चीन भ्रमणमा उनीहरूसँगै अन्य दुई जना भाषा अनुवादक र शर्माका स्वकीय सचिव पनि गएका थिए । स्रोतका अनुसार दुवै भाषा अनुवादकको व्यवस्था नेपालस्थित चिनियाँ दूतावासले गरिदिएको थियो ।
कान्तिपुर संवाददाताकाठमाडौ, कार्तिक ७ - माओवादी लडाकुका कमान्डरहरूले हालै गरेको चीन भ्रमणलाई लिएर सरकारले आपत्ति जनाएको छ । शान्तिमन्त्री रकम चेम्जोङले यस विषयमा नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) सँग जवाफ मागिने बताएका छन् ।
'सैद्धान्तिक सहमति भइसके पनि व्यावहारिक रूपमा लडाकुहरू सरकार मातहत आइसकेका छैनन् । त्यसैले लडाकु र हतियारको अनुगमन गरिरहेको अनमिनसँग यस विषयमा जानकारी मागिने छ । लडाकुको बिदाबारे हेर्ने जिम्मेवारी पनि अनमिनकै हो,' उनले कान्तिपुरसित भने ।
माओवादी लडाकु रेखदेख, सुपरिवेक्षण र समायोजनसम्बन्धी विशेष समितिको अनुमतिबिना लडाकु बाहिर जानु गलत भएको समितिका सदस्य तथा कांग्रेस नेता रामशरण महतले बताए । उनले लडाकुको चीन भ्रमणबारे छानबिन नै गरिनुपर्ने बताए । माओवादीले भने शान्ति सम्झौताअनुरूप १२ प्रतिशतसम्म लडाकु बिदा बस्न पाइने भएकाले उनीहरू कहाँ गए भन्ने विषयमा टाउको दुखाउनु जरुरी नभएको बताएको छ ।
'एक पटकमा १२ प्रतिशतसम्म लडाकु बिदा बस्न पाइन्छ । चाडपर्वका बेला त व्यावहारिक रूपमा पनि अलि बढी जना बिदा बस्न सक्छन्,' माओवादी स्थायी समिति सदस्य तथा सैन्य इञ्चार्ज वर्षमान पुनले भने, 'बिदाको बेला उनीहरू घर, ससुराली वा विदेश नै गए पनि त्यसमा आपत्ति जनाउनुको कुनै अर्थ छैन ।' विशेष समिति सदस्य रहेका पुनले अनमिनसँग स्पष्टीकरण सोध्ने कुरा पनि औचित्यहीन भएको बताए ।
विशुद्ध रूपमा घुम्न गएको र चिनियाँ जनमुक्ति सेनाका कसैसँग पनि भेट नभएको उनले दाबी गरे । 'जनमुक्ति सेना वा कुनै नेतासँग भेटेको भए लुकाउने कुरै छैन । मजाले बाजा बजाउँदै, सञ्चार माध्यम, जनता सबैलाई जानकारी गराएर गइन्थ्यो,' उनले भने,
'यसो घुम्न गएकाले हल्ला गर्नु आवश्यक ठानिएन ।'
पुनसहित पोलिटब्युरो सदस्य जनार्दन शर्मा, अर्का पोलिटब्युरो सदस्य तथा माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, पुनपत्नी तथा सभासद ओनसरी घर्ती, माओवादी सेनाका डिभिजन कमान्डरहरू सुकबहादुर रोका मगर, तेजबहादुर ओली र महेन्द्र शाही असोज २९ गते चीन गएका थिए ।मगर दोस्रो, ओली चौथो र शाही छैटांै डिभिजनका कमान्डर हुन् । चीन भ्रमणमा उनीहरूसँगै अन्य दुई जना भाषा अनुवादक र शर्माका स्वकीय सचिव पनि गएका थिए । स्रोतका अनुसार दुवै भाषा अनुवादकको व्यवस्था नेपालस्थित चिनियाँ दूतावासले गरिदिएको थियो । सबै बिहीबार मुलुक फर्केका हुन् । डेपुटी कमान्डर खनालले एक आईएनजीओको निमन्त्रणमा घुमफिरका लागि भनेर चीन गएको बताए । 'यसो दसैंको छुट्टीको समयमा घुमफिर गरौं भनेर गएको
हो । खासमा सांघाई एक्स्पो हेर्न गएको हो । घुम्न जान कसैलाई सोधिरहनुको अर्थ छैन,' उनले भने । खनालले नेपाल आइरहने चिनियाँ प्रोफेसर वाङ र उनका सहयोगीले आफूहरूलाई घुमाएको बताए ।
भ्रमणमा तिब्बतको ल्हासा, छेन्दु, चीनको सांघाई, राजधानी बेइजिङ, गोन्झाओ, हुनानलगायत क्षेत्र घुमेको पुनले जानकारी दिए । 'माओको शव, ग्रेट वाल, तियानमेन चोक र सांघाई एक्पोलगायतको अवलोकन गरियो,' उनले भने । दुईवटा टोली बनाएर भ्रमण भएको उनले जानकारी दिए । पुन, उनकी पत्नी घर्ती, शर्मा र खनाल एक भाषा अनुवादकसँगै तिब्बतको छेन्दु हुँदै बेइजिङमा तीन दिन बिताएर सांघाई पुगेका थिए । बाँकी डिभिजन कमान्डरहरू र शर्माका सचिव अर्को भाषा अनुवादकलाई लिएर सीधै सांघाई पुगेको र हुनान घुमेर ग्वान्झाओ हुँदै फर्केका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks