Loving nepal news

Sunday, October 10, 2010

अवैध असुलीले मासुको मूल्य वृद्धि

सुजित महत

काठमाडौ, आश्विन २५ - ढुवानीका क्रममा अतिरिक्त खर्च बढी भएका कारण राजधानीमा चौपायाको मासुको मूल्य आकासिएको छ । राजमार्गस्थित प्रहरी इकाई, स्थानीय निकायले गर्ने अवैध असुली बन्द भए लागत घटेर उपभोक्ताले केही राहत पाउने उनीहरू बताउँछन् ।

राजधानीमा ५ सय रुपैयाँ प्रतिकिलो रहेको खसीको मूल्य दसैंमा थप बढ्न सक्ने व्यवसायी बताउँछन् । राँगाभैंसीको मासुको मूल्य पनि प्रतिकिलो २ सय रुपैयाँ छुन थालेको छ । राजधानीमा खपत हुने ७५ प्रतिशत खसीबोका भारतबाट भित्रिन्छन् । भारतमा पशु चौपायाको निकासी प्रतिबन्धित भएकाले त्यहाँ बाटोघाटोमा पर्ने प्रहरी इकाई र भन्सारलाई नरिझाई नेपाल भित्र्याउन सम्भव छैन ।

राजधानी र पोखराका लागि उत्तरप्रदेशको काल्पी बजारबाट ल्याइने खसीबोका नेपालगन्ज, भैरहवा र कृष्णनगर नाकामार्फत भित्र्याइन्छ । यी नाकाबाट काल्पी बजारको करिब ६ सय किलोमिटर छ । 'त्यो दूरीमा पर्ने पैसा चढाउनुपर्ने ठाउँ धेरै छन्,' लामो समयदेखि राजधानीमा खसीबोका ल्याइरहेका एक भारतीय व्यवसायीले भने ।

ती व्यवसायीका अनुसार काल्पीदेखि सीमासम्म ट्रकको भाडादर २० हजार रुपैयाँ हो । खसीबोका ढुवानी गर्दा भने दोब्बर खर्च हुन्छ । नेपालमा भित्र्याएर भन्सार जाँचपास गरेपछि पनि आयातकर्ताले सुख पाउँदैनन् । 'ठाउँठाउँ पैसा बुझाउँदै अघि बढ्नुपर्छ,' ती व्यवसायीले भने ।

'भन्सारमा दिनैपर्छ,' अर्का व्यवसायी भन्छन्, 'प्रहरीका चौकी थानामा भेटी नचढाउने हो भने अघि बढ्न सकिन्न ।' बाटोघाटोमा ट्राफिक प्रहरीले पनि आस गर्ने गरेको उनीहरू बताउँछन् । अरू बेलामा दुई/चार सय रुपैयाँमा खुसी हुने प्रहरी इकाईहरूले दसैंको बेला ठूलो मुख बनाउने गरेको व्यवसायीको अनुभव छ । 'कतिपयले खसी नै माग्छन्,' अर्का व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने । अरू बेलामा सीमादेखि राजधानीसम्म ढुवानी गर्दा प्रहरी इकाईहरूमा १५/२० हजार रुपैयाँमा काम चल्ने भए पनि दसैंमा दोब्बर खर्च हुने व्यवसायीहरूले भोगेका छन् । खसीसँगै बाख्रा पनि छ भने प्रहरीले बढी पैसा माग गर्छन् ।

चालू आर्थिक वर्षदेखि जिल्ला विकास समितिका कृषिजन्य उत्पादन र जडिबुटीका ठेकेदारहरूले पनि खसीबोका ढुवानीमा पैसा असुलिरहेका छन् । नेपाल चौपाया खरिदबिक्री सहकारी लिमिटेडले स्थानीय विकास मन्त्रालय गुहारेर हटाए पनि पुनः ढाट राखेर असुली सुरु गर्ने गरेका छन् । जिविसका ठेकेदारहरूले लिन नपाउने ठाउँमा लिएका मात्र छैनन्, एउटा स्थानीय निकायले लिएपछि अरूले लिन नपाउने स्थानीय स्वायत्त शासन कानुनको उल्लंघन गरी जिल्लापिच्छे पैसा असुल्ने गर्छन् ।

नेपालगन्जबाट खसी बोका ढुवानी गर्दा राजमार्गमा पर्ने बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन र काठमाडौंमा पैसा बुझाउनुपरेको छ । नेपालगन्जबाट राजधानी आउँदा राजमार्गमा पर्ने प्रत्येक जिल्लामा असुलिरहेका छन् । नवलपरासीमा पनि २ ठाउँमा असुली भइरहेको छ । चिवनमा जडिबुटी निकासीका ठेकेदार विष्णुहरि अधिकारीको नाममा प्रतिगाडी ५ सय रुपैयाँ असुली हुने गरेको छ । खसीबोका बोकेको गाडीसँग थानकोट महादेवस्थान गाविसको नाममा समेत प्रतिगाडी २ सय रुपैयाँ असुली भएको थियो । नेपालगन्जमा थरुहट राज्य परिषद्को नाममा १ हजार ३ सय रुपैयाँ असुली जारी छ । दसैंको बेला झुन्ड बनाई बसेका युवाहरूले राजमार्गमा ट्रक रोक्न लगाएर पैसा माग गर्छन् ।

राँगाभैंसीमा प्रहरीले निकै बढी असुल्ने गर्छन् । व्यवसायीहरूका अनुसार कतै प्रतिट्रकको हिसाबले त कतै गोटा गन्ती गरेर पैसा असुली हुन्छ । औसत प्रतिठाउँ १ हजार रुपैयाँ असुली हुने राँगाभैंसीको ढुवानीमा ५० हजार रुपैयाँभन्दा बढी घूस नखुवाई राजधानी भित्र्याउन सकिन्न । राजधानीमा राँगाभन्दा बढी भैंसी तथा भारवहन क्षमताभन्दा बढी ढुवानी गरिने भएकाले घूसको मात्रा बढी भएको व्यवसायीहरू बताउँछन् ।

संस्थानले बढायो

नेपाल खाद्य संस्थानले दसैंका लागि भित्राएका खसी प्रतिकिलो १६ देखि २८ रुपैयाँ बढाएर बेचेको छ ।

संस्थानका अधिकारीका अनुसार २० किलोसम्मका जिउँदो खसीलाई किलोको २ सय ५६ रुपैयाँ र २० देखि २५ किलोसम्मका खसीबोकालाई प्रतिकिलो २ सय ७० रुपैयाँका दरले बिक्री गरेको हो । गत वर्ष यसको प्रतिकिलो मूल्य क्रमशः २ सय ४० र २ सय ४५ थियो । यस्तै २५ केजीभन्दा माथिका खसीलाई किलोको २ सय ७८ रुपैयाँ मूल्य तय गरिएको छ, जुन गत वर्ष किलोको २ सय ५० रुपैयाँ थियो । संस्थानले ढुवानी लागत र स्थानीयहरूसँगको खरिद मूल्यमा आएको वृद्धिका कारण यसपालि मूल्य बढाउनुपरेको जनाएको छ ।

निजी व्यापारीहरूले भने दसैंका लागि खसीको औसत मूल्य किलोको २ सय ६५ देखि २ सय ७० रुपैयाँसम्म तय गरेका छन् । भारतबाट पर्याप्त मात्रमा खसी भित्रिएकाले यसपालि गत वर्षको तुलनामा मूल्य स्थिर रहेको निजी व्यापारीको भनाइ छ । 'योपटक खसीको अभाव हुने छैन र मागको अनुपातमा आपूर्ति पनि बढी हुनेछ,' नेपाल पशु व्यापार संघका अध्यक्ष दीपक थापाले भने ।

गत वर्षको दसैंमा भारतीय बजारबाट अस्वस्थकर खसी भित्रिएको खबरसँगै स्थानीय आपूर्ति पर्याप्त हुन नसकेपछि मूल्य पनि नाटकीय रूपमा बढेको थियो । खसी अभावले गत वर्ष उपत्यकामा जिउँदो खसीको मूल्य किलोमा ५३ रुपैयाँ बढेको थियो । मूल्य बढ्नुअघि जिउँदो खसीको मूल्य किलोको १ सय ९७ रुपैयाँमा कारोबार भएको थियो ।

संस्थानले यसपालि दसैंमा ४ हजार खसीबोका बिक्री गर्ने घोषणा गरेको थियो । त्यसमध्ये हालसम्म बर्दिया, नेपालगन्ज, दाङ, हेटौंडा, लहान र काभ्रेबाट ३ हजार ८ सय ५० खसीबोका खरिद गरिसकेको छ ।

गत वर्ष संस्थानले ६ हजार खसी भित्राउने लक्ष्य राखेकामा बजारमा खसी अभावले २ हजार ७ सय ७७ मात्रै खरिद गरेको थियो ।

संस्थानले मूल्य बढाए पनि निजी व्यापारीहरूले बेच्नेभन्दा सस्तोमै उपभोक्तालाई उपलब्ध गराइएको संस्थानका नायब महाप्रबन्धक विजयध्वज थापाले बताए । संघका अनुसार आइतबार २० ट्रक -एक ट्रकमा साढे २ सय अटाउँछन्) खसीबोका राजधानी भित्रिएका छन् । यस्तै १० हजार भेंडाच्यांग्र्रा गत दुई दिनमा ल्याइएको छ । 'यो दसैंमा हामीले ४५ हजारभन्दा बढी खसी भित्राउने लक्ष्य राखेका छौं,' अध्यक्ष थापाले भने ।

संस्थानले हाल दिनको ३ सय ७५ भन्दा बढी खसीबोका बिक्री गरिरहेको जनाएको छ ।

निजी व्यापारीले दिनको ६ सयदेखि ७ सयसम्म बिक्री गरिरहेका छन् । सोमबारदेखि बिक्री ह्वात्तै बढ्ने अपेक्षा उनको छ । सरकारी तथ्यांकअनुसार वाषिर्क १५ अर्ब मूल्य बराबरको मासु नेपाल भित्रन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks