Loving nepal news

Monday, October 4, 2010

विमान कम्पनीले दसैंमा थप उडान गर्ने

शिला पाण्डे

काठमाडौ, आश्विन १९ - दसैंमा राजधानीबाट बाहिर जाने यात्रुको चाप बढेपछि आन्तरिक विमान कम्पनीले उडान संख्या थप गर्ने भएका छन् । नियमित उडानका सिट साताअघि सबै बुकिङ भएपछि ती कम्पनीले उडान थप गर्न लागेका हुन् । मुख्यगरी विराटनगर र भद्रपुरका लागि अत्यधिक माग आएपछि थप उडानको तयारी गरेको उनीहरूले बताए ।

बुद्ध एयरले घटस्थापनादेखि दैनिक नियमित उडानसँगै थप एक उडान गर्ने भएको छ । बुद्धले विराटनगर र भद्रपुरमा दैनिक एक/एक उडान थप गर्ने कम्पनीका बजार प्रबन्धक रूपेश जोशीले बताए । 'अन्यभन्दा यी दुईमा बढी चाप छ,' उनले भने । काठमाडौंबाट जानेको संख्या बढी भए पनि आउनेको चाप नभएकाले अन्य क्षेत्रमा उडान थप नगरिएको हो । 'दुवैतिरबाट उत्तिकै चाप भए उडान थप गरिन्छ,' जोशीले भने, 'एकतर्फी चापका कारण उडान थप गर्दा कम्पनीलाई घाटा पर्न जान्छ ।' बुद्धले विराटनगरमा ५ र भद्रपुरका लागि २ नियमित उडान गर्दै आएको छ ।

आन्तरिक उडान गर्ने विमान कम्पनीले दसैंतिहार र पर्यटकीय मौसममा कुल आम्दानीको ५० प्रतिशत कमाउँछन् । तुम्लिङटार विमानस्थलको रनवे सुधार कार्यले समेत विराटनगरमा बढी चाप भएको हो । नागरिक उड्डयन प्राधिकरणले रनवे सुधार कार्य नसकिएसम्मका लागि तुम्लिङटारमा उडान नगर्न निर्देशन दिएको छ । जसका कारण धरान, धनकुटा, दमक, बिर्तामोड, पाँचथर, इलाम, राजविराजलगायत पूर्वी गन्तव्यका लागि हवाई यात्रा गर्ने सबै यात्रु विराटनगर भएर जाने गरेका छन् ।

विराटनगरका लागि टिकट नभएपछि यात्रुले भद्रपुर भएर आफ्नो गन्तव्यमा पुग्ने गरेको गुण एयरका बजार निर्देशक प्रज्वल थापाले बताए । उनका अनुसार गुणले असोज २८, २९ र ३० गते विराटनगर र भैरहवाका लागि थप एक उडान सञ्चालन गर्नेछ । 'विराटनगरका लागि अहिले टिकट दिन सक्ने अवस्था छैन,' उनले भने । गुणले पोखरा ५, विराटनगर, सिमरा र भैरहवा २/२ र पर्वतीय ६ देखि ९ उडान गरिरहेको छ ।

यती एयरलाइन्सले भने २७ गते विराटनगरका लागि १० उडान सञ्चालन गर्ने जनाएको छ । हाल एयरलाइन्सको नियमित उडान संख्या ७ छ । त्यस्तै असोज २२ गतेका लागि एउटा उडान थप गरिएको सहायक रिजर्भेसन इन्चार्ज विनोद केसीले बताए । 'अरू दिन कति थप हुन्छ भन्ने अनिश्चित छ,' उनले भने, 'चापअनुसार आवश्यक भए थप गर्न सकिन्छ ।'

विराटनगरपछि भद्रपुर र नेपालगन्जका लागि चाप बढी रहेको उनले जानकारी दिए । उनका अनुसार घटस्थापनापछिका दिनमा यी दुई क्षेत्रको चाप अत्यधिक भए नियमितमा एक उडान थप हुन सक्छ । यतीले विराटनगर ७, पोखरा ८, भद्रपुर ३, भैरहवा र नेपालगन्ज २/२ नियमित उडान गरिरहेको छ । त्यस्तै धनगढी र भरतपुरमा १/१ नियमित उडान सञ्चालित छन् । नेपाल वायु सेवा निगमले पनि आपmना उडान हुने सम्पूर्ण गन्तव्यका लागि थप ७१ वटा अतिरिक्त उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएको छ । दुर्गम क्षेत्रमा सेवा सञ्चालन गर्ने तारा एयरले घटस्थापनादेखि सिट बुकिङका आधारमा उडान थप गर्नेछ । 'विशेषगरी लामीडाँडा, फाप्लु र रुम्जाटारका लागि उडान थप हुन सक्छन्,' कम्पनीका एक अधिकारीले भने । ताराले लामीडाँडामा साताको ४, फाप्लु साताको ३ देखि ४ र रुम्जाटारका लागि साताको एक उडान गरिरहेको छ । त्यस्तै पश्चिमी क्षेत्रमा नेपालगन्जदेखि जुम्ला, सिमीकोट, डोल्पा र रारामा साताको एक उडान गरिरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks