Loving nepal news

Thursday, October 7, 2010

पास्कोद्वारा राष्ट्रसंघसँग सेनाको सम्बन्ध बिग्रन सक्ने चेतावनी


लोकमणि राई

काठमाडौं, आश्विन २२ - राष्ट्रसंघीय राजनीतिक मामिला उपमहासविच बि लिन पास्कोले मानवअधिकार उल्लङ्घनका घटनाका दोषी सैनिक अधिकृतलाई कारवाहीको दायरामा नल्याउने र अनमिन बहिर्गमनका लागि लबिङ गर्ने नेपाली सेनाको गतिविधिबाट राष्ट्रसंघसँग उसको सम्बन्ध बिग्रने बताएका छन् ।

रक्षामन्त्री विद्या भण्डारीसँग विहीबार रक्षा मन्त्रालयमा भएको भेटवार्तामा उपमहासचिव पास्कोले त्यस्तो बताएका हुन् । 'उपमहासचिव पास्कोले मानवअधिकार उल्लङ्घनका घटनाका दोषी सैनिक अधिकृतलाई कारवाहीको दायरामा नल्याउने र अनमिन बहिर्गमनका लागि लबिङ गर्ने नेपाली सेनाको गतिविधिबाट राष्ट्रसंघसँग उसको सम्बन्ध बिग्रने बताउनुभयो' रक्षामन्त्री निकट स्रोतले कान्तिपुरलाई भन्यो ।

भ्रमण पूरा गरी फर्किनु अगाडि अनमिनले गरेको पत्रकार सम्मेलनमा रक्षामन्त्री भण्डारीसँग मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य र नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने विषयमा लामो कुराकानी भएको बताए । 'मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य र नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने विषयमा रक्षामन्त्रालयमा लामो कुराकानी भयो,' उनले भने- 'शान्ति स्थापनार्थ राष्ट्रसंघीय मिसनमा सहकार्यको निरन्तरताका लागि नेपाली सेनाको लोकतान्त्रिकरण आवश्यक छ र मानवअधिकारसँग सम्बन्धित मुद्धा सम्बोधन गरिनु पर्छ ।'

रक्षामन्त्री भण्डारीले पास्कोलाई नेपाली सेना लोकतान्त्रिकरण गर्न तीन वर्षे योजना मन्त्रिपरिषदमा पेश गरिसकिएको जानकारी दिइन् । 'सेनाको लोकतान्त्रिकरणको विषयमा उपमहासचिवले जिज्ञासा राख्नुभयो,' रक्षामन्त्री भण्डारीका प्रेस सल्लाहकार सुवास देवकोटाले भने, 'रक्षामन्त्रीले तीन वर्षे योजना मन्त्रिपरिषदमा पेश गरेको जानकारी दिनुभयो । त्यसैगरी मानवअधिकारको पालनामा सरकार र सेना प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।'

द्वन्द्वकालका मानवअधिकार उल्लंघनका घटनाको टुंगो लगाउन सत्य निरुपण, बेपत्तासम्बन्धी आयोग गठनको तयारी भइरहेको मन्त्री भण्डारीले जानकारी दिएकी थिइन् । 'त्यसैले द्वन्द्वकालका घटनालाई अर्को प्रक्रियाबाट उछाल्नु राम्रो नहुने रक्षामन्त्रीले स्पष्ट पार्नुभयो' देवकोटाले भने । उनका अनुसार, पास्कोले समायोजनको खाका र पुनस्थापनाको प्याकेज छिटो ल्याउनु राम्रो हुने धारणा राखेका थिए । भण्डारीले त्यसका लागि सरकारको पहल मात्र पर्‍र्याप्त नरहेको धारणा राखेकी थिइन् । 'यसका लागि माओवादी पनि तयार हुनुपर्छ, हामी त तयार छौं,' रक्षामन्त्री भण्डारीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार देवकोटाले भने ।

पास्कोले अनमिन फर्किनु अगाडि माओवादी लडाकू समायोजन र पुनस्थापनासम्बन्धी काम पूरा भएको हेर्न चाहेको बताए । समय छोटो भएको जनाउँदै उनले भने- 'समायोजन र पुनस्थापनाको सम्बन्धमा स्पष्ट कार्य योजना आवश्यक छ ।' अन्तराष्ट्रिय समुदाय र नेपाली जनताले राजनीतिक दलले लचकता अपनाउँदै ४ बुँदे सहमति कार्यान्वयन भएको हेर्न चाहेको धारणा राखे । 'शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन अब के गरिनुपर्छ भन्ने जानकारी मैले भेटका सबैलाई छ,' पास्कोले भने, 'तर, अब काम गर्नुपर्ने बेला हो ।'

पास्कोले बिहीबार मधेशी मोर्चाका घटक, संविधान सभाध्यक्ष सुवास नेम्वाङ र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई संविधान निर्माण, शान्ति प्रक्रिया, सरकार निर्माण र अनमिनको बहिर्गमन पछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । सभामुख नेम्वाङले पास्कोलाई दलहरूबीचको विवाद र अविश्वासका कारण नयाँ सरकार बन्न नसकेको जानकारी दिएको बताए । 'दलहरू छलफलमा छन्, निकास निस्कन्छ भन्नेमा म विश्वस्त छु भने,' नेम्बाङले भने ।

मधेशी मोर्चाले शान्ति प्रक्रियाको बाधक प्रमुख तीन दल भएको पास्कोलाई बताए । मोर्चासँग बिहीबार विहान भएको भेटवार्तापछि उपप्रधानमन्त्री विजय गच्छदारले भने, 'प्रमुख तीन दलकै कारण शान्ति प्रक्रिया अवरुद्ध भएको बतायौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks