अमेरिका,, आश्विन २९ -
संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनले सन् २०११ जनवरी १४ मा नेपालबाट बिदा लिए पनि नेपाल शान्ति प्रक्रियामा कुनै बाधा नपुग्ने संघका अधिकारीले बिहिबार बताएका छन् । अनमिनका लागि चौथोपटक थपिएको म्याद सन् २०११ जनवरी १४ मा सकिने हो ।
राजनीतिक मामलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव बि लिन पास्कोले उक्त कुरा सुरक्षा परिषदलाई जानकारी गराउँदै बताएका हुन् । पास्को एक साताअघि मात्र दुइ दिने नेपाल भ्रमण गरेर फर्केका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री विद्या भण्डारी, मधेसी मोर्चाका घटकका नेता, संविधान सभाध्यक्ष सुवास नेम्वाङ र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, प्रमुख तीन दलका शीर्ष नेताहरु तथा अन्य उच्च अधिकारीहरुलाई भेटेका थिए ।
पास्कोले परिषदलाई चाडपर्वपछि संवाद जारी रहने र निष्कर्षमा पुग्न सक्ने बताएका छन् । उनले भने– सरकार निर्माणमा लचकताको आशा गरिएको छ । माओवादि लडाकुहरुको समायोजनका लागि गर्ने काम बाँकि नै छ ।
उनका अनुसार तोकिएको समयमा अनमिनले हतियार अनुगमनको काम रोक्ने छ । अनमिनका लागि अहिले स्थानिय र विदेशी गरी २ सय कर्मचारी कार्यरत छन् ।
संघको निगरानीमा १९ हजार माओवादि लडाकु सात वटा शिविरमा बस्दै आएका छन् ।
आगामी सोमबार राष्ट्रसंघीय महासचिव बान कि मुनले सुरक्षा परिषदको बैठकमा नेपालसम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
नेपालको दोहोरो मापदण्ड
नेपाल एकातिर शान्ति प्रक्रियामा संलग्न संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनलाई फिर्ता गर्दैछ भने अर्कातिर ६६ औं राष्ट्रसंघीय महासभाको अध्यक्षमा आफ्नो उम्मेद्वारलाई जिताउन अथक बल लिएर लागिपरेको छ । राष्ट्रसंघसँग नेपालको यो दोहोरो मापदण्ड हो ।
सन् २००७ जनवरी २३ मा गठित अनमिनले २०१० जनवरी १४ मा नेपालबाट बिदा लिंदैछ । माओवादिलाई बढि काखी च्यापेको आरोप लागेपछि अनमिनले नेपालबाट फर्कने निर्णय लिएको हो ।
नेपालले आगामी महासभाका लागि अध्यक्ष पदका उम्मेदवार कुलचन्द्र गौतमलाई अघिसारेको छ । नेपालले शान्ति सेनामा ५० हजार नेपाली सेना पठाएको र ५० जनाको मृत्यु समेत भएकाले शान्ति स्थापनामा नेपालको योगदान पाँचौं स्थानमा छ । यसैलाई अध्यक्षता पाउनुपर्ने पहिलो कारणका रुपमा प्रस्तुत गरिएको छ । एसीयाका कैयन देशले अध्यक्षता गरिसकेकाले अब महासभाको अध्यक्ष बन्ने पालो दक्षिण एसियाले पाउनुपर्ने दोश्रो तर्क छ । विश्वका भूपरिवेष्ठित मुलुकले अध्यक्षता गर्न पाउनुपर्ने र त्यसका लागि नेपालको उम्मेदवारी परेको तेस्रो तर्क छ ।
संघको महासभा अक्टोबरमा सुरु हुन्छ र आवश्यकताअनुसार वर्षको अन्त्यसम्म चल्छ । सन् १९४६ मा संघको पहिलो महासभा भएयता नेपालले एकपटक पनि अध्यक्षता गरेको छैन । संघको सुरक्षा परिषदमा भने दुइ पटक प्रतिनिधित्व गरेको छ ।
आगामी महासभा बैठकका लागि नेपालविरुद्ध कतारका नासिर बिन अब्दुल्लाजिज अल नासिर उम्मेदवार छन् । चालु एक वर्षका लागि महासभा बैठकको अध्यक्षता स्वीट्जरल्याण्डका जोसेफ डाइसले गरिरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks