काठमाडौं, आश्विन ३० - पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा शनिबार मध्यान्ह भएको सवारी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना २ ख ७७२२ नम्वरको बसले मध्यान्ह सवा १२ बजे विपरीत दिशामा रहेको मे १ प ७५७३ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोरङ राजघाट- ७ का ३५ वर्षिय शशिधर अधिकारी, उनकी श्रीमती ३५ वर्षकै देवी, छोरीहरु १३ वर्षिया प्रितम र १० वर्षिया प्रिजम तथा छोरा ७ वर्षिय पीतम अधिकारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बसलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको प्रहरी हवल्दार डम्बर गौतमले जानकारी दिए । 'दुर्घटनामा चालकको गम्भीर लापरबाही देखिएको छ,' उनले ईकान्तिपुरलाई भने । शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
सवारी पल्टिदा ४ घाइते
पर्वत पोर्तेल
काँकडभिट्टा- पुर्ववाट पश्चिमतिर जाँदै गरेको एक सवारी शनिवार दिउँसो १२ वजे झापाको मेचीनगरमा पल्टिदा ४ यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट पश्चिमतिर हिडेको मे १ ज ८८९ नम्वरको म्याजिक गाडी अनियन्त्रित भई मेचीनगर १० पुरानो भन्सारमा पल्टिएको थियो । घटनामा मेचीनगर ११ वस्ने पवित्रा तिम्सिना, सोही स्थानकी झरना लिम्वु लगायत ४ जना घाइते छन् । अन्यको नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । सवैको धुलावारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । प्रहरीले ओवर लोडका कारण गाडी पल्टिएको जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks