ललितपुर, आश्विन २७ - सात वर्षअघि त्यहाँ दुई तले पक्की घर थियो । त्यो आकर्षक घरमा एउटा परिवार बस्थ्यो । त्यो यतिखेर झाडीमा परिणत भएको छ ।
ललितपुरको लगनखेलबट १० किमि दक्षिणपूर्वको बडीखेल-६, कोटकु गाउँको यो घरमा सात वर्षअघि भानु -हीरालाल) नगरकोटीको सपरिवार हत्या भएको थियो । यतिका वर्ष बितिसक्दा पनि प्रहरी र गाउँलेले हत्यारा फेला पार्नु त परै जाओस्, उनीहरूको हुलियाको समेत पहिचान गर्न सकेको छैन ।
'यो दुर्गम गाउँमा अझै पनि बेलाबखत आएर प्रहरीले खोजतलास गरिरहेको छ' नगरकोटीको छिमेकी ६० वषर्ीय कृष्णबहादुर केसीले मंगलबार बिहान कान्तिपुरसँग भने । कच्ची बाटो र अप्ठेरो मोड भएको यो स्थलसम्म पुग्न नयाँ मान्छेलाई त्यति सजिलो छैन । जंगलै जंगलबीच आदिवासी पहरी जातिको यो टोलमा बाक्लो बसोवास छ ।
दसैंको अष्टमीको राति सुतिरहेको बेला २०६० असोज १६ मा भानु, उनकी श्रीमती धनकुमारी, चौध वषर्ीय छोरा रवीन्द्र, नौ वषर्ीया छोरी भगवती र आठ वषर्ीया छोरी सरस्वतीको हत्या भएको थियो । थापाथलीस्थित नेपाल राष्ट्र
बैंकमा चौबीस वर्षसम्म वरिष्ठ पियन पदमा कार्यरत भानु र उनको परिवारको खुकुरी प्रहार गरी हत्या भएको थियो । स्थानीय पहरी
-नगरकोटीहरू) घर-घरमा महाअष्टमीको राति मनाउने कुछिवे-छैलुवु -दसैं भोज) मा मग्न रहेका बेला घटना भएको थियो ।
भानु पनि आफ्नो नाबालक छोरा रवीन्द्रसहित नजिकै भाइ थिरसँग बस्ने आमा चीनमायाको घरबाट भोज खाएर फर्केर सुतेका थिए । भानुको घर-आगनसँगै जोडिएका केसी परिवारलाई हरबेला झल्झली उनीहरूको सम्झना आइराख्छ । 'गाउँका हरेक व्यक्तिलाई प्रहरीले एक महिनाभन्दा बढी समयसम्म सोधपुछ गर्यो' कृष्णबहादुर भन्छन्- 'नगरकोटी परिवारको हत्या हुँदा गाउँबाट कोही बाहिर गएको थिएन, आखिर हत्या कसले गर्यो ?'
हत्या भएपछि सुरुका केही वर्षमा मनमा डरत्रास रहे पनि अब त सबै सामान्य भइसकेको उनले बताए । केसीकी वृद्ध आमा दुवकुमारी, श्रीमती राधिका र छोरा सरोजको मनमा अझै पनि हत्यारा पता लागेर सजाय भइदिएमा भानु परिवारको आत्माले शान्ति पाउने आश कायमै छ । 'त्यो घटना हुँदा भर्खर एसएलसी उत्तीण गरेको थिएँ,' पाटन क्याम्पसमा स्नातक तह अन्तिम वर्ष अध्ययनरत सरोजले भने, 'त्यतिबेला हत्यामा संलग्नलाई पक्राउ र कारबाही गर्ने आवाज जोडतोडले उठेको थियो, अहिले त सबैले बिर्से ।' हत्यारा पता लाग्ने आश मरेको हुनाले टोलवासी सेलाएको हुनसक्ने उनले बताए ।
'दुई वर्षअघि भागबन्डामा घर र जग्गा परेका छोरीहरूले बेचे, किनबेचको क्रममा घर भत्काएपछि त वरिपरि छाडी उमि्रसक्यो,' आफ्नो घरको आगनबाट कृष्णबहादुरले उक्त स्थल देखाउँदै भने ।
भानु परिवारको हत्यापछि घर सम्पत्ति दुई छोरीको नाममा नामसारी भएको थियो । भानुको ६ रोपनी ३ आना जग्गा र छ
लाख रुपैयाँ नगद ललितपुर हरिसिद्धिकी गाविसकी जेठी सरिता र बडीखेल-७ बस्ने माहिली सुनिताले बाँडेका थिए ।
जेठी दिदीको भागमा परेको घर छेउमै सुनिताले घर बनाएकी छिन् भने जेठीले आफ्नो भागमा परेको १ रोपनी १३ आना जग्गा दुई वर्षअघि ३२ लाखमा बेचिसकेकी छिन् । जेठी सरिताका श्रीमान् वद्री नगरकोटी जनपद प्रहरीमा र माहिली सुनिताको श्रीमान् दुर्गामान सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।
'बुबा, आमा र भाइबहिनीको हत्यारा पता लगाउन उसबेलादेखि अहिलेसम्म दिन-रात एक गर्दै कति हिंडंे कति, म त बहुलाइसकेको छु' नजिकै काका राजनको आँगनमा बसिरहेकी माहिली सुनिताले भनिन् । उनले हत्यारा पता लगाउन बल गरे पनि सबुत र स्ााक्षी नभएपछि केही गर्न नसकिएको बताइन् । 'प्रहरीले हत्यारा पत्ता लगाइदिनसक्छ भने हामी दुई-चार होइन, दस लाख रुपैयाँ खर्च गर्न तयार छौं,' उनले भनिन् ।
केन्द्रीय प्रहरी प्रवक्ता विज्ञानराज शर्माले प्रहरीले अहिलेसम्म अनुसन्धान जारी राखे पनि यस सामूहिक नरसंहारको मुद्दामा ठोस प्रगति हुन नसकेको बताए । 'प्रहरीले यस सम्बन्धमा गर्नुपर्ने काममा कसर बाँकी राखेको छैन,' उनले भने ।
परिवारका सबैलाई चिन्ने व्यक्तिले आवेशमा आएर हत्या गरेको हुनसक्ने प्रहरीले अड्कल काटे पनि रहस्य खुल्न सकेको छैन । आवेशमा आएर गरिएको हत्या, लुटपाटको नियत, व्यावसायिक प्रतिस्पर्धा एवं लेनदेन, पारिवारिक वैमनस्य तथा व्यक्तिगत इस्र्या जस्ता कोणबाट अनुसन्धान भए पनि परिणाम शून्य
छ । भानुको परिवार धेरै वर्षअघिदेखि खेतीपातीका अतिरिक्त कुखुरापालन र बाँसका सामग्री बनाउने व्यवसाय गथ्र्यो । उनको नाउँमा घरघडेरीसहित सात रोपनी जग्गा थियो
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks