ऋषिराम पौड्याल
मेलम्ची (सिन्धुपाल्चोक), कार्तिक १४ - ठेक्का पाएको डेढ वर्ष बित्दा पनि मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुस्त गतिमा हुनु ठेकेदार पक्षको कमजोरी देखिएको छ । सधैं स्थानीय समस्याले काममा बाधा पुगेको दाबी गर्दै आएको चिनियाँ ठेकेदार कम्पनीले यस अवधिमा सुरुङ निर्माणका लागि अति आवश्यक इक्विपमेन्ट, मजदुर र प्राविधिक जनशक्तिसमेत व्यवस्था गर्न नसकेपछि कामको गति सुस्त भएको हो । यस अवधिमा दुई स्थानमा गरेर २ सय ८० मिटर मात्र सुरुङ निर्माण भएको छ ।
आयोजनाका कार्यकारी निर्देशक हरिप्रसाद शर्माले कम्पनीको १५ महिनाको काम सन्तोषजनक नरहेको बताए । चाइना रेलवे १५ ब्युरो कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुदेखि सुन्दरीजलसम्म २६ दशमलव ३ किलोमिटर सुरुङ ४ वर्षमा पूरा गर्ने सम्झौताबमोजिम अघिल्लो साउनमा निर्माण सुरु गरेको थियो । प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलमा सुरुङ निर्माणको शिलान्यास गरेका थिए । यस अवधिमा सुन्दरीजलमा २ सय ७० र सिन्धु अर्डिटमा १७ मिटर सुरुङ निर्माण भएको छ । अम्बाथान र ग्याल्थुम अर्डिटमा कामै सुरु भएको छैन । २१ अपि्रल २००९ मा काम गर्ने साइड पाएको कम्पनीले ११ प्रतिशत घटेर ठेक्का सकारेको थियो । ४ अर्ब २४ करोडमा ठेक्का पाएकोमा सुरुङ निर्माणका लागि आवश्यक ९४ थरीका थप उपकरण अझै ल्याएको छैन । 'कम्पनीले नेपाल ल्याउन ठीक पारेको मेसिनको लिस्ट बुझाएको छ, शर्माले भने, 'ती कहिले आउँछन् भन्ने थाहा छैन ।'
निर्देशक शर्माका अनुसार कम्पनीले निर्माण अवधि १ वर्ष थप्न आयोजनालाई पत्र लेखेको छ । 'म्याद थपको प्रस्ताव आएको छ,' उनले भने, 'थपेको अवधिमा पनि निर्माण पूरा हुन्छ भन्ने विश्वासिलो कार्ययोजना छैन ।' आयोजनाले कामदार र उपकरण ल्याउन कम्पनीलाई पटकपटक आग्रह गर्दै आएको छ । तीन सय मजदुर ल्याउने भन्दै ठेकेदार कम्पनीका म्यानेजर गावा डेक्वान दुई महिना पहिले चीन गएर फर्केका छन् । अझै मजदुर र प्राविधिकको समस्या यथावत् छ । आफूमाथि स्थानीयले कुटपिट गरेको, काम गर्न नदिएको, लामो समयसम्म आयोजनाको मूलद्वारमै ताला लगाएको र भारतबाट समयमै विस्फोटक पदार्थ ल्याउन नसकेको भन्दै ठेकेदारले आफूले सहज ढंगले काम गर्ने वातावरण नभएको बताउँदै आएको छ । गत असारको पहिलो साता काउले दोभानमा स्थानीय र चिनियाँबीच झडप भएको थियो । यसपछि चिनियाँ दूतावासले समेत चासो दिँदै आएको छ । दूतावासका केही अधिकारीले साइड घुमेर आफ्ना नागरिकको सुरक्षाको विषयमा चासो राखेका थिए ।
आयोजनाले प्राविधिक र अन्य कामदारको व्यवस्था गर्न दबाब दिएपछि नेपाली प्राविधिक नियुक्त गर्न विज्ञापनसमेत गरेको थियो । कम्पनीले ३२ जना प्राविधिक र १ सय जना मजदुरको व्यवस्था गरेको दाबी गरेको थियो । 'साइडमा भने कोही देखिँदैनन्,' शर्माले भने । विज्ञापन गरिए पनि जनशक्ति थपिएको छैन । कम्पनीले आयोजनाको मुख्य दाता एसियाली विकास बैंकलाई कामदारको पर्याप्त व्यवस्था गरेको जानकारी दिएको छ ।
आयोजना स्रोतका अनुसार उसले झूटा विवरण दिएर दातालाई ढाँटिरहेको छ । आयोजनाको मुहानमा सुरुङको काम सुरु भएको छैन । आयोजना सुरुमा आर्थिक वर्ष ०६४/०६५ मा पूरा गर्ने लक्ष्य राखिएकोमा यसलाई दुईपटक संशोधन गरेर अहिले आव ७०/७१ पुर्याइएको छ । पहिलो चरणमा १७ र दोस्रोमा याङ्री र लार्के खोलाबाट पानी थपेर दैनिक ५१ करोड लिटर राजधानी पुर्याउने लक्ष्य आयोजनाको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks