Loving nepal news

Wednesday, October 27, 2010

तामाकोसीको पिपिए र ऋण सम्झौता २ महिनाभित्र


गोकर्ण अवस्थी

काठमाडौ, कार्तिक १० - स्वदेशी स्रोतमा निर्माण हुने ४ सय ५६ मेगावाट क्षमताका माथिल्लो तामाकोसी आयोजनाको दुई महिनाभित्रै पूर्णकालीन काम सुरु हुने भएको छ । मंसिरभित्र ऋण लगानी र विद्युत् खरिद सम्झौता (पिपिए) सँगै सञ्चालन/उत्पादन अनुमति समेत लिइसक्ने जनाइएको छ ।

'मंसिरभित्र पिपिएसँगै सबै प्रक्रिया पूरा गरेर द्रूत गतिमा काम अगाडि बढ्नेछ,' आयोजना निर्देशक मृगेन्द्रबहादुर श्रेष्ठले भने । यसअघि आयोजनास्थलसम्मको बाटो निर्माण र सुधार गर्नुपर्ने पहिलो चरणको ठेक्का पाएको चिनियाँ कम्पनीले काम थालिसकेको छ भने दुई महिनाभित्र अन्य ३ चरणको ठेक्कासमेत दिइसक्ने उनले बताए । २०१५ जुनदेखि बिजुली उत्पादन सुरु गर्ने योजना छ ।

पिपिएसम्बन्धी नेपाल विद्युत् प्राधिकरणसँग प्रारम्भिक सम्झौता (एमओयु) भने भइसकेको छ । उक्त सम्झौताअनुसार व्यापारिक उत्पादन भएको वर्ष प्रतियुनिट बिजुली ४ रुपैयाँ ६ पैसामा प्राधिकरणलाई बिक्री गरिनेछ । त्यसको १० वर्षपछि प्रतियुनिट ५ रुपैयाँ ३० पैसा पुग्नेछ ।

यसअघि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता गरिसकेको आयोजनाले अन्य लगानीकर्ता नेपाल टेलिकम, बिमा संस्थान र नागरिक लगानी कोषसँग पनि मंसिरभित्र सम्झौता गरिसक्नेछ । आयोजनामा टेलिकमको ६ र कोष एवं संस्थानको २/२ अर्ब रुपैयाँ ऋण लगानी रहनेछ । यसैगरी टेलिकमको ६ प्रतिशत र अन्य दुई संस्थाको २/२ प्रतिशत सेयर लगानी पनि रहनेछ । 'यी संस्थाहरूसँग पनि २ महिनाभित्रै ऋण सम्झौता भइसक्नेछ,' श्रेष्ठले भने, 'यी संस्थाहरूसँग सेयरधनी सम्झौता भने भइसकेको छ ।'

३५ अर्ब रुपैयाँ लगानी हुने यस परियोजनामा यसअघि नै सञ्चय कोषले १० अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ । यसैगरी नेपाल सरकारको ११ अर्ब ८ करोड रुपैयाँ लगानी छ । यसअघि ट्रयाक खुलिसकको दोलखादेखि लामाबगरसम्मको ६८ किलोमिटर सडकमा चिनियाँ सिनो हाइड्रो कर्पोरेसनले ठूला बाहन चल्न सक्ने गरी सुधार गरिरहेको छ । आयोजना निर्माणको पहिलो चरण हो । सिनोलाई २०६७ साउन १६ मा ठेक्का दिइएको थियो । 'सकेसम्म तिहारसम्म दोस्रो र तेस्रो लटको ठेक्का पनि दिने तयारीमा छौं,' श्रेष्ठले भने ।

हाइड्रो मेकानिकल भनिने दोस्रो चरणमा ड्यामको गेट, भल्भ, पाइप आदि निर्माण र जडान पर्छ । यसका लागि दुई भारतीय र एक युरोपेली गरी ३ कम्पनी अन्तिम चरणमा पुगेका छन् । तेस्रो चरणको इलेक्ट्रो मेकानिकलका लागि ७ कम्पनी प्रतिस्पर्धाका लागि छानिएका छन् । जसमा ३ चिनियाँ, दुई भारतीय र दुई युरोपेली कम्पनी छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks