Loving nepal news

Wednesday, October 6, 2010

कांग्रेसलाई एक्लो दौड छाड्न खनालको आग्रह


रासस


काठमाडौं, आश्विन २० - एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनको एक्लो दौडबाट फिर्ता भएर राष्ट्रिय सहमतिमा आउन नेपाली कांग्रेसलाई पुनः आग्रह गरेका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष खनालले हारको खेल बन्द गर्न कांग्रेसलाई आग्रह गरे । उनले जनआन्दोलनका मुख्य शक्तिहरू शान्ति र लोकतन्त्रका लागि राष्ट्रिय सहमतिमा आउनुको विकल्प नभएकाले दलहरू बीच सहमति नहुन्जेल लगातार बैठक बस्न पनि एमाले तयार रहेको बताए ।

राष्ट्रिय सहमति नभए देश भयानक सङ्कटमा पर्ने भएको बताउँदै अध्यक्ष खनालले एमाले यस अडानमा एकबद्ध भएर उभिने बताए । सहमतिका लागि लचिलो हुँदै उम्मेदवारी फिर्ता लिएकोमा माओवादीको प्रशंसा गर्दै उनले देशलाई उग्रवामपन्थी र यथास्थितिवादी धारबाट बचाएर अग्रगमनमा लैजानुपर्ने बताए ।

एमाले महासचिव ईश्वर पोखरेलले मापदण्ड पुगेका माओवादीका लडाकुलाई सुरक्षा निकायमा समायोजन र अन्यलाई पुनःस्थापना गरेर शान्तिप्रक्रियालाई पूर्णता दिन र सहमतिको दस्तावेजका रुपमा नयाँ संविधान ल्याउन राष्ट्रिय सहमति अत्यावश्यक भएको धारणा राखे । उनले सेना समायोजन नभए मुलुकमा नयाँ चरणको हिंसा सुरु हुने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks