Loving nepal news

Tuesday, October 12, 2010

मन्त्रीलाई कर्मचारीले भने-'फटाहा र गुन्डा'

अब्दुल्लाह मियाँ

काठमाडौ, आश्विन २७ - कार्यक्रम थियो- 'दसैंको शुभकामना आदानप्रदान ।' प्रमुख अतिथि थिए- वनमन्त्री दीपक बोहरा । कार्यक्रममा मन्त्रालय मातहतका विभागका सहसचिवसहित सबै कर्मचारी सहभागी थिए ।

कार्यक्रममा सहसचिवदेखि उपसचिव र अधिकृतहरूले दसैं र तिहारको शुभकामना आदानप्रदान गरे । वनसचिव युवराज भुसालले उपस्थितमध्येबाट बोल्न इच्छुकलाई समय दिए ।

सचिवको अनुमतिपछि जुरुक्क उठे मन्त्रालयका स्टोरप्रमुख विश्व काफ्ले अनि सुरु गरे शुभकामना मन्तव्य दिन । उनले त्यही मौकामा मन्त्रीकै अगाडि बोहराको कार्यकालमा मन्त्रालयमा भएका विभिन्न 'छाडातन्त्र' को खुलासासमेत गरे । उनले मन्त्री बोहरालाई सानो छँदा सुनेजस्तै 'गुन्डा र फटाहा' प्रवृत्ति अहिले पनि बाँकी रहेको पुष्टि भएको बताए ।

'मैले बोहरा गुन्डा र फटाहा हो भन्ने सुनेको थिएँ,' निजामती कर्मचारी संगठनको वन विभागीय कार्यसमितिका अध्यक्षसमेत रहेका काफ्लेले बोहराकै अगाडि भने, 'मेरो नजरमा मन्त्रालय सम्हालेपछि पनि गुन्डागर्दी र फटाइँ गर्ने बानी जस्ताको तस्तै पाएँ ।'

मन्त्री भएको सुन्नेबित्तिकै बोहराले राम्रा काम गर्लान् भन्ने कत्ति पनि आशा नगरेको भन्दै काफ्लेले भने, 'राम्रो गर्नेभन्दा वनको बदनाम गर्ने काम मात्र भयो ।' बोहराले रुचाएर ल्याएका सचिव युवराज भुसाललाई पनि उनले बाँकी राखेनन् । 'राम्रो प्रशासक भन्ने सुनेको थिएँ,' काफ्लेले भने, 'तर सबै काम ऐनविपरीत गर्दै अघि बढेपछि मेरो अनुमान फेल खायो ।'

ध्यानपूर्वक काफ्लेका कुरा सुनेपछि मन्त्री बोहरा शुभकामना दिन जुरुक्क उठे । मन्तव्यको सुरुमै उनले आफ्नोबारे खुलस्त टिप्पणी राखेकामा काफ्लेलाई धन्यवाद दिए, 'मनको कुरा खुलस्त राख्नुभयो त्यसका लागि तपाईंलाई धन्यवाद ।' बोहरा पहिलाभन्दा थोरै समय बोलेर कार्यक्रम हलबाट बाहिरिए । बोहरा बाहिरिएलगत्तै कार्यक्रम अघि बढेन, त्यत्तिमै शुभकामना आदानप्रदान सकियो ।

विभिन्न अनियमिततामा मुछिएका कर्मचारीलाई आर्थिक चलखेल गरी आकषिर्त जिल्लामा सरुवा गरेको कर्मचारीले बोहरालाई आरोप लगाउँदै आएका छन् । उनले निकटका र अनियमिततामा मुछिएका डीएफओहरूलाई राम्रा जिल्लामा सरुवा गरेपछि मन्त्रालय र मातहतका कर्मचारी बोहराविरुद्ध खनिएका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks