कुलचन्द्र न्यौपाने
काठमाडौ, कार्तिक ३ - राष्ट्रपति रामवरण यादवले राजनीतिक गतिरोधको निकास तत्काल नदिए मुलुकको अवस्था दलहरूको नियन्त्रणबाहिर पुग्न सक्ने जोखिम औंल्याएका छन् । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका मुख्य नेतासित भएको मंगलबारको भेटमा उनले त्यसका लागि चिन्तित हुन अपिल गरेका छन् ।
राष्ट्रपति यादवले प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई मंगलबार शीतल निवासमै बेलाएर सचेत गराउँदै गतिरोधको निकास चाँडो खोज्न आग्रह गरेका हुन् ।
गतिरोध कायम रहँदा सरकार निर्माण हुन नसकेको, सरकार निर्माण हुन नसक्दा बजेट पारित हुने वातावरण नबनेको, शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै राष्ट्रपतिले गतिरोधले लामो समय लिए 'परिस्थिति' दलका नेताहरूको नियन्त्रणबाहिर जाने बताएको स्रोतले जनायो । 'अझै समय छ । परिस्थिति तपाईंहरूको नियन्त्रणमा छ, यो कायम रहँदै तत्काल मुलुकलाई निकास दिन सक्नुपर्छ,' यादवको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'राष्ट्रिय सहमतिका लागि सबै दल, खासगरी प्रमुख तीन दल गम्भीर हुनुपर्यो ।'
दलहरूबीच अविश्वास झाँगिँदा गलत तत्त्वहरूले फाइदा उठाउने गरेको राष्ट्रपति यादवले बताएका थिए । 'गतिरोधका कारण जनतामा वितृष्णा जाग्दै गएको छ, जसबाट राजावादीहरू हौसिएका छन्, जनतामा जागेको वितृष्णाको नकारात्मक फाइदा उनीहरूले लिँदैछन्,' राष्ट्रपति यादवले भने, 'लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न शान्ति प्रक्रिया पूरा र लोकतान्त्रिक संविधान निर्माण हुनुपर्यो, त्यसका लागि दलका शीर्ष नेताहरूले समय छँदै गम्भीर भएर सहमति जुटाउनुपर्यो ।'
कांग्रेस सभापति कोइरालाले राष्ट्रपति वर्तमान परिस्थितिबाट धेरै चिन्तित भएको बताए । 'समस्या समाधान गर्न धेरै समय छैन, अनमिनले पनि नोटिस दिएको अवस्था छ, समयभित्रै शान्ति प्रक्रिया पूरा गर्ने र संविधान निर्माण गर्ने तपाईंहरूको जिम्मेवारी हो । सरकार बन्न सकेको छैन, जसले अराजकता बढेको छ । शान्ति छैन । मुलुक फेरि द्वन्द्वमा गयो भने अनिष्ट हुन्छ । अहिलेको गतिरोध एकता र मेलमिलापबाट टुंग्याउनुपर्यो, शान्ति प्रक्रिया र संविधानलाई गति दिनुपर्यो,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै कोइरालाले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले विदेशी हस्तक्षेप रोकेर राष्ट्रिय सहमति जुटाउन आफ्नो पार्टी तयार रहेको धारणा राखेका थिए । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष दाहालले दलहरूबीच सहमति कायम हुन नसकेमा प्रतिक्रान्तिको जोखिम रहने औंल्याउँदै राष्ट्रिय सहमति जुटाउन कांग्रेस, एमाले र मधेसवादी दलहरूसँग गम्भीर वार्ता गर्न लागेको बताए । भेटमा शान्ति प्रक्रिया, संविधान, सरकार निर्माण र बजेट ल्याउने विषयमा छलफल केन्दि्रत थियो । प्रधानमन्त्री नेपालले सरकार बन्न नसक्दा बजेट आउन नसकेको र जसका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको धारणा राख्दै आफू लामो
समय 'कामचलाउ' बस्न नचाहेको बताएका थिए ।
माओवादी उपाध्यक्ष श्रेष्ठका अनुसार नयाँ सरकार बनेपछि मात्रै त्यसले बजेट ल्याउन सक्ने पार्टीको धारणा अध्यक्ष दाहालले भेटमा पनि राखेको कान्तिपुरसँग बताए । राष्ट्रपतिको भेटलगत्तै कांग्रेस सभापति कोइरालाले भने सहमतिको बल माओवादीको कोर्टमा रहेको बताए । शान्ति सम्झौतादेखि हालसम्मका सहमति कार्यान्वयन नभएकै कारण गतिरोध लम्बिएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र पुनःस्थापनाको मुद्दा कार्यान्वयन भए सहमति जुट्ने बताए । उनले त्यसैका लागि कांग्रेस प्रधानमन्त्रीको उम्मेदवारबाट पछि नहटेको पनि बताए ।
'सरकारमा पुग्न कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार कायम राखेको होइन । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया सुचारु होस् भनेरै हो,' कोइरालाले भने, 'यसमा सहमति नहुँदासम्म हामी प्रधानमन्त्रीको उम्मेदवार फिर्ता लिँदैनांै । सहमति गर्ने/नगर्ने माओवादीको हातमा छ । राष्ट्रपतिसँग पनि हामीले यही धारणा राख्यौं ।' माओवादी अध्यक्ष दाहालले भेटमा पनि राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार फिर्ता लिनुपर्ने भनाइ दोहोर्याएका थिए ।
एमाले अध्यक्ष खनालले राष्ट्रपति यादवले दलहरूबीच सहमति निकालेर शान्ति र संविधानका मुद्दामा निकास निकाल्न आग्रह गरेको बताए । 'दलहरूबीच ठूलो मतभेद भए पनि साढे सात महिनाभित्र नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया टुंग्याउन साझा सहमतिसाथ अघि बढ्नुपर्ने सहमति भेटमा भएको छ,' उनले भने । राष्ट्रपतिले यसअघि पनि निकासको प्रयास थाल्न आग्रह गर्दै प्रमुख दलका शीर्ष नेतासहित संविधानसभाका सबै दलका नेतासँग परामर्श गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks