काठमाडौ, कार्तिक १० - राष्ट्रपति डा रामवरण यादव र ल्हासाका चिनियाँ अधिकारीबीच नेपाल-चीनका महत्वपूर्ण नाकाहरुसम्म यातायात सञ्जाल विस्तार गर्ने विषयमा छलफल भएको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार राष्ट्रपति यादव र चिनियाँ अधिकारीहरुबीच मंगलबार साँझ भएको भेटवार्तामा यातायात सञ्चालन गरी दुवै देशका जनतालाई लाभ दिन पहल गरिने प्रतिबद्धता व्यक्त भएको छ । तर ती नाकाहरु कुन कुन हुन् र प्रतिबद्धता व्यक्त गर्ने कुन तहका चिनियाँ अधिकारी हुन् समाचारमा उल्लेख छैन ।
सडकमार्गबाट दुवै देशलाई जोड्न सकिए नेपालसँगै मरुभूमिमय अवस्थामा रहेका अधिकांश तिब्बती भू-भागमा पनि गुल्जार हुने निश्चित रहेको राष्ट्रपति र चिनियाँ अधिकारीको ठहर छ ।
चीनको मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा मंगलबार दिउँसो ल्हासा पुगेका राष्ट्रपति डा यादव बुधबार पनि विभिन्न कार्यक्रमहरुमा सहभागी भए । नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाहरुमा सिन्धुपाल्चोकको कोदारी, ताप्लेजुङको ओलाङचुङ्गोला, गोरखाको लार्के भन्ज्याङ, हुम्लाको यारी, मुगुको नाम्जा भन्ज्याङ र दार्चुलाको टिङ्कर रहेका छन् ।
त्यसैगरी व्यापारिक सम्बन्धलाई उच्च महत्व दिँदै ल्हासामा महावाणिज्य दूतावास स्थापना गरिएको छ । जुन तिब्बतमा रहेको एकमात्र विदेशी महावाणिज्य दूतावास हो ।
नेपालको सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र बझाङ गरी १३ जिल्ला तिब्बतसँग मात्र जोडिएको र सुदूरपूर्वको ताप्लेजुङ तथा सुदूरपश्चिमको दार्चुला जिल्लाले छिमेकी चीन र भारत दुवै देशको सीमामा पर्दछ ।
पूर्वको ताप्लेजुङको चावुक भन्ज्याङदेखि पश्चिम दार्चुलाको छयाङ्ला भन्ज्याङसम्ममा गरी ४३ वटा भन्ज्याङ चीनसंगको सिमामा छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks