कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन २५ - नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले सरकारलाई बुझाएको तथ्यांकअनुसार १९ हजार ५ सय ४१ लडाकु शिविरमै छन् ।
अनमिनले आइतबार शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई बुझाएको माओवादी लडाकुको अद्यावधिक तथ्यांकअनुसार निधन भएका र शिविर छाड्ने लडाकु संख्या ६१ मात्र छ । अनमिनको प्रमाणीकरणमा १९ हजार ६ सय २ लडाकु थिए ।
'हामीलाई सबै १९ हजार ६ सय २ माओवादी लडाकुको विवरण प्राप्त भएको छ । त्यसमा १९ हजार ५ सय ४१ शिविरमै रहेको उल्लेख छ,' शान्ति मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद नेपालले भने, 'निधन भएका, छाडेका भनी रिमार्क गरिएकाको संख्या ६१ छ ।' सरकारले केहीअघि गरेको एक सर्वेक्षण प्रतिवेदनमा झन्डै २ हजार ६ सय लडाकुले शिविर छाडेको उल्लेख थियो । केही मन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्तले ६० प्रतिशत लडाकुले शिविर छाडिसकेको दाबी गरेका थिए ।
माओवादी सेनाका लडाकुको सुपरिवेक्षण, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको आग्रहमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई तथ्यांक बुझाएको अनमिनले जनाएको छ । 'पक्षहरूसँग भएको आवश्यक सहमतिपछि अनमिनले तथ्यांक उपलब्ध गराएको हो, मेरो विचारमा यो सहमति शान्ति प्रक्रियाको अर्को सकारात्मक कदम हो,' राष्ट्रसंघीय महासचिवका प्रतिनिधि करिन लनग्रेनको भनाइ उद्धृत गर्दै अनमिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लनग्रेनले अनमिनको कार्यादेश सय दिनभन्दा कम रहेको अवस्थामा पक्षहरूले समायोजन र पुनःस्थापनालाई गति कायम गर्दै प्रक्रियालाई अघि बढाउने बाटो पहिल्याउन अत्यन्त महत्त्वपूर्ण रहेको समेत बताएकी छन् । 'मिसनले आफ्नो विशेषज्ञता र सहायता उपलब्ध गराउँदै शान्ति प्रक्रियालाई सकेको सबै सहयोग गर्ने कार्यलाई निरन्तरता दिनेछ,' अनमिन प्रमुख लनग्रेनको भनाइ उद्धृत गरिएको विज्ञप्तिमा छ ।
शान्ति मन्त्रालयका प्रवक्ता नेपालले सरकारले माग गरेबमोजिम माओवादी सेनाका लडाकुको नाम, थर, उमेर, स्थायी ठेगाना, पद, बार कोड, परिचयपत्र नम्बर र तस्बिरसहितको विवरण प्राप्त भएको जानकारी दिए । यसअघि लडाकुको विवरण बुझाउन नमानेपछि सरकार र अनमिनबीच द्वन्द्व चलेको थियो ।
सरकारले शिविरमा नरहेका लडाकुको भत्ता माओवादीले दुरुपयोग गरेको भन्दै विवरण मागेको हो । तर अनमिनले लडाकु विवरण 'गोप्य राखिनुपर्ने' भन्दै दिन मानेको थिएन । पछिल्लो पटक माओवादीसमेत सम्मिलित विशेष समितिको निर्देशनमा मन्त्रालयले विवरण मागेकाले उपलब्ध गराएको हो । समितिको निर्देशनबमोजिम मन्त्रालयले पत्र लेखेर अनमिनसँग लडाकु विवरण माग गरेको थियो ।
अनमिनले जारी गरेको विज्ञप्तिमा लडाकुसँग सम्बन्धित विवरण गोप्य भएको दोहोर्याएको छ । 'हतियार तथा सेनाको व्यवस्थापन अनुगमन गर्ने कार्यको एक हिस्साको रूपमा अनमिनले तथ्यांक संकलन गरेको थियो । सेनाका सदस्यहरूको यस्ता तथ्यांकलाई हतियार अनुगमन सम्झौताको सर्तअनुसार उचित गोपनीयताका साथ प्रयोग गर्न मिसन प्रतिबद्ध छ,' अनमिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks