मनोज बस्नेत
काभ्रे-, कार्तिक ७ - उनको छवि प्रहरी अधिकृतको मात्र थियो, अब थपिएको छ- गीतकार । हालै प्रहरी निरीक्षक गोविन्दबहादुर कार्कीले 'समृद्धि' एल्बम सार्वजनिक गरेका छन् ।
भक्तपुरको गुन्डु-५ का गोविन्द हाल जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख छन् । दुई दशकदेखि प्रहरी सेवामा रहेका कार्कीले प्रहरी हुनुअघि गीत कविता लेख्ने दाबी गरे । 'कहिले कता सरुवा कहिले कता ?' उनले भने, 'फुर्सदै मिल्दैन थियो ।' तैपनि फुर्सद निकालेर अरूलाई परेको पीडा सम्झँदै कलम चलाएको उनले
बताए । 'कर्मचारी मिलन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा कविता वाचन गरेको थिएँ,' उनले भने, 'सबैले राम्रो छ भन्दै हौस्याएपछि कम्मर कसेर लागें ।'
प्रहरी सेवामा प्रवेशपछि त्यो नै उनको पहिलो साहित्यिक सिर्जना थियो । त्यही साल उनी संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा सञ्चार शाखा प्रमुख भएर गए । त्यो अवसरले उनको परिचय नै फेरिदियो । उनले त्यही बसेर विदेशीको नेपालीको पीडा लेखे-
'आमा तिम्रो सम्झनामा मनै रुवायौ
बालककालमा पाल्यौ पोस्यौ, ठूलो भइएछ ।
बूढेसकालमा तिमीलाई छाडी विदेश आइएछ,
यो गीत क्यासेटमा आफैंले गाएर चिठठ्ीको रूपमा आमालाई पठाएको थिएँ,' उनले भने, 'आमाले सुन्न सक्नुभएनछ । यही मेरो पहिलो गीत थियो ।' आफ्नो दोस्रो एल्बममा उनले यही गीत पनि राखेका छन् । मुलुक फिरेलगत्तै उनको भेट डीएसपी भएर पनि साहित्यिक छवि बनाएका राजुबाबु श्रेष्ठसँग भेट भयो । झन् उनी हौसिए ।
हालसम्म उनका ६० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । हालै सार्वजनिक 'समृद्धि' एल्बममा जागिरे दौरानमा देखेका पीडा गुनासालाई गीत बनाएका छन् । 'मैले लेखेको गीत सुनेर मलाई भेट्न आएका एक शुभचिन्तकले दाह्री पालेको, बैरागी गीतकार होला भनेर सोचेका रहेछन्,' कार्कीले भने, 'सुकिलो मुकिलो, कडा बोली देखेर उनी त चकित ।' 'समृद्धि' मा यम बराल, रामकृष्ण ढकाल, अञ्जु पन्त, पावेल राई, उदय सोताङ, अञ्जना गुरुङलगायतको स्वर छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks