Loving nepal news

Sunday, October 24, 2010

हजयात्री हैरान

अब्दुल्लाह मियाँ

कार्तिक ८ - हज -तीर्थाटन) गर्न साउदीको मक्का/मदिना जान शनिबार राजधानी आएका गोरखाका क्यामदिन मियाँ सुरुकै दिन अलमलमा परे । शनिबार राति ८ बजे राजधानी आएका मियाँलाई कहाँ खाने, कहाँ बस्ने अत्तोपत्तो भएन । उनलाई उनका छोरा जुम्मदिन मियाँले घण्टाघरस्थित मस्जिदमा लगे र त्यहीं राखे ।

हजका लागि मक्का जान मियाँजस्तै राजधानी भित्रिएका सात सय यात्रीको व्यवस्थापन गर्न सरकारले तोकेको केन्द्रीय हज समितिले ध्यान नदिँदा उनीहरू दुई दिनदेखि अलपत्र परेका छन् । केन्द्रीय हज समितिले हजयात्रीको खानपिनका साथै बस्ने ठाउँ, उनीहरूको स्वास्थ्य परीक्षणका

साथै उचित व्यवस्था नगरेकामा यात्री र उनका आफन्तहरू आक्रोशित छन् ।

हजका लागि साउदी जान जिल्लाबाट आएका मुस्लिमहरू शुक्रबार साँझदेखि घण्टाघरस्थित नेपाली जामे मस्जिद र दरबारमार्गस्थित कश्मीरी तकिया मस्जिदको भुइँमा बस्न बाध्य छन् । उनीहरूलाई दुई मस्जिदका भुइँमा राखिएको छ ।

हजयात्रीका लागि दुई मस्जिदले बस्ने व्यवस्था गरे पनि हज समितिका पदाधिकारीलेे व्यवस्थापनमा ध्यान नदिएपछि आइतबार यात्रीका आफन्तहरू र समितिका पदाधिकारीबीच सामान्य विवादसमेत भयो ।

'तीन महिनाअघि नै पैसा जम्मा गरे पनि हजयात्रीलाई खाने, बस्ने राम्रो सुविधा छैन,' हजमा जान लागेका बा-आमालाई सुनसरीबाट राजधानी लिएर आएका मोहम्मद अयुबले कान्तिपुरसित भने, 'हजयात्रीमाथि समितिले लापरबाही गर्‍यो ।'

हज यात्रीहरूले हजका लागि एक लाख ७० हजार रुपैयाँका दरले शुल्क बुझाए पनि आफूहरूलाई समितिले बेवास्ता गरेको दुखेसो गरेका छन् । यो वर्ष समितिले गत वर्ष भन्दा २५ हजार रुपैयाँ बढी शुल्क लिएको छ । बढी शुल्क लिएपनि सेवा सुविधा भने थपिएको छैन ।

हज समितिमा २१ जना सदस्य रहेपनि राजधानीमा मुस्किलले तीन जना मात्रै छन् । हज यात्रीको रेखदेखका साथै उनीहरूको व्यवस्थापन र आवश्यक सहयोगका लागि सरकारले गृह मन्त्रालयअन्तर्गत केन्द्रीय हज समिति बनाउने गरेको छ ।

समिति अध्यक्ष अब्दुल जब्बार मन्जरी झन्डै तीन सातादेखि साउदीमै गएर बसेका छन् । हज यात्री बस्ने घर खोज्न भन्दै उनी साउदी गए पनि हज -तीर्थ) गर्ने स्थानहरू मक्का र खानाकाबाभन्दा ६ किलोमिटर टाढा डेरा खोजेकामा यात्रीहरूले विरोध जनाएका छन् ।

टाढा डेरा हुँदा यात्रुलाई मक्कामा आउजाउ गर्न समस्या हुने जानकारहरूको भनाइ छ । हज समितिले हज गर्ने बेलामा मात्रै आएर हतार-हतार काम गर्ने हुँदा हजयात्रीले पर्याप्त मात्रामा सुविधा नपाएको जानकारहरूको गुनासो छ ।

यो वर्ष नेपालबाट सात सय २१ मुस्लिम हजका लागि मक्का जाँदै छन् । हज समितिका अनुसार कात्तिक ८ देखि १९ गतेसम्ममा सबै हजयात्री साउदी पुगिसक्नेछन् ।

कात्तिक ८ मा एक सय २९, ९ मा एक सय ५२, १० मा एक सय, ११ मा एक सय १८, १३ मा ६६, १८ मा एक सय १२ र १९ मा ५२ जना मक्का जानेछन् । यो वर्ष सबैभन्दा बढी हजयात्री कपिलवस्तुका छन् ।

हजयात्री र उनका आफन्तहरूले यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट नउडाई कमसल स्तरको एयर अरेबियामार्फत पठाउन लागेकामा समेत आपत्ति जनाएको छ । हजयात्रीहरूलाई काठमाडौंबाट सिधै साउदी अरबको सेद्दा जानुपर्नेमा समितिले एयर अरेबिया -बजेट एअर) मार्फत यूएईको सारजहाँ हुँदै जेद्दा लाँदै छ । सारजहाँमा ६ घण्टा ट्रान्जिट भएकाले यात्रीले थुप्रै हैरानी बेहोर्नुपर्ने जानकार मिर्जा अर्शदले बताए । खाना र पानीसमेत यात्रुले नै किन्नुपर्नेछ । अघिल्लो वर्ष एयर अरेबियाबाट पठाउँदा हजयात्रीले पानीसम्म पिउन नपाएको भन्दै समितिको बैठकबाटै उक्त एअरलाइन्सबाट हजयात्रीलाई नपठाउने निर्णय भए पनि समितिले निर्णय उल्लंघन गर्दै पुनः पठाउन लागेमा मुस्लिमहरुले आपत्ति जनाएका छन् । प्रति यात्रु गत वर्ष नौ सय ५० डलरमा काठमाडौंबाट साउदी ओहोरदोहोर गराउने सम्झौता भएपनि यो वर्ष बढाएर एक हजार ७५ डलरमा सम्झौता गर्नुुमा कमिशनको चक्कर भएको आरोपसमेत लगाएका छन् ।

'कमिसनको लोभले हजयात्रीलाई महँगो दरमा बजेट एयरलाईन्सबाट पठाइन लागेको देखिन्छ' राष्ट्रिय मुस्लिम महासंघका प्रवक्ता अख्तर अली अन्सारीले कान्तिपुरसित भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks