Loving nepal news

Sunday, October 24, 2010

सोझा गाउँले सम्पत्ति शुद्धीकरणको दायरामा

सुजित महत

काठमाडौ, कार्तिक ८ - प्रधानमन्त्रीले एक वर्षअघि कोदालो चलाएर शिलान्यास गरेपछि फास्टट्रयाक नजिक पर्ने मकवानपुरको ग्रामीण भेगमा जग्गाको भाउ आकासियो । उब्जनी नहुने पाखो बारी किन्न करोडौं रुपैयाँ बोकेर जग्गा व्यापारीहरू गाउँ पसेपछि गाउँलेले जग्गा बेच्न थाले । तर रजिस्ट्रेसन दस्तुर छल्न बिक्री गरेको वास्तविक मूल्य लुकाउने सोझा गाउँलेहरू सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धानको दायरामा पर्न थालेका छन् ।

सहरमा घरजम गरी छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपना देख्दै जग्गा बेचेको बताउने छतिवन गाविसका हर्क तामाङ -नाम परिवर्तन) अहिले अनुसन्धानको दायरामा छन् । यातायात मजदुर तामाङले उब्जनी नहुने पाखोबारीका लागि सवा १ करोड रुपैयाँको प्रस्ताव आएपछि जग्गा बिक्री गरेका थिए । रजिस्ट्रेसन दस्तुर छल्न करिब ५ लाख रुपैयाँमा खरिद बिक्री भएको देखिएपछि उनलाई बाँकी रकमको स्रोत खुलाउन सकस परेको छ । 'खरिद गर्नेले भनेअनुसार मूल्य कम देखाएर जग्गा बिक्री गरेको तामाङको बयान अपत्यारिलो छैन,' राजस्व अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो, 'तर उनलाई राहत दिने अवस्था छैन ।'

शुद्धीकरण निवारणमा सक्रिय दुई अन्तर्राष्ट्रिय संस्था -फाइनान्सियल एक्सन टास्क फोर्स र एसिया प्यासिफिक एन्टी मनी लन्डरिङ ग्रुप) ले दबाब बढाएपछि सरकारले सक्रियता बढाएको हो । लागू औषध, हतियार र मानव तस्करीबाट कमाएको पैसा शुद्धीकरण गरिएको आशंकमा संसारभर अभियान बढाएको हो । सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि यसले गति लिएको थियो ।

त्यो क्रम नेपालमा आइपुग्दा जग्गाको राजस्व छलीमा केन्दि्रत भएको छ । राष्ट्र बैंकको वित्तीय सूचना इकाईले १० लाख रुपैयाँभन्दा बढी बचतमा स्रोत नखुलेका भनी सूचित गरेका हरेक बचतकर्तालाई विभागले भटाभट बयानका लागि बोलाउन थालेको छ । विभागले यस्ता ४२ वटा विवादको अनुसन्धान गरिरहेको छ । तर अधिकांश रजिस्ट्रेस्न दस्तुर/पुँजीगत लाभकर छल्न मूल्य कम देखाएर जग्गा र सेयर कारोबार गर्नेहरू छन् । कर छल्न थुप्रैले गर्ने यस्ता कसुर सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विशेष खालको कानुनको दायरामा पर्न थालेपछि मन्त्रालयभित्र बहस सुरु भएको छ । एक थरीले ऐनको अवधारणा/ मकसद अपराधजन्य क्रियाकलापबाट आर्जित सम्पत्तिलाई कानुनी कारबाहीबाट जोगाउने क्रियाकलाप नियन्त्रण गर्नु मात्र भएकाले कर दस्तुर छल्ने प्रयासलाई यसअन्तर्गत ल्याउन नहुने तर्क गरिरहेका छन् । अवैध हातहतियार, लागू औषधको कारोबार तथा आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्ति शुद्धीकरण हुन नदिने उद्देश्य/अवधारणाअन्तर्गत विश्वव्यापी अभियान चलाउन थालिएको उनीहरूको तर्क छ ।

तर अर्का थरीले भने ऐनको दायरामा पर्न सक्ने सबैलाई सम्पत्ति शुद्धीकरण निवारणमै कारबाही गर्नुपर्ने भनिरहेका छन् । कर छलीको सम्पत्ति ऐनको दायरामा परेको जनाउँदै उनीहरूले व्यावहारिक कुरा हेर्ने होइन ऐनले कसुर मानेका सबैलाई कारबाही गर्नुपर्छ भनेर जिकिर गरिरहेका छन् । 'मन्त्री र सचिव नै यस्तो क्रान्तिकारी कुरा गरिरहेका छन्,' मन्त्रालयसम्बद्ध स्रोतले भन्यो ।

ऐनअन्तर्गत कारबाही चलाएमा स्रोत नखुलेको सबै सम्पत्ति जफत हुनेछ । यस्तो अवस्थामा १ करोड रुपैयाँमा जग्गा बिक्री गरे पनि ५ लाख रुपैयाँको कागज बनाएका कारण तामाङले ९५ लाख रुपैयाँ गुमाउनुपर्ने छ । 'तामाङले पुख्र्यौली सम्पत्तिबाट अंशबन्डामार्फत उक्त जग्गा पाएको देखिन्छ,' अर्थकै अर्का एक उच्च अधिकारीले भने, 'यस्ताको सम्पत्ति जफत गर्नु भनेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विश्वव्यापी मान्यता विपरीत हो ।' छलेको रजिस्ट्रेशन दस्तुर वा पुँजीगत लाभकर तिरेर बाँकी रकम उनले भोगचलन गर्न पाउनुपर्ने जिकिर गरे ।

अहिले नीतिगत निर्देशन दिने मन्त्रालय, अनुसन्धान गर्ने विभाग, मुद्दा चलाउने सरकारी वकिल र फैसला गर्ने न्यायाधीश नै सम्पत्ति शुद्धीकरण सम्बन्धी अवधारणामा अनभिज्ञ भएको कारण एक थरी कसुर गर्नेले अर्को कसुरअन्तर्गत सजाय पाउने अवस्था आएको अधिकारीहरू बताउँछन् ।

२०६६ असारमा ३ लाख रुपैयाँ बोकेर चीन जान लागेको अवस्थामा विमानस्थालमा पक्राउ परेका मीन बहादुर घलेलाई हालै काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको ठहर्‍याई पैसा जफत गर्ने निर्णय गरेको थियो । घलेले व्यापारिक प्रयोजनका लागि सामान खरिद गर्न जान लागेकाले र्फकंदा भन्सारमा राजस्व तिर्न सजिलो होस् भनेर पैसा लैजान लागेको जिकिर गरेका थिए ।

विभागले अनुसन्धान गरिरहेको अमेरिकास्थित चेज मोर्गन बैंकबाट नेपाल बैंक बंगलादेश बैंकमार्फत भित्रिएको १० लाख डलरको विवादचाहिँ ऐनअन्तर्गत कारबाही चलाउन पर्ने खालको देखिएको मन्त्रालय सम्बद्ध स्रोतले जनायो । यसरी पैसा ल्याउने उली चाङ विरुद्धको अनुसन्धान चाँडै पूरा हुने जनाइएको छ ।

यस्तै अमेरिका बस्ने पंकज जोशीले चिठ्ठा परेको ३ लाख डलर नेपाल पठाएको विवादको अनुसन्धान अन्तिम चरणमा छ । उनले पठाएको मध्ये २ लाख ९० हजार डलर पि|mज गरे पनि जोशी फेला परेका छैनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks