राजेन्द्र नाथ
खलंगा (दार्चुला), कार्तिक १४ - दार्चुलाका सञ्चारकर्मी शंकर धामी दिनभर गाउँ चहारेपछि साँझपख हतार-हतार सीमापारि लाग्छन् । उत्तिकै हतारमा उनका औंला किबोर्डमा दौडन्छन् । हतारमा बटुलिएका समाचारलाई भारतीय बजारबाट इमेल गरेपछि फेरि दार्चुला र्फकन उनलाई उत्तिकै हतारो हुन्छ, कतै पुलका ढोका बन्द हुने त हैनन् भन्ने ।
धामी मात्र होइनन्, मुलुकको पश्चिमोत्तरको यो दुर्गममा कार्यरत झन्डै दर्जन सञ्चारकर्मी दुई महिनायता समाचार सम्प्रेषणका लागि भारतीय बजारमा निर्भर छन् ।
बिजुली नहुँदा सञ्चारकर्मीसँगै सर्वसाधारणले पनि हैरानी खेप्नुपरेको छ । सदरमुकाम र आसपास क्षेत्रमा बिजुली वितरण गर्दै आएको लास्कुखोला साना जलविद्युत् आयोजनामा खराबी आएपछि सदरमुकाम अन्धकार छ ।
राजधानीका सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्न र पत्रिका प्रकाशन तथा एफएमका कार्यक्रम उत्पादन गर्न भारतीय बजार धार्चुला जानुपरेको सञ्चारकर्मीले बताए । दार्चुला सन्देश साप्ताहिक र कालापानी पोस्ट अर्धसाप्ताहिकको कार्यालय नै सदरमुकाम खलंगाबाट भारतको धार्चुला सारिएको छ । भारतीय सुरक्षाकर्मीले सञ्चारकर्मी र सञ्चारमाध्यममाथि विशेष निगरानी राख्ने गरेका छन् । भारत सम्बन्धका समाचार र रिपोर्टमा उनीहरूको चासो रहन्छ । उनले भने, 'उतैबाट पत्रिका प्रकाशन गर्नुपर्ने बाध्यताले खुलेर समाचार लेख्न कठिनाइ भएको छ ।'
एकमात्र सामुदायिक रेडियो कालापानी एफएमका कार्यक्रम पनि उतै उत्पादन गरिने उक्त एफएमकी पत्रकार राखी कुँवरले बताइन् । बिजुली नभएकैले अपी पोस्ट साप्ताहिक र एक अर्को अर्धसाप्ताहिक पत्रिका बन्द छ ।
बिहान झिसमिसेमा खुल्ने महाकालीको सीमा पुल साँझ बन्द हुन्छ । जसका कारण महत्त्वपूर्ण समाचारमा समय दिन नसकिएको नेपाल टेलिभिजनका समाचारदाता भोजराज जोशीले बताए ।
नेपाल टेलिकमले जेनेरेटर चलाएर सेवा दिन थाले पनि साँझ फोन सेवा बन्द गर्न थालेको छ । गाउँका समाचारका लागि प्रहरी सञ्चारमा भर पर्नुपर्छ । मोबाइल चार्ज गर्न भारत पुग्नुपर्छ । जिल्लाको एक मात्र मानसरोवर केबल नेटवर्क पनि बन्द भएको सञ्चालक हंसराज भट्टले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks