Loving nepal news

Friday, October 22, 2010

यस्तो छ, राष्ट्रपति यादवको चीन भ्रमणको कार्यतालिका

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ५ - राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमण सम्बन्धी कार्यक्रमको प्रारम्भिक कार्यतालिका तयार भएको छ । उनी चीनको औद्योगिक सहर साङ्र्घाईमा करिव छ महिनादेखि भइरहेको साङ्र्घाई एक्स्पो-२०१० को समापनमा सहभागी हुन कात्तिक ९ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।

राससका अनुसार राष्ट्रपति यादवले ल्हासा, सियान, साङ्र्घाईका साथै ग्वान्झाओको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक ९ र १० गते उच्चस्थानमा रहेको तिब्बतको ऐतिहासिक एवम् धार्मिक सहर ल्हासामा आयोजित विभिन्न उच्चस्तरीय शीर्ष भेटघाटसहित विभिन्न कार्यक्रममा सरिक भई जोखाङ मन्दिर, तिब्बती विश्वविद्यालय र विश्व सम्पदा सूचीमा सूचीकृत पोटाला दरबारको राष्ट्रपति डा. यादवले अवलोकन गर्नेछन् ।

यसैगरी कात्तिक ११ र १२ गते प्राचीन व्यापारिक केन्द्र एवम् रेशम मार्ग (सिल्क रोड) नगरीका रुपमा परिचित सियान सहरमा आयोजित उच्चस्तरीय भेटघाट र विभिन्न कार्यक्रममा सरिक भई फामेन मन्दिर, दयान टावर, याङलिङ आधुनिक कृषि क्षेत्रका साथ टेराकोटा योद्धा सङ्ग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १३ गते औद्योगिक नगरी साङ्र्घाईस्थित मेडिकल विश्वविद्यालयमा आयोजित विश्वविद्यालय पदाधिकारी तथा नेपाली विद्यार्थीसँगको बैठकमा सहभागी भई स्थानीय च्याम्बर प्रतिनिधिसहित साङ्र्घाई सहरका सरकारी शीर्ष पदाधिकारीसँगको भेटघाटमा सरिक हुने कार्यतालिका रहेको छ ।

त्यसैगरी राष्ट्रपति डा यादवले कात्तिक १४ गते एक्स्पो समापन समारोहमा सरिक भई नेपाली प्याभिलियनसहित चिनियाँ र सार्क मुलुकका प्याभिलियनको अवलोकन गर्नेछन् ।

सोही दिन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग मैत्रीपूर्ण भेटवार्ताका साथ एक्स्पो समापनका सन्दर्भमा आयोजित रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको छ । कात्तिक १५ गते चीनको नवविकसित व्यावसायिक केन्द्रका रुपमा परिचित ग्वान्झाओ सहरहुँदै राष्ट्रपति डा. यादव स्वदेश फर्कने कार्यक्रम छ ।

एक्स्पो समापनका अवसरमा आयोजित सो मैत्रीपूर्ण सद्भावना भ्रमणदलमा उनकी सुपुत्री अनिता यादव, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रसचिव डा. मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेसहित उच्च सरकारी अधिकृत र पत्रकार सहभागी हुने छन् ।

रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks