ललितपुर, आश्विन २० - कांग्रेसको नवनिर्वाचित कार्यसमितिले पदभार सम्हाले पनि पार्टी कार्यालयमा विगत वर्षमा जस्तो चहलपहल छैन । सानेपास्थित वीपी स्मृति भवनको पहिलो तलाका कोठामा नवनिर्वाचित सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष चित्रलेखा यादवको नेम प्लेट राखिसकिएको छ तर त्यसको संकेतमा छ 'बाहिर' । केन्द्रीय सदस्यका लागि तयार तेस्रो तलाको हल खाली छ ।
दुई साताअघि सकिएको महाधिवेशनपछि सुनसान पार्टी कार्यालयमा केही कर्मचारी भेटिन्छन् । 'सभापति बिरामी भएर कार्यालय आउन नसक्दा पनि भीडभाड कम भएको हो' कार्यालयका सहसचिव प्रेम केसीले कान्तिपुरसँग भने- 'उहाँ बिरामी नभएको भए मनोनयनलगायतका कार्य बेलैमा सकिन्थ्यो र यहाँ पनि दसैंको माहोल हुन्थ्यो ।'
उनका अनुसार, महाधिवेशनपछि जिल्ला फर्किरहेका नेता तथा कार्यकर्ता निवासमा पुगेर सुशीललाई बधाई, शीघ्र स्वास्थ्य लाभ र दसैंको शुभकामना दिंदै कार्यगत निर्देशन मागिरहेका छन् । चिकित्सकले आराम गर्ने सल्लाह दिए पनि उहाँको निवासमा निर्देशन माग्दै नेता र कार्यकर्ताहरू जिल्ला फर्किरहेका छन् ।
पार्टी कार्यालयमा अन्य बेला २२ कर्मचारी, ठूलो संख्यामा पदाधिकारी र सुरक्षाकर्मी हुन्छन् । महाधिवेशनको परिणाम लगत्तै दुई मुख्य सचिवमध्ये एक जीवनप्रेम श्रेष्ठले राजीनामा दिएका छन् । सहसचिव केसीले भने- 'अधिकांश नेता र कार्यकर्ता जिल्ला फर्किरहेको हुनाले यहाँ रौनक कम भएको हो ।'
राष्ट्रिय महाधिवेशनको क्रममा लगातार दुई महिनाको दौडधुप र थकानले गर्दा कार्यरत कर्मचारीहरूले साताभरिका लागि कार्यालय बन्द गर्ने प्रस्ताव राखे पनि त्यो कार्यान्वयन भएन । 'आधाभन्दा बढी कर्मचारीहरू त बिरामी परेका छन्, धेरै काम सक्नुपर्ने भएकाले आलोपालो गर्दै सकी नसकी कार्यालय धाइरहेका छन्' उनले भने । कार्यालय आएकाले मत गणना र परिणामको अभिलेख राख्ने र ७५ जिल्लाको कांग्रेस कार्यालयलाई महाधिवेशनको प्रचारको क्रममा सार्वजनिक स्थलमा राखेको तुल, ब्यानर, पर्चा, पम्पलेट र वालपेन्टिङ हटाउन निर्देशन दिइरहेका देखिन्थे ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा साताअघिदेखि २० जनाले यस्ता सामग्री हटाइरहेका छन् । 'केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिले सबै ठाउँबाट दसैं अगाडि पार्टीको प्रचार सामग्री हटाउन लगातार निर्देशन दिइरहेको छ,' उनले भने- 'यही कारणले कार्यालय पूरै बन्द गर्न नसकिएको हो ।'
कार्यालयको दोस्रो तलाको एक कोठामा केन्द्रीय सदस्य दीपकुमार उपाध्याय महाधिवेशनको खर्चको हिसाबकिताबमा व्यस्त भेटिन्छन् । 'म त सके दसैं अगाडि महाधिवेशनको खर्च सार्वजनिक गर्ने तयारीमा लागेको छु' उपाध्यायले कान्तिपुरसँग भने । उनले गिरिजाबाबुको निधनले हरेक वर्ष कोजाग्रत पूणिर्मामा गरिने चियापान कार्यक्रम यसवर्ष स्थगित गरिंदा, भर्खरै अधिवेशन सकिएको हुनाले र सुशील बाबुको स्वास्थ्यले निर्वाचनपछि 'वार्मअप' मिटिङहरू हुन नसक्दा कार्यालय खाली देखिएको बताए ।
अस्पतालबाट डिस्चार्ज भएकै दिन गत बुधबार पार्टी सभापतिलाई निवासमा भेटेर मनोनयन अगावै एक बैठक गरेर सामूहिकरूपमा शुभकामना आदानप्रदान गर्ने सल्लाह दिएको उनले बताए । उनले भने 'अझै बिरामी हुनुहुन्छ, तैपनि उहाँले सम्भव भएसम्म बैठक गर्ने भन्नुभएको छ ।' 'सम्भवतः दसैंपछि हुने केन्द्रीय समितिको बैठकमा मनोनयनको टुंगो लाग्ने र कार्यालयमा चहलपहल सुरु हुनेछ' उपाध्यायले भने- 'सधैझैं यसपाली पनि नेताहरूको घरमा गएर शुभकामना दिने, सहयोग माग्ने र विभिन्न कामका लागि सिफारिसको आग्रह गर्नेहरू पुगिरहेकै छन् ।'
पार्टी पदाधिकारीले आन्तरिक काम सुरु नगरेकाले कार्यालयअघिको पार्क र होटेल समेत सुनसानजस्तै छन् । 'मत गणना सकिएपछि त सुनसान भएर नरमाइलो भयो,' पार्क होटेलकी सञ्चालिका सोनी थापाले भनिन्, 'त्यसअघि त वरिपरि खुट्टा राख्ने ठाउँ थिएन ।' महाधिवेशन सुरु भएको भदौ ३१ देखि निर्वाचितलाई प्रमाणपत्र बाँडेको असोज १४ गतेसम्म चहलपहल निकै रहेको उनले बताइन् ।
उनका अनुसार मत परिणाम घोषणा नहुँदासम्म दैनिक औसत १४ हजार रुपैयाँसम्मको बिक्री हुन्थ्यो । अहिले त मुस्किलले दैनिक ३/४ हजार रुपैयाँ मात्र व्यापार हुने गरेको उनले बताइन् । अन्य बेला पार्टीको बैठक हुँदा र ठूला नेता आउँदा राम्रै व्यापार हुने गरेको उनले अनुभव सुनाइन् । 'मिटिङ हुँदा ३० देखि ७० कपसम्म चियाको अर्डर हुन्छ' थापाले भनिन्, 'सामान्य दिनमा कर्मचारीहरूबाट बिहान-बेलुकी १३/१४ कप चियाको अर्डर त हुन्छ नै ?'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks