउन खोजेको भन्दै विरोध गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks