सर्लाही, कार्तिक १४ - विगतमा केही घटनाले सामाजिक सदभावमा पारेको नकारात्मक प्रभाब क्रमशः समाप्त हुंदै गएको छ । यसबर्षको दशैंमा भएका विभिन्न गतिबिधिबाट समाज सदभावपूर्ण अवस्थामा फर्किन थालेको संकेत दिएको छ ।
मधेस आन्दोलन र उक्त आन्दोलनको प्रतिकारमा जन्मेको चुरे भावर पार्टीको आन्दोलनमा देखिएको कतिपय विकृतिका कारण सर्लाहीमा सामाजिक सदभाव खल्बलिएको थियो । विस्तारै उक्त घाउ पुरिन थालेको र समाज पूर्ववत अवस्थामा फर्किन थालेको हो ।
सदरमुकाम मलंगवा लगायत दक्षिणी भेगमा मधेशी आन्दोलनकारीको बाहुल्यता र पूर्व पश्चिम राजमार्गमा चुरेभावरको दवदवाका कारण एक अर्काको क्षेत्रमा राजनीति कार्यक्रम गर्न दुवै समूदायलाई अप्ठ्यारो थियो ।
विगतमा मलंगवामा नेपाली काँगेसका सुशिल कोइराला, शेरबहादुर देउवा, बिमलेन्द्र निधि जस्ता नेताको कार्यक्रम गर्न आयोजकले ठूलो कठिनाई भोग्नुपरेको थियो । पर्वते मुलका नेताको कतिपय कार्यक्रम मलंगवामा नगरेर राजमार्गमा केन्द्रीत भएको थियो । अर्कोतर्फ मधेशवादी पार्टीका नेता सर्लाहीमा कार्यक्रम गर्न राजमार्ग छलेर हुलाकी सडकको वैकल्पिक बाटो हुंदै सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।
दशैं अघि नेपाली काँग्रेसले पार्टीको जिल्ला अधिबेशन मलंगवामा कार्यकर्ताको भिड जुटाएर भब्यताका साथ सम्पन्न गर्यो । मधेसबादी पार्टी बाहेकले मलंगवामा ठूलो कार्यक्रम गरेको निकै पछि हो । त्यस्तै मधेसबादी दलका लागि निषेधित झैं बनेको चुरेभाबरको उद्गम थलो हरिऔनमा दशैंको अबसरमा तराई मधेस लोकतान्त्रिक पार्टीले शुभकामना आदान प्रदान गर्न आमसभा नै राख्यो । प्रचार प्रसारका लागि हरिऔनमा बिद्युतका हरेक पोलमा तमलोपाको झण्डा फहराइएको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुरले निर्वाध आमसभालाई सम्बोधन गर्नुका साथै पत्रकार सम्मेलन समेत हरिऔनमा गरे । पहाडे समूदायका कतिपय व्यक्तिहरु उक्त पार्टीको सदस्यता समेत लिए ।
'दुवै तर्फका केही अतिवादीका कारण समाजिक अवस्था खल्बलिएको थियो,' समाजिक कार्यकर्ता रजनीकान्त झाले भने, 'समाजको भलो चाहने अगुवा, राजनीतिकर्मी, पत्रकार सबैको योगदानले समाज पुनः पूर्व अवस्थामा फर्किदैछ । यो समग्र तराई मधेशको लागि सुखद कुरा हो ।'
मधेस आन्दोलनका कारण मलंगवाबाट बिस्थापित भएका एकिकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले अहिले भइरहेको सकारात्मक सुधारलाई स्थायी बनाउनु पर्ने बताउँछन् । जनता बीचको मेलसंगै सुरक्षापनि कडा भएपछि अतिबादीहरु कमजोर भएको उनको अनुभब छ ।
'यो धेरै सुखद संकेत हो,' हरिऔन निवासी पत्रकार चुडामणि वाग्ले भन्छन्-'समाज पूर्वबत अबस्थामा तर्फ उन्मुख छ ।'
'अराजकता र विकृतिले सर्वसाधारण मारमा परेका थिए' शिक्षक कौशलकिशोर राय भन्छने-'पछिल्लो एक वर्ष यता सामाजिक वातावरण धेरै सहज बनेको छ । यसलाई कायम राख्न सक्नुपर्छ ।'
प्रहरी उपरीक्षक पुर्णचन्द्र जोशी जिल्लामा सुरक्षा स्थितिसमेत सुधि्रएको बताउँदै सामाजिक वातावरण सकारात्मक बन्दै गएकामा खुसी देखिन्छन् । जिल्लाभरी प्रहरी युनिटहरु स्थापना हुनुले सुरक्षा व्यवस्थामा आएको सुधारसंगै सामाजिक वातावरणपनि सकारात्मक बन्दै गएको उनी बताउँछन् । खुल्ला राजनीतिका नाममा वा भूमिगत संगठन मार्फत समाजिक सदभाव खल्बल्याउन खोज्ने धेरै व्यक्तिहरु प्रहरीको नियन्त्रणमा आएको र कतिपय उपर निरन्तर निगरानी राखिएको उनले जनाए ।
माओवादी जनयुद्ध र त्यसपछिको राजनीतिक समाजिक उच्छृखंलताले खुम्चिएको प्रहरीको प्रभाव निरन्तर बलियो हुँदे गएको छ । बढ्दो सुरक्षा प्रभावले समाजमा तुलनात्मक रुपमा अपराधमा पनि कमी आएको छ ।
सामाजिक अवस्था सहज बनाउनमा प्रहरी प्रशासन, समाजका विभिन्न अगुवासंगै दलका नेतृत्वले पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । मधेशी बाहुल्य रहेको सिसौटिया गाविसमा दशैंको अवसरमा भएको एक कार्यक्रमा तमलोपा अध्यक्ष ठाकुरले मधेशको दुश्मन कुनै व्यक्ति वा सम्प्रदाय नभएर गरीबी, अशिक्षा र अन्धविश्वास भएको बताएर समाजलाई जोड्ने प्रयास गरे ।
०६३,०६४ र ०६५ सालमा भएका विभिन्न घटनाले खल्बलिएको सदभाव ०६६ सालदेखि निरन्तर सकारात्क दिशातर्फ अग्रसर छ । वरिष्ठ अधिवक्ता उमेशचन्द्र झा छोटो अबधिमै समाजिक सद्भावको अबस्था निकै राम्रो भएको बताउँछन् । उनले ठूला नेताहरुले क्षणिक रुपमा ताली खानलाई दिने चर्को भाषणले पनि समाजमा विग्रह आउने गरेको उनको ठम्याइ छ । नेताले दीर्घकालिन रुपमा समाजलाई सकारात्मक असर पार्ने खालको सार्वजनिक भाषण दिए कुनै समस्या नआउने उनको भनाई छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks