शिव पुरी
रौतहट, आश्विन २४ - भारतीय क्षेत्रबाट चोरी गरी भित्र्याएका सवारी सशस्त्र प्रहरीले पक्रन थालेपछि सम्बन्धित धनीले आफैं
लिलाम सकार गर्न महत्त्वपूर्ण पाटपुर्जा निकालेर सुरक्षाकर्मीमार्फत भन्सार कार्यालयमा बुझाउन थालेका छन् । त्यसरी चोरीका सवारी पक्रेर सुरक्षाकर्मीका उच्चपदस्थ अधिकारीले समेत आफैं लिलाम सकार गर्न पाटपुर्जा खोलेर बुझाउने गरेको स्रोतले बताएको छ ।
नक्कली कागजको भरमा एक गिरोहले भारतबाट चोरी गरी नेपाल भित्र्याएको होन्डाई कम्पनीको सेतो सेन्ट्रो कार सशस्त्र प्रहरीको सन्तपुरस्थित क्याम्पका डीएसपी अर्जुन थापाको टोलीले बरामद गरेको थियो । सामान रुद्र बाहिनी पथलैयामा बुझाएकामा बाहिनीपति डीआईजी ऋषवदेव भट्टराईले आफैं सकार गर्न कारको महत्त्वपूर्ण सामान निकाली राजस्व कार्यालय पथलैया बुझाएका छन् । स्रोतका अनुसार यूपी १६ यू ७४३४ नम्बरको उक्त कार सशस्त्र प्रहरीले गौर भन्सार बुझाउनुपर्नेमा बाहिनीपति भट्टराई आफैंले लिन रातारात रौतहटबाट कार्यालय झिकाएका हुन् ।
सशस्त्र प्रहरीले चोरीका भारतीय जिप नियन्त्रणमा लिएर रौतहट भन्सार कार्यालय बुझाउँदै आए पनि उक्त कार डीआईजी भट्टराईले रातारात बाहिनी झिकाएका थिए । बाहिनी स्रोतका अनुसार कारको महत्त्वपूर्ण पाटपुर्जा डीआईजीले आफ्नै जवानलाई निकाल्न लगाएका हुन् । कारको चारै ढोका, सिसा, इन्जिनको पाटपुर्जा, सिटसमेत निकालेर उनले राजस्व कार्यालयमा बुझाउन लागेका थिए । राजस्व कार्यालयका कर्मचारीले इन्जिन नम्बर चाहिने हुनाले ननिकाल्न अनुरोध गरेपछि त्यसलाई राखेर खोक्रो गाडी मात्र बुझाएको स्रोतले बताएको छ । जुडिबेलाबाट चालू हालतमा सशस्त्र प्रहरीले चोरीको कार पक्राउ गरी चलाएरै बाहिनी लगेको हो । उक्त कार बाहिनी लैजाँदा चन्द्रनिगाहपुरमा स्थानीयवासी रमिते बनेका थिए ।
सशस्त्रका डीआईजी भट्टराईले कारको महत्त्वपूर्ण पाटपुर्जा झिकेको बारे अनभिज्ञ प्रकट गरे । 'केटाहरूले निकाले कि !' उनले भने, 'कार राम्रो छ भन्ने सुनेको हुँ । देखेको भने छैन ।' उनले उक्त कारबारे थप बताउन चाहेनन् । यसअघि सशस्त्र प्रहरीको समनपुर बेसले चोरीका सवारी चढेको कान्तिपुरमा प्रकाशित भएपछि डीआईजी भट्टराईले सक्कली गाडीलाई 'चोरीको' भनेर लेख्ने भन्दै आक्रोश पोखेका थिए ।
त्यसैगरी सशस्त्र प्रहरीको गौर भन्सार बेसका प्रहरी निरीक्षक लीला कार्कीको सक्रियतामा चोरीका आधा दर्जन सवारी नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइएको छ । सशस्त्रले चोरीका जिपहरू नियन्त्रणमा लिन थालेपछि सवारीधनी आफैंले महत्त्वपूर्ण पाटपुर्जा निकाली लिलाम सकार गर्न प्रहरीमार्फत भन्सार कार्यालय बुझाउन थालेका छन् ।
महत्त्वपूर्ण सामान निकाली भन्सार कार्यालयमा आधा दर्जन बोलेरो, मारुती, टाटालगाउतका जिप सवारीधनीले प्रहरीमार्फत बुझाएका छन् । त्यसरी सवारी बुझाउने दलका नेता तथा कार्यकर्तासमेत रहेको स्रोतले बताएको छ । सवारीधनीले महत्त्वपूर्ण सामान निकाली सवारी बेवारिसे अवस्थाको जस्तो सडकमा छाड्ने गरेका छन् ।
प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले चोरीका सवारी फेला परेकै अवस्थामा भन्सार बुझाउने गरेको बताए । महत्त्वपूर्ण सामान निकाली भन्सार बुझाउँदा लिलाम सकार्न सजिलो हुने एक सवारीधनीले बताए । गौर भन्सार प्रमुख लक्ष्मणसिंह श्रेष्ठले सामान निकालेर देखाउनका लागि ल्याइने सवारी आफूले लिलामै नगर्ने बताए । 'सामानै नभएका सवारी कसरी लिलाम गर्ने ?' उनले भने, 'यसका लागि विभागमा लेखेर पठाउँछु ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks