Loving nepal news

Monday, October 25, 2010

माओवादी-चिनियाँ वार्ता सम्बन्ध सुदृढ गर्न छलफल

गंगा बीसी

काठमाडौ, कार्तिक ९ - चीन भ्रमणमा रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले सोमबार बेइजिङमा चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख वाङ झियारुई नेतृत्वको टोलीसँग दुई पार्टीको सम्बन्ध, नेपालको राजनीतिक अवस्थालगायत विषयमा कुराकानी भएको हो ।

'समसामयिक राजनीतिबारे कुरा भयो,' भ्रमण टोलीमा रहेका माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले बेइजिङबाट टेलिफोनमा भने । भेटवार्ता करिब एक घन्टा चलेको थियो । भेटमा चिनियाँ अधिकारीले नेपालमा शान्ति र स्थिरता चाहेको बताएका थिए । 'नेपालमा हस्तक्षेप गर्ने नीति छैन,' चिनियाँ नेता झियारुईको भनाइ उद्धृत गर्दै महराले भने, 'नेपालमा शान्ति र स्थिरता भएको देख्न चाहन्छांै । शान्ति र संविधान निष्कर्षमा पुग्ने विश्वास गर्छौं ।'

अध्यक्ष दाहालले दुई पार्टीबीच सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गर्दै 'एक चीन नीति' मा पार्टी प्रतिबद्ध रहेको जनाएका थिए । 'दुई कम्युनिस्ट पार्टीबीच असल सम्बन्ध अझै सुदृढ हुन आवश्यक छ,' दाहालको भनाइ थियो, 'नेपालले लिएको एक चीन नीतिप्रति ठूलो पार्टीको हैसियतले थप प्रतिबद्धता जनाउन चाहन्छांै ।' संविधानसभाबाट ठूलो पार्टी बनेपछि माओवादीसँग चिनियाँ कम्युनिस्ट पार्टीले औपचारिक सम्बन्ध स्थापित गरेको थियो ।

चिनियाँ अधिकारीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन शुभकामना दिएको महराले जानकारी दिए । उनीहरूले नेपालमा हुने चीनविरोधी तिब्बती गतिविधिप्रति चासो राखेको स्रोतले जनाएको छ । दाहालले ०६६ असोजमा गरेको चीन भ्रमणमा राष्ट्रपति हु जिन्ताओले माओवादीतर्फ संकेत गर्दै चीन नेपालमा बलियो शक्तिको पक्षमा रहेको बताएका थिए । त्यसबेला विदेश विभागसँग माओवादीको चार चरणमा दुई पार्टीबीच सम्बन्ध र दक्षिण एसियाको राजनीतिबारे अन्तक्रिर्या भएको थियो ।

दाहालले शनिबार चिनियाँ कम्युनिस्ट पार्टी वैदेशिक विभागका उपमन्त्री आई पिङ तथा सांघाई महानगरका स्थायी समिति सदस्य याङ च्याओ तुईलगायतका नेतासँग भेटवार्ता गरेका थिए । सांघाईस्थित सिजिओ गेस्ट होटलमा अपराह्न साढे १२ बजेदेखि एक घन्टा चलेको वार्तामा अधिकांश समय द्विपक्षीय पारस्परिक हितलगायत पार्टीगत सम्बन्ध विस्तारका विषयमा छलफल चलेको थियो । उपमन्त्री पिङले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै धन्यवाद दिए । नेपाल मामिलाका जानकार मानिने उनी दाहाललाई स्वागत गर्न शुक्रबार सांघाई गएका थिए । दाहाल उनीसँगै आइतबार बेइजिङ पुगेका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks