Loving nepal news

Saturday, October 23, 2010

लडाकु कमाण्डरहरुको चीन भ्रमणबारे सरकारले अनमिनसँग जवाफ माग्ने

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ६ - शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङले विशेष समितिलाई थाहा नदिइ माओवादी लडाकुका एक दर्जन कमाण्डरहरुले चीन भ्रमण गरेको सम्बन्धमा राष्ट्र संघीय मिसन (अनमिन) संग स्पष्टिकरण सोध्ने बताएका छन् ।

उनले कमाण्डरहरुको भ्रमणबारे बिशेष समितिलाई कुनै जानकारी नभएको भन्दै आइतवार स्पष्टिकरण सोध्ने बताएका हुन् ।

'सैद्धान्तिक रुपमा माओवादी लडाकु विशेष समितिको मातहतामा आएपनि ब्यवहारिक रुपमा आई नसकेकोले उनीहरुको हतियारको अनुगमन र लडाकुको निगरानी गरिरहेको अनमिनसँग स्पष्टिकरण लिन लागिएको हो' उनले शनिबार रिपोर्टर्स क्लवमा भने ।

मन्त्री चेम्जोङले माओवादी लडाकुको कमाण्डरको विदेश भ्रमणबारे आफूले पनि सन्चारमाध्यममार्फत थाहा पाएको उल्लेख गर्दै भ्रमणको उद्देश्य के थियो भन्ने सम्बन्धमा अनमिनले जवाफ दिनुपर्ने बताए ।

माओवादीका सचिव सीपी गजुरेलले भने लडाकु पार्टीको नियन्त्रणबाट विशेष समितिको मातहतमा गईसकेको दावी गर्दै यो विषयमा विशेष समितिले नै यथार्थ जानकारी दिनुपर्ने बताए । 'लडाकुहरु पार्टीको नियन्त्रणबाट समितिको नियन्त्रण गइसकेका छन् । कसरी कस्लाई सोधेर उनीहरु विदेश भ्रमण गए हामी भन्न सक्दैनौ' उनले भने ।

नेपाली काँग्रेसका नेता तथा बिशेष समितिका सदस्य डा. रामशरण महतले माओवादीका लडाकुको कमाण्डरहरुको चीन भ्रमणको छानविन हुनुपर्ने बताएका थिए । उनले यस बिषयलाई विशेष समितिमा उठाउने समेत बताए ।

दशैं विदाको अबसर पारेर माओवादी सैन्य इञ्चार्ज बर्षमान पुनसहित माओवादी सेनाका एक दर्जन कमाण्डरहरु चीन भ्रमणमा गएका थिए । उनीहरु बिहीबार फर्केका थिए । उनीहरुले आफ्नो भ्रमण निजी बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks