गंगा बीसी
काठमाडौ, आश्विन १६ - थुप्रै राजावादी भटाभट माओवादी बन्न थालेका छन् र गणतन्त्रवादी माओवादीले पनि हिजोका राजतन्त्रवादीलाई सहर्ष स्वीकार्न थालेका छन् । कारण के होला ? माओवादी अध्यक्ष पुष्पकमल दाहालले त यो प्रक्रियालाई 'विशिष्ट' को संज्ञासमेत दिएका छन् । सोमबार शाही सरकारका मन्त्री राधाकृष्ण मैनालीको पार्टी प्रवेश कार्यक्रम 'राष्ट्रिय स्वाधीनता र परिवर्तनका निम्ति विशिष्ट रहेको' उनको टिप्पणी थियो । के त्यसो भए राजावादी र माओवादीलाई 'राष्ट्रवाद' को नाराले जोड्न थालेको हो त ?
जवाफ 'हो' भन्ने आउँछ । 'राजाले राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्छन् भनेर त्यता लागेकाहरू गणतन्त्र आइसकेपछि माओवादीमा प्रवेश गरेका हुन्,' माओवादी सचिव सीपी गजुरेलले कान्तिपुरसँग भने, 'तर सबै राजावादीहरू देशभक्त छैनन्, सबै माओवादीमा अटाउन सक्दैनन् ।'
पूर्वराजावादीलाई पार्टी प्रवेश गराउने कार्ड हो, 'राष्ट्रिय स्वाधीनता' को मुद्दा । करिब डेढ वर्षअघि सत्ताबाट हटेपछि माओवादीले भारतलाई लक्षित गरी अगाडि सारेको यो नाराले राजावादी शिविरलाई आकषिर्त गरेको छ । तर जति राजावादी छिर्दैछन्, सबैले माओवादीको वामपन्थलाई स्वीकारेको पाइन्न, न त उनीहरू सबै परीक्षित राष्ट्रवादी हुन् । माओवादीले पनि 'सबै कम्युनिस्ट राष्ट्रवादी हुन् तर सबै राजावादी राष्ट्रवादी होइनन्' भन्ने मान्यताकै आधारमा पार्टी प्रवेश गराइरहेको देखिन्छ ।
माओवादीको 'हरियो संकेत' ले राजावादीमा पनि ऊर्जा थपेको छ । जस्तो कि हालै प्रवेश गरेका पूर्वएमाले नेता एवं शाहीमन्त्री
मैनाली अब सक्रिय राजनीतिमा आउने तयारीमा छन् । दोस्रो जनआन्दोलनपछि निष्क्रिय बसेका उनी माओवादीमा पसेलगत्तै उत्साही भएका हुन् ।
'पार्टी प्रवेश गरेपछि अब सक्रिय राजनीतिमा सक्रिय हुने कोसिस गर्दैछु,' उनले कान्तिपुरसँग भने, 'देशभक्तिपूर्ण आन्दोलनलाई माओवादीले नै अगाडि बढाउँछ भन्ने विश्वास छ ।' उनले तत्कालीन राजा ज्ञानेन्द्रलाई समर्थन गर्नु आफ्नो 'राजनीतिक भूल' भन्दै सार्वजनिक रूपमा आत्मालोचना गरेका छन् ।
यसअघि अर्का शाहीकालीन मन्त्री हरिशंकर परियार, पूर्वराजपरिषद् सदस्य उत्तम परियार, सेनाका पूर्वउपरथी कुमार फुदुङ, पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओली आदि पनि माओवादीमा प्रवेश गरेका थिए । तीमध्ये फुदुङ र सेन ओली माओवादीको संसद् सदस्य मनोनीत भइसकेका छन् ।
राजतन्त्र नरहेको अवस्थामा पूर्वराजावादीले बलियो शक्ति देखेको हुनाले माओवादीतिर लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको बुझाइ छ । 'गणतन्त्रको प्रमुख संवाहक माओवादी हो । त्यसैले स्वीकार्नु परेपछि खाँटी गणतन्त्रवादी माओवादीमा किन समाहित नहुने भन्ने साथीहरूमा परेको छ,' उनले भने ।
माओवादीले थापालगायत पूर्वप्रधानमन्त्री तुलसी गिरी, कीर्तिनिधि बिष्ट, पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह आदिसँग राष्ट्रियताका मुद्दामा छलफल गर्ने गरेको जानकार स्रोत उल्लेख गर्छ । माओवादी नेताहरूसँग निकट सम्पर्कमा रहेका अन्य पूर्वराजावादीमा रमेशनाथ पाण्डे, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्वमुख्य सचिव लोकमानसिंह कार्की, पूर्वसचिव हीराबहादुर थापा आदि छन् । माओवादी नेतृत्वको सरकारका पालामा कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रयास भएको थियो भने थापालाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त गरिएको थियो । माओवादीमा पूर्वराजावादीको निरन्तर प्रवेशले केही प्रश्न उब्जन थालेका छन्, के पूर्वराजावादीको आश्रयस्थल माओवादी हो ?
माओवादीले एकातिर शक्तिशाली अनुशासन आयोग बनाउने निर्णय गरेको छ भने अर्कोतिर खास मापदण्डबिनै विभिन्न व्यक्तिलाई पार्टीमा स्वागत गरिरहेको छ, जुन विरोधाभासपूर्ण देखिन्छ ।
नेपालको सबभन्दा 'क्रान्तिकारी' दाबी गर्ने माओवादी प्रवेशको खुकुलो नीतिले धेरैलाई अन्योलमा पारिदिएको छ । माओवादीले चाहिँ यसलाई स्वाभाविक रूपमा लिएको छ । 'माओवादीको सक्कली पहिचान बचाएर पार्टी प्रवेश गराइएको हो,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले भने, 'पार्टी सिद्धान्त र नेतृत्वलाई स्वीकार गरी प्रवेश गरेकालाई थप रूपान्तरण गर्नुपर्छ र हुनुपर्छ ।'
पार्टीमा सीधै प्रवेश गर्न नसक्ने राजावादीलाई चाहिँ माओवादीले संयुक्त मोर्चा बनाएर समेट्ने नीति लिएको छ । प्रस्तावित मोर्चामा 'देशभक्त, राष्ट्रवादी र वामपन्थी' लाई समेट्ने पछिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरिसकेको छ । 'राष्ट्रिय स्वाधीनताको पक्षमा उभिनेहरू संयुक्त मोर्चामा समेटिन्छन्,' सचिव गजुरेलले
भने, 'त्यसबेला पार्टी बाहिर रहनेहरूसँग पनि कार्यगत एकता गर्न सकिन्छ ।' राष्ट्रियता संकटमा परेका बेला संयुक्त मोर्चा बनाई आन्दोलन गर्ने परम्परा कम्युनिस्ट आन्दोलनमा छ ।
माओवादी छिरेका सबैले जिम्मेवारी भने पाएका छैनन् । सात महिनाअघि प्रवेश गरेका पूर्वकांग्रेस तथा शाहीमन्त्री हरिशंकर परियारको हालत यस्तै छ तर उनी बेखुस छैनन् । 'आवश्यक जिम्मेवारी दिन्छौं भन्नुभएको छ, दिनु होला नि,' उनले भने, 'माओवादीको एजेन्डा मन परेको छ, ठीकै छ ।' उनले दलितको हित माओवादीबाट देखेको हुनाले प्रवेश गरेको जनाए ।
राधाकृष्ण मैनालीलाई पनि माओवादीले केही जिम्मेवारी दिइसकेको छैन । प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले 'उचित जिम्मेवारी दिने' बताएका थिए । 'संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्ने गरी पार्टीले जिम्मवारी दिन्छ,' माओवादी नेता चन्दले भने, 'व्यक्तिको क्षमता र चेतनाको आधारमा जिम्मेवारी दिने कुरा हुन्छ ।'
विगतमा कम्युनिस्ट पार्टीमा सदस्यताका लागि फारम भरेको कम्तीमा छ महिनापछि मात्र त्यो पाउने परम्परा थियो तर अहिले त्यस्तो गाह्रो छैन । माओवादीमा प्रायः उच्च नेतासँगको वार्तापछि पार्टी प्रवेश सहजै सम्भव हुन्छ । 'पार्टी खुला भएपछि पार्टी प्रवेश केही खुकुलो हुनु स्वाभाविक हुन्छ,' सचिव गजुरेलको भनाइ छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks