Loving nepal news

Monday, October 25, 2010

कारबाही नभएकामा सूद असन्तुष्ट


लोकमणि राई

काठमाडौ, कार्तिक ९ - भारतीय राजदूत राकेश सूदले आफूलाई जुत्ता प्रहार गर्नेमाथि कारबाही नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सोमबार गृह मन्त्रालय गएर सचिव गोविन्द कुसुमसमक्ष असन्तुष्टि जाहेर गरेपछि मन्त्रालयले विदेशी कूटनीतिज्ञलाई सुरक्षा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जुत्ता प्रकरणमा सोमबार दोस्रोपटक विज्ञप्ति जारी गरेको हो । सूदमाथि सोलुमा भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले भनेको छ, 'विषयको गाम्भीर्य र मित्रराष्ट्रको चासो र चिन्तालाई समेत दृष्टिगत गरी मित्रराष्ट्रका कूटनीतिज्ञहरूको सुरक्षाका सम्बन्धमा विशेष ध्यान पुर्‍याउन सम्बद्ध निकायहरूलाई निर्देशन गरिएको छ ।'

चिनियाँ सीमावर्ती क्षेत्रमा भारतीय सहयोगका परियोजना सुरु गर्न गएका सूदमाथि असोज २० गते सल्लेरीमा माओवादी नेता गोपाल किराँती नेतृत्वको टोलीले जुत्ता प्रहार गरेको थियो । त्यसको तेस्रो दिन गृहले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पहिलो विज्ञप्ति जारी गरेको थियो ।

सरकारले घटनाको छानबिन गर्न सोलुखुम्बुका जिल्ला प्रशासन अधिकारीको नेतृत्वमा समिति पनि बनायो । तर हालसम्म घटनाका दोषी पक्राउ परेका छैनन् । गृहले उक्त घटनाका सम्बन्धमा भएको कामकारबाही छानबिन गरि प्रतिवेदन उपलब्ध गराउन सोलुखुम्बुका प्रजिअलाई निर्देशन दिएको छ ।

'भारतीय राजदूतउपर भएको उक्त घटनाको सम्बन्धमा यथार्थ छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न र घटनामा संलग्न व्यक्तिहरूको सूक्ष्म अध्ययन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ,' गृहको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना राजदूतमाथि भएको जुत्ता प्रहारबाट असन्तुष्ट भारतीय विदेश मन्त्रालयले भारतस्थित नेपाली राजदूत रुक्मशमशेर राणालाई बोलाई सोधपुछ गरेको थियो भने भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाइ असन्तुष्टि जाहेर गरेको थियो ।

परराष्ट्रले दूतावासको उक्त पत्रबारे आइतबार गृहलाई जानकारी गराउँदै विदेशी कूटनीतिज्ञलाई थप सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेको थियो । सूदमाथि भएको दुव्र्यवहार अपि्रय घटना भएको उल्लेख गर्दै पत्रमा भनिएको छ, 'हाम्रो दायित्व भएकाले दूतावास र कूटनीतिक हैसियत भएका पदाधिकारीलाई सुरक्षा दिने थप प्रयास गर्नुपर्छ ।'

परराष्ट्र स्रोतका अनुसार सोलु घटना भएको तेस्रो दिन गृहले 'हल्काफुल्का विज्ञप्ति निकालेर घटनालाई न्यूनीकरण गर्न खोजेको' भन्दै भारत असन्तुष्ट बनेको हो । 'लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण तरिकाबाट विरोध प्रदर्शन गर्न पाउनु लोकतान्त्रिक मूल्य र मान्यताभित्रकै कुरा हो । तर अमर्यादित र अशिष्ट व्यवहारको विरोध गर्दै मन्त्रालय दुःख व्यक्त गर्दछ,' गृहको पहिलो विज्ञप्तिमा उल्लेख छ ।

स्रोतका अनुसार राजदूत राणासँग सोधपुछ गर्ने क्रममा भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले सोलु घटनाबारे नेपालका प्रधानमन्त्री स्तरबाटै माफी मागिनुपर्ने बताएका थिए । 'हामीले सोलु घटनाका दोषी कारबाहीको दायरामा आउनुपर्छ भन्ने चासो राख्दै आएका छौं,' भारतीय दूतावास स्रोतले कान्तिपुरलाई भन्यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks