Loving nepal news

Thursday, October 14, 2010

मौलिकता हराउँदै’

माधव अर्याल

पाल्पा-, आश्विन २९ - गाउँघरमा हुने आफ्नै विशिष्ट परम्परा रहेको मौलिक दसंै लोप हुन थालेकोमा पाका पुस्ताले चिन्ता गर्न थालेका छन् ।

गाउँघरमा भरुवा बन्दुक पड्काउने, शंख फुक्ने आवाज आउन छाडिसकेको छ । गाउँघर र छिमेकी गाउँमा घटस्थापनादेखि सुरु हुने सामूहिक पूजा, कोटघरमा रमाइलोसँग गरिने पूजा पनि कमै मात्र हुन थालिसक्यो ।

बौद्धिक विधिअनुसार नवरात्रका नौ दिनसम्म कुल देवता र शक्तिपीठमा बसेर गाउँलेले पूजा गर्ने, नौ दिन निराहार बस्ने र अष्टमीका दिनमा कालरात्रि पूजा गरिसकेपछि मात्रै खाने चलनसमेत हट्न थालिसकेको खालीवनका ७१ वषर्ीया जीवन अधिकारीले बताए । 'यस्तो परम्परा हराउन थाल्यो, मान्छे व्यस्त भएर पनि होला' उनले भने, 'अहिलेको पुस्ता यसो गर्न चाहँदैन । अर्को कुरा अहिले यस्तो अवस्था आउनु भनेको आधुनिकता पनि हो ।'

बजारका मानिसमा त यी कुराको कुनै मतलब नै छैन । घर-घरमा मानो उठाउने र मठ-मन्दिरमा वृद्ध, युवाहरू नवरात्रमा बस्ने चलन पनि हट्न थालेको छ । गाविसमा भएका कोटघरमा सामूहिक पूजामा समेत समस्या आइसकेको छ । खालीवन, सिलुवा, रामपुर, गल्धा, ज्यामिरे, मित्याललगायतका गाविसमा रहेका कोटघरमा जाने बाटो खन्नसमेत छोडिएको छ ।

'गाउँमा बोलायो कोही आउँदैन अनि कसरी खन्ने ?' सिलुवाका राजु श्रेष्ठले भने, 'पहिलेजस्तो अहिले गाउँमा सामूहिक भावना देखिँदैन ।' तान्त्रिक र वैदिक विधिअनुरूप दिइने बलि विकृत भएर प्रथाको रूपमा समेत विकसित भएको छ । कोटघरमा नवरात्रदेखिको बलि दिने परम्परा र रमाइलो समेत हट्दै गएको छ ।

पाँच/सात वर्षअघिसम्म घटस्थापना सुरु नहुँदै गाउँ-गाउँमा ग्राम्य देवता र कुल देवताका मन्दिरहरूको सरसफाइ हुन्थ्यो । घटस्थापनामा सामूहिक जमरा राख्ने र नौ दिनसम्म सामूहिक पूजा गर्ने साथै प्रत्येक वडाले हरेक वर्ष पालो पूजा गर्ने चलन थियो । वीरकोटका नेत्रबहादुर सारुका अनुसार पहिले जस्तो अहिले त्यस्तो रमाइलो हुन छाडिसक्यो । युवाको विदेश पलायन, आधुनिक संस्कृतिको विकाससँगै पुराना चलनहरू हट्दै गएको हुन सक्ने उनले बताए ।

यातायात र सञ्चारको विकाससँगै भित्रिएको बाह्य संस्कृतिले यस भेगका मौलिक पर्वहरू आधुनिक बन्दै गएका हुन् । दसंै पनि सांस्कृतिक अतिक्रमणमा परेको बुद्धिजीवीहरू बताउँछन् । असत्यमाथि सत्यको विजय पर्वको रूपमा दसंैलाई मनाइने परम्परा छ । आफूभन्दा ठूलाको हातबाट टीका र जमरा थापेर रमाइलो गर्ने पर्वका रूपमा मात्र दसैं विकसित हुन थालेको छ ।

यसको सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको पक्ष ओझेलमा परेको पुराना पाकापुस्ता ६८ वर्षका जीवनाथ काफ्लेले बताए । गाउँघरमा राखिने रोटे पिङ, लिंगे पिङ, जाँते पिङसमेत कम हुँदै गएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks