Loving nepal news

Saturday, October 23, 2010

नेपालले तान्यो मन’


जितेन्द्र साह

काठमाडौ, कार्तिक ७ - पशुपतिस्थित वाग्मती नदी किनारमा शनिबार बिहान पाको उमेरकी एक विदेशी महिला क्यामेरा मिलाउन व्यस्त भेटिइन् । उनी वरिपरिका दृश्य छायांकन गर्ने हतारोमा थिइन् । तर क्यामेराले साथ दिइरहेको थिएन ।

चर्चित आर्ट फिल्म 'सेप्टेम्बर ११' की निर्मात्री अमेरिकाको न्युजर्सी होबोकेन सहरकी सारा विन्टर बडो मुस्किलले मात्र बोल्न मानिन् । 'इतिहास रोचक छ, मुलुक सुन्दर छ, यहाँका बासिन्दा राम्रा र सहयोगी छन्,' सुरुमै उनले नेपाल र नेपालीको प्रशंसा गरिन्, 'ठमेलका गल्लीमा मगन्तेले हैरान पार्दा स्थानीय हेरेर बस्दैनन्, हामीलाई दुःख नहोस् भनेर धपाउँछन्, यो पाहुनाप्रतिको ठूलो सद्भाव हो ।'अमेरिकाकी स्वतन्त्र चलचित्र निर्मात्री सारा एक कलेजकी शिक्षिका पनि रहिछन् । उनले 'सेप्टेम्बर ११' लगायत १० वटा आर्ट चलचित्र बनाइसकेकी छन् । एक सम्मेलनमा भाग लिन पहिलो पटक व्यक्तिगत भ्रमणमा दुई साताका लागि चार दिनअघि उनी काठमाडौं आएकी हुन् । 'म शुक्रबार स्वयम्भू क्षेत्रमा एकै स्थलमा बुद्ध र ज्ञानकी देवी सरस्वतीको मूर्ति देखेर हषिर्त भएँ,' साराले भनिन् । यो एक उदाहरणबाटै धर्मनिरपेक्षता तथा धार्मिक र सामाजिक सद्भाव झल्केको उनको धारणा छ । हिमालयबाहेक पनि धेरै सुन्दर र अद्भुत ठाउँ रहेको र त्यसलाई विश्वसामु चिनाउनुपर्ने सुझाव उनले दिइन् । नेपाली मित्रबाट धेरै कुरा थाहा पाएकी साराले भनिन्, 'पर्यटनलाई बढावा दिएर नागरिकको जीवनस्तर उकास्नुपर्छ ।' वन्यजन्तु आरक्षण, जलवायुमा विविधता, तराईको मौलिकताबारे आफूलाई निकै रुचि भएको उनले बताइन् । 'म फेरि नेपाल आउनेछु,' अन्त्यमा उनले भनिन् ।

नेपाललाई माया गर्ने अन्य थुप्रै पर्यटक पनि पशुपति क्षेत्रमा भेटिए । आर्यघाट किनारमा शनिबार एक्लै हिँडिरहेकी हंगेरीको पेच सहरकी युवती नोरा कोभाक्स पनि तीमध्ये एक थिइन् । उनको अन्य साथीहरू गाइडसँग आर्यघाटमा चलिरहेको मृत्यु संस्कारबारे जानकारी लिइरहेका थिए भने नोरा स्थानीय नेपालीसँग घुलमिल हुनमा व्यस्त थिइन् । 'कुनै पनि मुलुक बुझ्न त्यहाँको बासिन्दासँग नजिकिनुपर्छ,' नोराले भनिन्, 'जहाँ जान्छु, मित्रहरू बनाउँछु ।' उनी १७ जनाको समूहमा तीनदिने भ्रमणमा नेपाल आएकी हुन् । काठमाडौंको दरबार क्षेत्र मन पराएकी नोरा आइतबार बिहान हिमालय क्षेत्रको भ्रमणपछि भारत र्फकने छिन् । 'मैले नेपालीको सरल र मिजासिलो व्यवहारबारे धेरै सुनेको थिएँ,' बोल्दै हिँड्न मन पराउने उनले भनिन्, 'यो मेरो पहिलो भ्रमण हो, अर्कोपल्ट अलि बढी समय लिएर आउनेछु ।'

क्रोसियाको सीमानजिक रहेको हंगेरीको दक्षिण पश्चिममा पर्ने पाँचौं ठूलो सहर पेचकी नोरा र उनका साथीहरू नेपाल र भारतको १७ दिने भ्रमणमा आएका हुन् । नोराले नेपालको यो भ्रमणलाई विशेष बताइन् ।

पर्यटकको भीडमा पोल्यान्डकी माग्दा कोरालेवस्का पनि भेटिइन्, जो तीन साता नेपाल बस्ने गरी पिता पियात्रोसँग आएकी छन् । पेसाले ग्राफिक डिजाइनर उनी राजधानी वार्सामा बस्छिन् भने उनका पिता दोस्रो ठूलो सहर क्राकोमा बस्छन् । 'बुवाले एसियाको थुप्रै सहर घुम्नुभएको छ,' पहिलो पटक नेपाल आएकी माग्दाले भनिन्, 'मलाई संसारकै सुन्दर मुलुकमध्येको नेपाल एक लाग्यो ।' उनीहरू दुई दिनअघि आइपुगेका हुन् । माग्दा र उनका पिताले पोखरा र चितवन घुमेपछि कुनै रमणीय क्षेत्रमा टे्रकिङ जाने योजना बनाएका छन् । 'निकै रंगीन, विविधतापूर्ण र रोचक स्थल रहेछ, यहाँ नयाँ स्वादको अनुभूति भयो,' लेखक पियात्रोले भने । जीवनशैली, महिला र सुन्दर स्थलबारे लेख्न रुचाउने पियात्राको पोलिस भाषामा दुई पुस्तक प्रकाशित भइसकेको छ । 'सम्भवतः यो यात्राबारे पनि केही लेख्छु कि,' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks