काठमाडौ, कार्तिक १४ - भर्खरै चीन भ्रमण गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब भारत भ्रमणमा जाने बताएका छन् । चीनबाट फर्केपछि उनले आपसी 'अस्पष्टता' हटाउन आफ्नो भारत भ्रमण आवश्यक भएको र त्यसनिम्ति वातावरण बन्दै गएको खुलासा गरेका हुन् ।
नेपाल, भारत र चीनबीच रणनीतिक समझदारी हुनुपर्ने प्रस्ताव चीनसमक्ष राखेको उल्लेख गर्दै दाहालले भारतसँग पनि यस विषयमा कुरा भइरहेको जानकारी दिए । उनले यो प्रस्तावले तीनवटै छिमकी मुलुकका सुरक्षा चासोहरू एकैसाथ सम्बोधन हुने दाबीसमेत गरे ।
'अब एकचोटि दिल्ली जाने र फेरि भेटघाट गर्ने वातावरण बन्दैछ,' उनले शनिबार ईकान्तिपुरसँगको अन्तर्वार्तामा भने, 'हाम्राबीच कतिपय कन्फ्युजन छन् । ती स्पष्ट गर्न जरुरी छ भन्ने हाम्रो पार्टीलाई लागेको छ । हामीले भारतस“ग समस्या छन् भन्नुको अर्थ समाधान गर्ने सकारात्मक सोचसहित जान चाहेको हो ।' दाहालले मंसिर पहिलो साता हुने पार्टीको विस्तारित बैठकपछि भारत जाने सम्भावना रहेको जनाए ।
चीन भ्रमणका बेला त्यहाँका नेताहरूले भारतसँग राम्रो सम्बन्ध कायम राख्न सुझाव दिएको खुलासासमेत उनले गरे । 'यसपटक चीनका नेताहरूले माओवादी ठूलो पार्टी हुनुको नाताले भारतसँग राम्रो सम्बन्ध होस् भन्ने सुझाव दिएका छन्,' उनले आफ्नो पार्टी चीनतर्फ ढल्केको भन्ने चर्चा सत्य नभएको जनाए, 'कतिपय मानिसले हामी चीनसँग ढल्कन खोजेको, भारतको विरोध गर्न खोजेको भन्ने गरेका छन्, जुन सत्य होइन ।'
तीन देशबीच हुने समझदारीले साझा हित पुर्याउने उनको भनाइ छ, 'मैले ल्याएको प्रस्तावले तीनवटै देशका सुरक्षा चासोलाई एकैचोटि सम्बोधन गर्न सक्छ,' उनले भने, 'त्यसपछि शान्तिपूर्ण ढंगले विकास निर्माण गर्न सकियोस् र एकअर्कालाई सहयोग गर्न सकियोस् भनेर ध्यान दिइएको छ ।' त्यसो हुनसके चीन र भारतले आ-आफ्नो सुरक्षा चिन्ताका कारण नेपालमा बढाएको गतिविधिको अन्त्य हुन सक्ने उनले बताए ।
दाहालले राजनीतिक गतिरोधका लागि १२ बुँदेजस्तै नयाँ समझदारी आवश्यक रहेको औंल्याए । 'नयाँ सन्दर्भलाई सम्बोधन गर्न राजनीतिक शक्तिहरूबीच नयाँ समझदारीको खाँचो छ,' उनले भने, 'पुरानैमा अडकिनु मुलुकलाई समस्याको भुमरीमा राख्नु हो ।'
उनले शान्ति प्रक्रिया टुंगोमा नपुग्दै अनमिन फिर्ता गए पनि शान्ति प्रक्रिया जारी रहने बताए । 'अनमिन रहँदारहँदै राजनीतिक दलहरूबीच सहमति हुनुपर्छ र गत्यावरोध अन्त्य हुनुपर्छ,' उनले थपे, 'यो भएन भने पनि हामी शान्ति प्रक्रिया तोडेर युद्धमा जाँदैनौं ।'
उनले नयाँ सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए पनि विकल्प अघि सारे । 'कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन मिल्दै मिल्दैन,' उनले भने, 'यदि नयाँ सरकार गठन हुन सक्दैन भने संविधान संशोधन गरी साधारण खर्च गर्न सक्ने प्रावधान ल्याउन सकिन्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks