Loving nepal news

Wednesday, October 6, 2010

दैनिक दुई हजार पर्यटक भित्रँदै

शिला पाण्डे

काठमाडौ, आश्विन २१ - यतिखेर एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक औसत २ हजार पर्यटकलाई स्वागत गरिरहेको छ । सीमित पूर्वाधारको यस विमानस्थलमा भीडभाड पनि बढेको छ । होटलहरू पाहुनाको स्वागत सत्कारमा दिनरात खटिरहेका छन् । नेपालमा पर्यटक आउने मुख्य मौसम अक्टोबरले व्यवसायीलाई उत्साहित बनाएको छ ।

अक्टोबर २ मा २ हजार ६ सय ३७ विदेशी पर्यटक भित्रिए । यस दिन आन्तरिक यात्रुको चाप अत्यधिक भएकाले विमानस्थलदेखि गौशाला र सिनामंगलसम्म जाम थियो । एकै दिन यति धेरै पर्यटकको आगमन र विमानस्थलका सवारीका कारण सिर्जित जाम इतिहासमै पहिलोपटक थियो । 'यसरी एक दिनमै यति ठूलो संख्यामा पर्यटक आएका थिएनन्,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स -नाटा) अध्यक्ष अर्जुन शर्माले भने, 'सबै ट्राभल एजेन्सी व्यस्त छन् ।'

अघिल्ला वर्षमा नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्ने विमान कम्पनी थोरै भएकाले पूर्णक्षमतामा यात्रु आए पनि एक दिनमा २ हजारभन्दा बढी पर्यटक आउन सक्ने अवस्था थिएन । यसपालि अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी २७ छन् । त्यसमा पनि अधिकांशले आफ्नो उडान संख्या बढाएपछि पर्यटक आगमन बढेको हो । 'निजी क्षेत्रले गरेको लगानी र प्रयासको नतिजा हो,' शर्माले भने, 'सरकारले केही सहयोग गरेको छैन ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अनुसार यस दिन पर्यटकको भिसाबापत उठ्ने दस्तुरसमेत निकै बढी छ । अक्टोबर २ मा ५२ हजार अमेरिकी डलर (३७ लाख ९६ हजार रुपैयाँ) भिसा दस्तुर संकलन भएको कार्यालयका प्रमुख खडानन्द ढकालले बताए । 'यो रकम निकै ठूलो हो,' उनले भने 'यसअघि ५० हजार हाराहारीमा पुगे पनि योभन्दा बढी रकम उठेको थाहा छैन ।'

महिनाको पहिलो चार दिनमा आउने कुल विदेशी पर्यटकको संख्या ८ हजार ६ सय ८५ छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार १ तारिखमा १ हजार ८ सय ७, ३ तारिखमा १ हजार ९ सय ९३ र ४ तारिखमा २ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन् । 'मंगलबार पनि विमानस्थलमा ओर्लनको उत्तिकै भीड थियो,' उनले कान्तिपुरसँग भने । यसरी आइरहेको पर्यटक संख्याले पर्यटन वर्ष सफलताको संकेत दिएको उनले बताए ।

लगातार पर्यटकको ओइरो लागेपछि अहिले राजधानीका सबै तारे होटल भरिएका छन् । होटल संघ नेपाल -हान) का अनुसार सबै होटलको अकुपेन्सी शतप्रतिशत छ । 'यो पर्यटकीय मौसम भएकाले प्रत्येक वर्ष यो समय होटल प्याक हुन्छन्,' हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले भने, 'त्यसमाथि अहिले अघिल्ला वर्षभन्दा बढी पर्यटक आइरहेका छन् ।'

अक्टोबर २० तारिखदेखि होटल ओभर बुकिङ रहेको याक एन्ड यतिका बजार तथा बिक्री निर्देशक भरत जोशीले बताए । उनका अनुसार २० र २१ तारिखमा होटलको बुकिङ १ सय ५ र २२ मा १ सय ९ प्रतिशत छ । त्यसपछिका सबै दिनमा शतप्रतिशत बुकिङ छ । उनका अनुसार एउटा समूह आएर पदयात्रमा निस्केको १/२ दिन अकुपेन्सी ६५ प्रतिशतको हाराहारीमा हुन्छ । तत्काल कोठा खोज्ने पर्यटकका कारण यो प्रतिशत बढ्दा होटल खाली नहुने उनको दाबी छ । 'कुल पर्यटकमध्ये १० प्रतिशत बुकिङ नगरी आउने गर्छन्,' उनले भने, 'खाली हुने समयमा यस्ताखाले पर्यटक राखिन्छ ।'

त्यस्तै होटल सांगि्रलाले पनि पोखरा र काठमाडौं दुवै ठाउँमा अकुपेन्सी शतप्रतिशत रहेको जनाएको छ । 'यो समय हाम्रा लागि निकै महत्त्वपूर्ण हो,' होटलका वरिष्ठ महाप्रबन्धक राजु शाहले भने 'यसका लागि अकुपेन्सी कम भएको बेला कसरी व्यवस्थापन गर्ने भनेर पहिल्यै योजना बनाइन्छ ।' अत्यधिक चापको समयमा बुकिङ नलिई आउनेले भने निर्धारित शुल्कभन्दा केही बढी तिर्नुपर्ने हुन्छ ।

पर्यटन विज्ञहरूका अनुसार आएजति पर्यटकको बसाइ अवधि लम्बिए त्यसले नेपाली पर्यटन क्षेत्रको विकासमा टेवा पुग्नेछ । अघिल्ला वर्षमा पनि यो महिना आउने पर्यटक संख्या ४५ देखि ४८ हजारसम्म पुग्ने गरेको पर्यटन बोर्डका निर्देशक आदित्य बरालले बताए । 'यही दरमा पर्यटक आए अक्टोबरको पर्यटक संख्या ६० हजार पुग्न सक्छ,' उनले भने । गत वर्षको अक्टोबर महिनामा ५६ हजार पर्यटक भित्रिएका थिए ।

बन्द हडताल नहुनु र पर्यटन वर्षको माहौलका कारण बाह्य मुलुकले पर्यटकीय केन्द्रका रूपमा नेपाललाई हेरिरहेको उनको भनाइ छ । 'पर्यटनका हिसाबले फाइदा देखेकै कारण नयाँ विमान कम्पनी आएका छन्,' उनले थपे, 'यसले २०११ को लक्ष्य प्राप्तिको नजिक पुग्न सजिलो देखिएको छ ।' पर्यटन आगमन वर्षैभरि यस्तै रहे २०१० को कुल संख्या ८ लाख पुग्न सक्ने उनको अनुमान छ । 'त्यति संख्या पुग्यो भने गुणस्तरीय पर्यटक आकर्षण गर्नेतर्फ ध्यान दिन सकिन्छ,' बरालले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks