काठमाडौ, आश्विन २९ - दशैं आयो, खाउँला, पिउँला...फिल्म हेरौँला ।
दशैं बिदाले सबैलाई पढाइ र कामबाट केही दिनका लागि फुर्सद दिएको छ । यो फुर्सदमा परिवार र इस्टमित्रसँग बसेर मीठा-मीठा परिकारको स्वाद लिँदै गफगाफ गर्ने र तासमा रम्ने योजना त छँदै होला । यसबाहेक यही मौकामा केही राम्रा फिल्म हेर्ने चाहना पनि हुनसक्छ । त्यसैले दशैँको यस उपलक्ष्यमा 'हेलो शुक्रबार' ले आँखामा परिवारसँग बसेर हेर्न लायकका केही मनोरञ्जनात्मक फिल्म-
हाचिकोः अ डग्स टेल
जापानी सत्य घटनामा आधारित हलिउड फिल्म 'हाचिकोः अ डग्स टेल' (एउटा कुकुरको कथा) ले आफ्नो मास्टरप्रति कुकुरमा रहेको माया, सम्मान र निष्ठालाई देखाउँछ ।
एकदिन कलेजबाट र्फकदा रेल स्टेसनमा प्रोफेसर पार्कर विल्सन (रिचार्ड गेर) ले हराएको कुकुरको छाउरो भेट्छन् । जापानी अकिता प्रजातिको सो कुकुर 'हाचि/हाचिको' लाई चिसोबाट बचाउन घर लगेका उनीहरुबीच सुरुबाटै गहिरो लगाव बस्छ । त्यसैले कुकुर पाल्न नचाहने परिवारलाई मनाएर उनले हाचिकोलाई परिवारको सदस्य सरह पाल्छन् ।
ठूलो भएपछि हाचिकोले पार्करलाई कलेज जानुअघि स्टेसनसम्म पुराउने र लिन जाने आफ्नो दैनिकी बनाउँछ । एकदिन पार्करलाई स्टेसनसम्म पुर्याएर घर फर्केको हाचिकोले लिन जाँदा उसलाई फेला पार्दैन । प्रोफेसरको कलेजमै मृत्यु भएको हुन्छ । तर, हाचिको आफ्नो मास्टरलाई नौ वर्षसम्म त्यही ठाउँमा पार्कर र्फकने समयमा कुर्न जान्छ, नमर्दासम्म ।
जापानी फिल्म 'हाचिको मोनोगाटारी' (१९८७) को हलिउड रिमेक 'हाचिकोः अ डग्स टेल' घरेलु जनावर पाल्न रुचाउनेका लागि उपयुक्त छ । विशेष कुकुर मनपराउने परिवारहरुको लागि त यो उत्कृष्ट रोजाइ बन्नसक्छ ।
माइ गगर्लफ्रेन्ड इज एन् एजेन्ट
कोरियन फिल्म 'माई गर्लफ्रेन्ड इज एन् एजेन्ट' रोमान्टिक कमेडी/एक्सन फिल्म हो । रुसको अन्डरवल्र्ड समूहले कोरियामा बनेको क्षेप्यास्त्र चोर्ने योजना बनाएका हुन्छन् । उनीहरुको योजनालाई असफल बनाउने जिम्मा दुई सिक्रेट एजेन्टले पाउँछन् । वर्षौदेखि जासुसीको काम गर्दै आएकी सु-जी (किम हा-न्यूल) आफ्नो काममा उत्कृष्ट मानिन्छे । अर्को एजेन्ट जे-जुन -काङ जि-ह्वान) काममा नयाँ त हुन्छ नै, ऊ जहाँ जान्छ, समस्याले उसलाई त्यहीँ पछ्याउँछ ।
सु-जी र जे-जुन भिन्न जासुसी संस्थाबाट भएकाले एक-अर्काबाट परिचय र काम लुकाउँछन् । तर, एउटै मिसनको लागि काम गर्ने भएकोले उनीहरुबीच भेट भैरहन्छ जसले गर्दा दुवैको कन्चट मात्र तातिँदैन, उनीहरुको पुरानो प्रेमसमेत ब्युतिन थाल्छ । उनीहरुको माया, घृणा र विश्व बचाउने जिम्माको यो यात्रामा दर्शकले भने पेट मिचेर हाँस्न बाध्य बनाउँछ ।
टिपिकल कोरियन स्टाइलको कमेडी, हल्का-फुल्का कथा तर उत्कृष्ट प्रस्तुती र कलाकारको अभिनयले दशैंमा 'माई गर्लफ्रेन्ड इज एन एजेन्ट' हेरेर भरपूर मस्ती गर्न सकिनेछ ।
मोन्स्टर्स
सौर्य मन्डलमा अरु जीवजन्तु खोज्न गएको अन्तरिक्ष यान पृथ्वी फर्कंदा मेक्सिको माथि आकाशमा ध्वस्त हुन्छ । केही समयपछि मेक्सिकोमा अकल्पनीय भयानक जीवजन्तु देखिन थाल्छन् । त्यहाँबाट विश्वमा फैलन नदिन मेक्सिको केही भागलाई 'संक्रमित क्षेत्र' घोषणा गर्दै ती एलियन जीवजन्तुलाई नष्ट गर्न अमेरिका र मेक्सिको लागि पर्छन् ।
यो युद्धमा फोटोपत्रकार एन्ड्रयु -स्कट म्याक्नाइरी) ले काम गर्ने पत्रिकाको मालिकको छोरी समान्था (ह्वाइट्नी एबल) लाई खोज्ने जिम्मा पाउँछ । युद्धको फोटो खिच्न त्यहाँ पुगेको ऊ समान्थालाई अमेरिका फर्काउने कोशिशमा हुन्छ । तर, समान्थालाई घर फर्काउने उसको योजना असफल भएपछि अमेरिका पुग्न 'संक्रमित क्षेत्र' को बाटो जानैपर्ने हुन्छ ।
एन्ड्रयु र समान्थाको यो कथा बि्रटिस स्वतन्त्र फिल्म 'मोन्स्टर्स' को हो । काल्पनिक भविष्यको झल्को दिने यो फिल्म साई-फाई फिल्मका फ्यानका लागि दशैं टि्रट हुनसक्छ ।
इन्धिरनः द रोबोट
बलिउड (तमिल) साई-फाई फिल्म 'इन्धिरनः द रोबोट' ले भारतमा धुम मचाइरहेको छ । दक्षिण भारतका सुपरस्टार रजनीकान्तको डबल रोल रहेको यो साइन्स-फिक्सन फिल्ममा बलिउडको मरमसला र हलिउडसँग टक्कर गर्नसक्ने प्रविधिको राम्रो मेल भएकोले फिल्मले कीर्तिमान माथि कीर्तिमान राखिरहेको छ ।
'इन्धिरनः द रोबोट' को कथा वैज्ञानिक डा. भासिगरण (रजनीकान्त) ले आफूले निर्माण गरेको रोबोट 'चिटी' लाई सम्हाल्नको लागि गर्ने संघर्ष वरिपरि घुमेको छ । हलिउडको आधुनिक 'फ्र्याङ्केन्सटाइन' को बलिउड भर्सन जस्तो रोबोट चिटी (रजनीकान्त) ले आफै सोच्न सक्छ । मानिसको सबै बानीबेहोरा र भावना बुझ्ने चिटी आफ्नो आविष्कारकको प्रेमिका साना (ऐश्वर्या राय बच्चन) सँग प्रेममा पर्छ । पछि गएर यही मानवीय भावनाले उसलाई खतरनाक हतियारमा बदल्छ ।
विल स्मिथको 'आई, रोबोट' सँग हल्का प्रभावित देखिने एस शंकरद्वारा निर्देशित 'इन्धिरनः द रोबोट' मा नायक रजनीकान्तले आफूभन्दा झन्डै आधा उमेरकी पूर्व विश्व सुन्दरी ऐश्वर्यासँग रोमान्स गरेका छन् । उनीहरुबिचको केमेस्ट्री जोडदार नभए पनि जोडी असुहाउदिलो देखिएको छैन । अभिनेता हुनुअघि बस कन्डक्टर रहेका 'स्टाइल किङ' रजनीकान्तको आफ्नै अभिनय र संवाद बोल्ने स्टाइलले पनि यो फिल्म थप आकर्षक बनेको छ ।
यी फिल्म हेरेर यो दशैं थप रमाइलो र यादगार बनाउनु हुनेछ भन्ने हेलो शुक्रबारको आशा छ । विजया दशमीको हार्दिक शुभकामना !
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks