Loving nepal news

Sunday, October 3, 2010

भागबन्डा नगर्ने कांग्रेस सभापतिको अडान

कान्तिपुर संवाददाता
काठमाडौं, आश्विन १८ - कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालाले केन्द्रीय समितिबाट चयन हुने पार्टीका तीन पदाधिकारी र २१ केन्द्रीय सदस्य मनोनयनमा भागबन्डा नगर्ने अडान व्यक्त गरेका छन् । सभापति निर्वाचित भएपछि पहिलोपटक आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसित कुराकानीका क्रममा उनले सार्वजनिक रूपमा पार्टीभित्र पद बाँडफाँडको कुरा उठेकामा असन्तुष्टि प्रकट गर्दै 'कुनै पनि हालतमा भागबन्डा नहुने' बताएका हुन् ।
उनले यो र त्यो पक्ष भनेर पद बाँडफाँड गर्दा पार्टी एकजुट भएको नदेखिने चिन्ता व्यक्त गरे । महाधिवेशनमा सभापतिका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट उपसभापति या महामन्त्रीमध्ये एकसहित दुई पदाधिकारी र मनोनीत २१ मध्ये १० केन्द्रीय सदस्य आफ्नो समूहलाई दिनुपर्ने सार्वजनिक रूपमा माग गरिरहेका बेला उनले पार्टीमा भागबन्डालाई ठाडै अस्वीकार गरेका हुन् ।
उनले कसैले भनेको या दबाब दिएको आधारमा भन्दा पनि महाधिवेशनमा देशभरका कार्यकर्ताले दिएको जनादेशअनुसार पार्टीमा विधिसम्मत ढंगले पदाधिकारी चयन र केन्द्रीय सदस्यको मनोनयनलगायत निर्णय हुने जानकारी दिए । 'हतार गरेर र अत्तालिएर हुन्न, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य चयनको सबालमा वरिष्ठ सबै साथीसँग सरसल्लाह गरेर निर्णय गर्छु,' कोइरालाले भने, 'पार्टीमा भागबन्डा गर्नुपर्छ भन्ने कुरा कांग्रेसका लागि घातक हो । महाधिवेशनको निर्णय आउनासाथ हामी -देउवा पक्ष) लाई यति प्रतिशत चाहिन्छ भन्ने कुरा मिडियाबाट आइरहेको छ । यो चिन्ताको विषय हो ।'
देउवा पक्षले केन्द्रीय समितिमा ४५ प्रतिशत सिट आफ्नो पक्षले जितेकाले पार्टीका चार प्रमुख पदाधिकारीमध्ये दुई पद र केन्द्रीय समितिमा मनोनयन हुने २१ केन्द्रीय सदस्यमा १० जना पाउनुपर्ने अडान राख्दै आएको छ ।
'कसैले उपसभापति र महामन्त्री माग्दैमा दिन सकिँदैन । कसलाई के जिम्मेवारी दिनुपर्छ, त्यो मलाई थाहा छ । अब पार्टीमा कसैलाई काखा, कसैलाई पाखा गरिँदैन । महाधिवेशनको म्यान्डेटलाई सबैले स्वीकार गर्नुपर्छ,' कोइरालाले भने । उनले लोकतन्त्रमाथि आक्रमण भइरहेका बेला कांग्रेसभित्र यस्तो भागबन्डाको विवाद सिर्जना गर्दा लोकतान्त्रिक पद्धति नै कमजोर हुने चिन्ता व्यक्त गरे ।
'एक ढिक्का बनाउन सहयोग गर्छु'
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजान आफूले सभापति कोइरालालाई सक्दो सहयोग गर्ने बताए । देउवाले पार्टीमा सद्भाव र एकताको भावना बढाउन आफ्नो बूढानीलकण्ठस्थित निवासमा आइतबार अपराह्न चियापानको आयोजना गरे । महाधिवेशनपछि पार्टी के हुन्छ भन्ने जिज्ञासामा देउवाले भने, 'पार्टी एकढिक्का हुन्छ । पार्टीलाई एकजुट बनाउन म सक्दो सहयोग गर्छु ।' उनले थप बोल्न चाहेनन् ।
महाधिवेशन क्रममा कोइराला र आफ्नो पक्षबीच देखिएको प्रतिस्पर्धाबाट तिक्तता बढ्न नदिन उनले सद्भाव चियापान आयोजना गरेको जानकारी उनी निकट नेताले दिए । चियापानमा संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, केबी गुरुङ, अर्जुननरसिंह केसी, रामशरण महत, कृष्ण सिटौला, कांग्रेस केन्द्रीय कार्यसमितिमा विजयी र पराजित सबैजसो नेता सरिक थिए । 'बेड रेस्ट' गरिरहेका कारण सभापति कोइराला भने चियापानमा अनुपस्थित रहे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks