सोलुखुम्बु, आश्विन २१ - नेपालका लागि भारतीय राजदूत राकेश सुद बिहीबार चौंरीखर्क गाविसको फाक्दिनबाट स्याङबोचे जाने कार्यक्रम रहेको छ । सोलुखुम्बुको खुम्जुङमा भारतीय लगानिमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गर्न बुधबार सोलुखुम्बु आएका सूद सदरमुकाम सल्लेरीबाट हिजो नै यती एयरको प्लाटसबाट लुक्ला हुदै फाक्दिन पुगेका हुन् । राजदूत सुदले हिजो चौंरीखर्कको महेन्द्रज्योथि मावि चौंरीखर्क पुगि आँखा शिविरको उद्घाटन गरेका थिए ।
उद्घाटनपछि फाक्दिनको एक होटलमा बस्न पुगेका भारतीय आधा दर्जन प्रतिनिधि सहितको टोली आज स्याङबोचे जान लागेको हो । सोलुखुम्बुमा खानेपानी सिल्यान्यास र सोलुको भ्रमण गर्ने उद्धेश्यले सोलुखुम्बु आएको सुद्ले बताएका छन् । 'सोलुखुम्बुबाट विकासका लागि धेरै प्रस्तावहरु आएका छन् र भारतको सहयोगमा धेरैभन्दा धेरै प्रोजेक्ट सोलुमा आउने संभावना छ' सुद्ले भने ।
शनिबार खुम्जुङमा सञ्चालन हुन लागेको खुम्जुङ खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको स्थानिय विकास अधिकारी नारायण मैनालीले बताए । उक्त खानेपानी भारतीय राजदुताबासको ३ करोड ९५ लाख रुपैयाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो । १५ महिनामा सम्पन्न गरिने खानेपानी आयोजना स्थल खुम्जुङ, चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा पर्दछ ।
यसैबीच सुद्को सोलुखम्बु भ्रमणलाई लिएर हिजो माओबादिले गरेको बिरोधको विषयमा आज रिपोर्टस क्लब सोलुखुम्बुले जिल्लाका शिर्ष नेताहरु नेपाली कागे्रसका जिल्ला पार्टी सभापति आङ गेलु शेर्पा, एमालेका जिल्ला सभापति आङ ङमि लामा र एकिकृत नेकपा माआबादिका सभासद् गोपाल किरातीसँग समग्र राजनीतिक विषयलाई लिएर साक्षात्कार कार्यक्रमको गर्ने भएको छ ।
सूदलाई अवरोध
चीनसँग जोडिएको हिमाली जिल्लामा सहयोग कार्यक्रम उदघाटन गर्न आएका भारतीय राजदूत राकेश सूदलाई माओवादीले कालो झन्डा देखाउनुका साथै आक्रमण प्रयाससमेत गरेका छन् । सूद फाप्लु विमानस्थलमा ओर्लनेबित्तिकै माओवादी कार्यकर्ताले उनलाई लक्षित गरी जुत्तासमेत प्रहार गरेका थिए ।
बिहानैदेखि भारतविरोधी नाराबाजी गरिरहेका उनीहरूले सूद चढेको जिल्ला विकास समितिको गाडीमा समेत आक्रमण प्रयास गरेका थिए । विरोध प्रदर्शनको नेतृत्व माओवादी केन्द्रीय सदस्य गोपाल किराँतीले गरेका थिए ।
भ्रमणको विरोधमात्र गर्ने नीति भए पनि कार्यकर्तालाई नियन्त्रण गर्न नसकिएकाले उक्त घटना हुन गएको उनले बताए । 'विरोध प्रदर्शनमा हाम्रो सहमति छ,' सभासद एवं पूर्वमन्त्री किराँतीले भने, 'एउटा खानेपानीको शिलान्यास गर्ने कार्यमा राजदूत उपस्थिति हुनु कूटनीतिक मर्यादाविपरीत हो ।' राष्ट्रिय स्वाधीनता, गणतन्त्र र धर्मनिरपेक्षता सुनिश्चित भएको नयाँ नेपालमा भारतले नांगो हस्तक्षेप गर्न थालेकाले आफूहरू विरोधमा उत्रेको उनको भनाइ थियो ।
अवरोधबाट आक्रोशित राजदूत सूदले पनि सदरमुकाममा पत्रकारहरूसमक्ष माओवादीप्रति आक्रोश पोखेका थिए । 'किन विरोध गरे उनीहरूलाई नै सोध्नुस्,' हिन्दीमा बोल्दै उनले भने, 'के माओवादीलाई विकास चाहिँदैन ? उनीहरूलाई पानी चाहिँदैन ?'
नेपालका गरिब जनतालाई नुन र पानी दिँदैमा त्यसलाई भारतीय हस्तक्षेप भन्न नमिल्ने उनको भनाइ थियो । 'भारत नेपालमा शान्ति र विकास हेर्न चाहन्छ,' रिपोर्टस् क्लब, सोलुखम्बुको साक्षात्कारमा उनले भने, 'नेपाललाई भारतीय भूमि बनाउने प्रयास हामीबाट कहिल्यै हुँदैन ।' सूदले नेपाली राजनीतिलाई कता डोर्याउने भन्ने कुरा नेपालीकै हातमा रहेको समेत बताए ।
किराँतीले चाहिँ आर्थिक सहयोग र धर्मकर्मको नामबाट हिमाली क्षेत्रमा खम्पा काण्ड दोहोर्याउने खतरनाक तयारी भएकाले भारतीय राजदूतको विरोध गरिएको दाबी गरेका थिए ।
सन् सत्तरीको दशकमा चीनको तिब्बतलाई 'स्वतन्त्र पार्ने' लक्ष्य राखी खम्पाहरूले नेपाली भूमिबाट सशस्त्र गतिविधि गरेका थिए ।
नेपाल वायुसेवा निगमको उडानबाट करिब आधा दर्जन अधिकारीसहित आएका राजदूत सूदले भारतीय सहयोगमा खुम्जुङमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शनिबार शिलान्यास गर्दैछन् । ३ करोड ९५ लाख रुपैयाँ बराबरको सहयोगमा निर्माण गरिने उक्त आयोजनास्थल चीनको स्वशासित क्षेत्र तिब्बतनजिकै पर्छ । सूदले बुधबार कडा सुरक्षाघेराभित्र सल्लेरीमा नेपाल-भारत मानव विकास तथा मैत्री संघ, जिल्ला शाखाको उद्घाटन गरे । त्यस क्रममा उनले भारतीय राजदूतावासले सोलुखुम्बुमा दुइटा एम्बुलेन्स प्रदान गरेको स्मरण गरे । उनले भारतीय सहयोगमै सञ्चालित साल्ट टे्रडिङ कर्पोरेसन, सल्लेरीको पनि निरीक्षण गरे । एक घन्टा सदरमुकाममा बिताएपछि सूद बुधबारै फाप्लु विमानस्थलबाट तारा एयरको पिलाटस पोर्टर विमान चढी लुक्ला पुगेका थिए । त्यसतर्फ जानुअघि उनले आफ्नो विरोध गर्ने माओवादी नेता किराँतीसँग सल्लेरी विमानस्थलको टावरमा १५ मिनेटजति एक्लै कुराकानी गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks