काठमाडौ, आश्विन २८ - नेपालमा दुई नयाँ प्रजातिका चरा फेला परेको छ । पछिल्लो पटक लामोठुँडे डिकुरेभ्याकुर र फुस्रोकण्ठे बगेडी नामका चरा फेला परेको पन्छीविद् डा. हेमसागर बरालले बताए । यी दुईसहित मुलुकमा चराका प्रजातिको संख्या आठ सय ६७ पुगेको छ ।
लामोठुँडे डिकुरेभ्याकुर संखुवासभा जिल्लाको बाला गाविसस्थित चित्रेडाँडामा फेला परेको हो भने, फुस्रोकण्ठे बगेडी सुदूरपश्चिमको शुुक्लाफाँटा वन्यजन्तु आरक्षमा । लामोठुँडे डिकुरेभ्याकुर २०६६ को जेठ २० गतेे पन्छी विशेषज्ञ ज्याक कक्सले फेला पारेका थिए भने चरा अध्येताहरू अनिस तिम्सिना र धिरज चौधरीले बगेडी प्रजातिको चरा कञ्चनपुरको मझगाउँदेखि करिब ७ किलोमिटर दक्षिण पिपरियामा । पन्छीविद् बरालका अनुसार डिकुरेभ्याकुर २०५२ को वैशाखमा मकालु बरुण राष्ट्रिय निकुञ्जको जत्तरा डाँडामा देखिए पनि भरपर्दो आधारको कमीले त्यतिबेला नेपालका चराहरूको आधिकारिक सूचीमा समावेश गरिएको थिएन ।
पन्छीविद् ज्याक कक्सले डिकुरेभ्याकुर नेपालका लागि नयाँ चरा भनी वर्णन गरेका थिए । करिब चौध वर्षपछि २०६६ जेठ २० मा उक्त चरा पुनः संखुवासभामा देखिए पनि वैज्ञानिक पुष्टि गर्न समय लागेकाले भर्खरै घोषणा गरिएको हो । पन्छीविद् ज्याक कक्सको भने, २०६७ असार ८ गते लाओसमा निधन भइसकेको छ । उनी अमेरिकी नागरिक थिए ।
बरालका अनुसार पन्छीविद् कक्सले उक्त चरा मकालु बरुण राष्ट्रिय निकुञ्जस्थित बाला गाविसको चित्रेडाँडामा फेला पारेका थिए । कोक्स र उनका सहयोगी वीरेन्द्र राईले लगभग पाँच मिनेटसम्म उक्ता चराका विभिन्न शरीरका भागका साथै त्यसको आनिबानीको विवरण टिपेका थिए ।
लामोठुँडे डिकुरेभ्याकुर लगभग १२ सेमि लामो -५ इञ्च) र तौल १८ देखि २१ ग्राम हुन्छ । यसको शरीरको मुख्य रङ गाढा खैरो हुन्छ । यसको घाँटी मैलो कैलो र शरीरका तल्लो भागमा साना तर मोटा ठाडा धर्काहरू र माथिल्लो भागमा मसिना ठाडा धर्काहरू हुन्छन् । यसको मसिनो गाढा रङको जुंगारेखी र शरीरको सबैभन्दा तल्लो र अन्तिम भाग कैलो खैरो देखिन्छ ।
बगेडीको शरीरको कुल लम्बाइ १५ सेमि -६ इञ्च) र तौल १७ देखि २६ ग्राम हुन्छ । ठोंड हल्का गुलाफी, धर्कारहित टाउको र सेतो आँखीचक्र हुन्छ । यो चराको भाले बढी चहकिलो देखिने साथै टाउकोमा र गर्दन तल नीलो -फुस्रो रङ भएको हुन्छ । पोथी सामान्यतया भाले जस्तै देखिए पनि कम चहकिलो र शरीरमा निकै धर्का भएको हुन्छ । यो साना झाडी तथा बुट्यानहरू हुने ढुंगे जमिनहरूमा बस्न रुचाउँछ । यो प्रजाति पाकिस्तानका केही भागलगायत अफगानिस्तान तथा मध्ये एसियाका मुलुकहरूमा बच्चा कोरल्छ ।
डिकुरेभ्याकुरको मुख्य वासस्थान उच्च आर्द्रता भएका वनभित्र ढुंगे जमिन, भिराला खोल्सा र कुनै समयमा खेतीपाती गरेर छोडेका ठाउँमा पाइने झाडी हो यो प्रजाति नेपाल, भारत र भुटानमा मात्र पाइन्छ । 'नेपाल रेयर बर्डस् कमिटी' का अध्यक्ष तथा पन्छीविद् श्री सूचित बस्नेतले फुस्रोकण्ठे बगेडी नयाँ प्रजातिको चरा भएको पुष्टि गरेका थिए । सुक्लाफाँटा वन्यजन्तु आरक्षमा एउटा नयाँ चराको प्रजाति थपिए पछि आरक्षमा चरा प्रजाति संख्या ४ सय २४ पुगेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks