काठमाडौ, आश्विन २४ - राजतन्त्र हटेर गणतन्त्र आएको दुई वर्षबितिसकेको छ तर पूर्वराजपरिवारका नातेदार र प्रभावशालीहरू कहाँ अझै सयौं सुरक्षाकर्मी 'घरेलु कामदार' का रूपमा छन् । पूर्वशाही नातेदारसहित पूर्वप्रधानमन्त्री, गृहमन्त्री, सेनापति, गृहसचिव, महानिरीक्षक, मुख्यसचिवहरू र उच्च प्रशासकका घरमा सयौं सुरक्षाकर्मी कामदारका रूपमा कार्यरत रहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नै सूचना संयन्त्रबाट तयार पारेको सूचीअनुसार पूर्वराजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहको निवासमा प्रहरी हवल्दार सम्बरबहादुर तामाङको कमान्डमा जवानहरू किशोसिंह भण्डा, शेषकान्त पन्त, गंगाबहादुर केसी र सन्दीपप्रसाद कुशवाहा तैनाथ छन् ।
यसैग पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरी शीताष्माको निवासमा हवल्दार लक्ष्मणबहादुर श्रेष्ठको नेतृत्वमा जवानहरू रामबालक कुर्मी, हिरालाल चौध, दीपक बुढाथोकी र जयमंगल यादव छन् । उनकै अर्की छोरी दिलासाको निवासमा पनि हवल्दार पूर्णबहादुर कार्कीको नेतृत्वमा जवानहरू दिलबहादुर छत्याल, दीपक थापा, कृष्णराज ओझा र वीरेन्द्रसिंह कार्की कार्यरत छन् ।
'मुसालाई बिरालाको घाँटीमा कसले घन्टी झुन्ड्याउने' झैं भएको छ प्रहरी कामदारको कथा नेपाल प्रहरीमा । स्रोतका अनुसार गृहसचिव गोविन्द कुसुमकै घरमा प्रहरीहरू कामदारका रूपमा छन् । उच्च पदस्थले एक/दुई जना राखेकै कारण तलकाले सयौंको दुरुपयोग गरेका छन् ।
नेपाल प्रहरीका मात्रै तीन हजारभन्दा बढी कर्मचारीहरू पूर्वशाही नातेदार, मन्त्री, सचिव, पूर्वप्रशासक, पूर्वप्रहरी प्रमुख र उच्च अधिकृतको निवासमा घरेलु कामदारका रूपमा रहेको विवरण संकलन गरे पनि गृह मन्त्रालयले त्यसउपर कुनै कारबाही गरेको छैन ।
राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनामा संगठनको संख्याअनुसार झनै बढी दुरुपयोग भएको बताइन्छ । रोचक कुरा के छ भने शाही नातेदार र केही ठूला प्रभावशाली व्यक्तिकहाँ कसले प्रहरी पठाइरहेका छन् र तिनीहरू कति जना छन् भन्ने सूचना प्रहरी मुख्यालयलाई समेत छैन ।
देशका अधिकांश प्रभावशाली र सुरक्षा चुनौती रहेका महत्त्वपूर्ण व्यक्तिलाई जिल्ला सुरक्षा समितिको निर्णय गरेर व्यक्तिगत सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पीएसओज) उपलब्ध गराउँछ । तर कामदारका रूपमा खटिएकाहरू जसको काम गरिरहे पनि औपचारिक रूपमा उनीहरू प्रहरी कार्यालयमै हाजिर भएको देखाइन्छ ।
एक प्रहरी अधिकृत भन्छन्, 'केही जवानलाई त कतिसम्म शोषण गरिएको छ भने दिनभरि घरमा निजी काम गर्न लगाएर खान र सुत्न प्रहरीकै ब्यारेकमा पठाइन्छ ।'
जवानदेखि र्सइसम्मका कर्मचारीलाई मात्रै नभएर पछिल्लो समयमा दक्ष चालकलाई समेत प्रभावशाली व्यक्तिले लैजान थालेकामा प्रहरी मुख्यालय चिन्तित छ । 'एकपछि अर्को अनुभवी चालकलाई प्रभावशाली व्यक्तिले वर्षौंसम्म निजी चालकझैं लैजाँदा हामीलाई ठूलो समस्या परेको छ,' प्रधान कार्यालयका एक उच्च अधिकृतले इकान्तिपुरलाई भने, 'विशेष अनुरोधमा केही दिनका लागि पठाइएका चालक वषौं फर्कंउदैनन्, गृहमन्त्री, सचिव र उच्च अधिकारीलाई फोन गराएर उतै राख्छन् ।'
मुख्यालयका अनुसार मन्त्रालयले चिठी काटेर मात्रै ३० जना लगेका छन् । अनौपचारिक रूपमा गएकाबारे यकिन तथ्यांक छैन ।
केही वर्षघि गृह मन्त्रालयले आचारसंहिता तयार पारी कुनै पनि प्रहरी कर्मचारीलाई घरेलु कामदारका रूपमा निजी काममा लगाउन नपाइने आदेश परिपत्रमार्फत देशभरि जारी गरेको थियो । छुट्टै पुस्तिका छापेर पठाइएको उक्त आचारसंहिता अहिले कागजमा सीमित छ ।
क्यानडाका बहालवाला राजदूत तथा पूर्वमुख्यसचिव भोजराज घिमिरेको सानेपास्थित घर रुङ्न पनि हवल्दार राजकुमार थापाको कमान्डमा प्रहरी राखिएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा पनि थुप्रै प्रहरी कामदारकै रूपमा छन् ।
क्षेत्रीय प्रहरी प्रमुख रहेका तीन डीआईजीको निवासमा पनि दसभन्दा बढी प्रहरी कामदारका रूपमा रहेको सूचना गृह मन्त्रालयले संकलन गरेको छ ।
मन्त्रालयको विवरणमा अधिकांश पूर्वप्रह महानिक्षक र अतिरिक्त महानिक्षकको निवासमा औपचारिक रूपमा दुई जना मात्रै देखिए पनि आठदेखि दस जना कार्यरत छन् । त्यस्तै केहीबाहेक अधिकांश भूतपूर्व डीआईजीका निवासमा ४ देखि ६ जना कामदार छन् ।
विवरण संकलन गर्न हिंडेको टोलीले एक पूर्वप्रहरी महानिक्षकको छिमेकीबाट जानकारी लिने क्रममा घरमा सुरक्षाका लागि राखिएका प्रहरीलाई गेटमा खटाई भित्र जुवा खेलाउने गरेको उजुरीसमेत प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार मृत्यु भइसकेका पहिलो प्रहरी महानिक्षक नरशमशेर जबराको निवासमा समेत अहिलेसम्म प्रहरी कामदारका रूपमा छन् । त्यस्तै अन्य पूर्वप्रहरी महानिक्षकहरू रत्नशमशेर जबरा, खडगजित बराल, दुर्लभकुमार थापा, हेमबहादुर मल्ल, डीबी लामा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर जबरा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेम गुरुङलगायत सबैको घरमा असंख्या प्रहरी कामदार भेटिएको सूची गृह मन्त्रालयमा छ ।
'सबैभन्दा ठूलो समस्या नै यही छ,' प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, 'हाम्रो सूचीमा दुई जना देखिन्छन्, अनौपचारिक रूपमा घरमा गएर बुझे एघार जना भेटिन्छन्' ती अधिकृतका अनुसार आफूखुसी व्यक्तिगत सम्पर्कका आधारमा आफ्नो कार्यालयबाट पठाउनेहरूलाई जबसम्म कारबाही थालिंदैन, तबसम्म घरेलु कामदार फर्कने स्थिति देखिंदैन ।
'कसको घरमा कति छन् भन्ने गोप्य रूपमा बुझी सूची तयार गरेर फिर्ता गराउने अन्तिम प्रयासमा लागेका छौं,' प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने ।
प्रहरीलाई घरेलु कामदारका रूपमा राख्नेहरूमा पूर्वगृहमन्त्री गोविन्दराज जोशीदेखि राज्यमन्त्री देवेन्द्र कँडेल र पूर्वगृहसचिव भक्तबहादुर कोइरालासमेत छन् । अधिकृत र प्रशासकहरूले प्रहरी कर्मचारी घरमा सुरक्षाका लागि राखिएको बताउँछन् । तर अधिकांश प्रहरी सुरक्षाका लागि नभई घरधन्दामा खटिएका देखिन्छन् ।
केहीअघि मात्रै मालीगाउँ निवासी पूर्वप्रह महानिरीक्षक श्यामभक्त थापाको निवासमा कार्यरत दुई प्रहरी सिन्धुपाल्चोकस्थित भोटेकोसी खोलामा डुबेर मरेका थिए । मृतक दुई प्रहरी पूर्वमहानिरीक्षक थापाको छोरालाई घुमाउने क्रममा सिन्धुपाल्चोक पुगेका थिए । स्रोतका अनुसार पूर्वप्रहरी प्रमुख थापाको निवासमा अझै आठ प्रहरी घरेलु कामदारका रूपमा कार्यरत छन् ।
बस्ने र बसाउने दुवैको स्वार्थ पूरा भइरहेकाले यो विषयमा हत्तपत्त गुनासो आउँदैन । तर जनताको सेवामा खटिनेले भन्दा प्रभावशाली व्यक्तिकहाँ बस्नेहरूले अवसर बढी पाउने गरेकाले प्रहरीभित्रै त्यसको विरोध चर्को रूपमा हुने गरेको छ ।
यो प्रबृति प्रहरीमा मात्र होइन सेनामा झन चर्को छ । कालीकोटमा गणपति रहेका मेजर छत्रबहादुर मल्लले आफू मातहतका चार सैनिकलाई काठमाडौंमा घर बनाउने कार्यमा लगाएको खुलासा भएकै दिन हालै सेनाले उनलाई निलम्बन गरेको छ । सेनाका पनि अन्य दर्जनौं उच्च अधिकृतहरूको निवासमा सयौं सुरक्षाकर्मी कामदारका रूपमा छन् । सेनाका केही उच्च अधिकृतहरू मर्निङ्वाक गर्नेक्रममै तीन जनासम्म अघि-पछि लगाएर हिंडेको देखिन्छन् । उनीहरूलाई चाहिं कुनै कारबाही भएको देखिंदैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks