काठमाडौ, आश्विन २० - दसैंका लागि बुकिङ खुला भएको केही दिनमै पूर्वी भेगका बसको टिकट प्रायः सकिएको छ । टिकट लिनेको चाप बढेपछि केही व्यवसायीले बस थप गरेका छन् । तर पश्चिम भेगका बसको टिकट भने अझै नसकिएको व्यवसायीहरूको भनाइ छ । थप गरिएको गाडीहरू मुख्यगरी घटस्थापनादेखि नवमीसम्म चल्नेछन् ।
'यसपालि यात्रुको चाप बढेको महसुस गरेका छौं,' पश्चिम क्षेत्रीय एकीकृत यातायात बुकिङ तथा चेकिङ व्यवस्थापन समितिका अध्यक्ष सुमन लामाले भने, 'हामी यात्रुलाई कष्टकर यात्रा गराउने पक्षमा छैनौं, गाडी थपेर भए पनि आरामदायी यात्रा गराउनेछौं ।'
उनले पश्चिम क्षेत्रका लागि थप गरिएका गाडीमा पनि सिट भरिन लागेको बताए । '३० प्रतिशतजति बाँकी छ,' उनले भने । उनले त्यो सिट पनि प्याक भई थप माग भए गाडी थप्न आफूहरू तयार रहेको बताए ।
राजधानीबाट नारायणी पश्चिममा दैनिक १ सय ८० देखि २ सय बस सञ्चालित छन् । लामाले २ हजारभन्दा बढी गाडी आफूसँग रहेको जानकारी गराए । पश्चिम क्षेत्रका लागि ५ गतेदेखि बुकिङ खुला गरिएको थियो ।
समितिले दसैंमा जाने यात्रुको सुविधाका लागि गाडीको व्यवस्थापन र जानुअघि जाँच गर्न २० स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवकले गाडीमा टिकट काटेका यात्रु छन/छैनन्, मुडामा बस्नुपरेको छ कि जस्ता सुविधा चेकजाँच गरेपछि मात्र गोंगबु बसपार्कबाट गाडी छुट्ने गरेका छन् ।
पश्चिम भेगका लागि टिकट केही बाँकी रहे पनि राजधानी पूर्व जाने गाडीका भने अधिकांशको सकिएको छ । २३ गतेदेखि २९ गतेसम्मका सबैभन्दा बढी यात्रुको चाप छ ।
दसैंका लागि भनेर गरिएको पूर्वी क्षेत्रको बुकिङ ९० प्रतिशतभन्दा बढी सकिएको यातायात सम्वद्ध व्यक्तिहरूले जनाकारी गराए । व्यवसायीले आपतकालीन रूपमा केही सिट राखे पनि अहिले टिकट किन्न बस काउन्टर पुग्ने पूर्वी भेगतर्फ जानेले टिकट पाउन गाह्रो छ । केही व्यवसायीहरूले पछाडि र अगाडिका सिट बाँकी रहेको बताएका छन् ।
दसैंमा एकैपटक हजारौं मानिस राजधानीबाट बाहिरिन्छन् । यस अवधिमा अन्य बेलामा भन्दा दोब्बर गाडी बाहिरिने गरेका छन् । पूर्वी क्षेत्रका लागि टिकट बुकिङ खुला गरेको एक/दुई दिनमै सजिलो र पायक पर्ने सिटको टिकट सकिएको थियो ।
अग्नि यातायात इन्चार्ज अजय शर्माका अनुसार असोज ५ मा बुकिङ खुला गरेको एक सातामै टिकट लगभग सकिएको बताए । उनले गाडी थपेर भए पनि यात्रुलाई सुविधा दिने योजना रहेको बताए । '२० गतेदेखि गाडी थप्ने योजनामा छौं,' उनले भने, 'संभवतः दैनिक दुई वटा गाडी थपिन्छ ।'
अग्नीले पोखरा, मलंगवा, जनकपुर, विराटनगर, गाईघाट, झापालगायत १० स्थानमा बस सञ्चालन गरिहेको छ । त्यसमा ८० प्रतिशत सिट बुकिङ भइसकेको उनले जनाए । 'अहिले पहिलेका दसैंमा भन्दा कम रुटमा हामीले बस सञ्चालन गरिरहेका छौं,' शर्माले भने, 'पहिले २२ वटासम्म रुटमा बस सञ्चालन गरेका थियौं ।' उनी बैंकले बस किन्नका लागि ऋण दिन पनि कडाइ गरेकाले थप्न नसकिएको बताए ।
मितेरी यातायाले अहिले झापामा दैनिक दुई वटा बस थपे पनि प्रायः सबै टिकट बुकिङ भइसकेको जनाएको छ । ३१ वटा गाडी भएको मितेरीले १५ रुटमा गाडी सञ्चालन गरिरहेको जनाएको छ ।
'हामीले पोहोरको भन्दा ११ वटा बस थपेका छौं,' मितेरीका सञ्चालक ऋषि श्रेष्ठले भने, '२१ देखि ३० गतेसम्मका बसको सिट प्रायः सकिएको छ ।'
दसैका लागि बुकिङ खुला गरेको दिन उनका कलंकी काउन्टर अगाडि टिकट किन्न आउनेको ठूलो भीड लागेको थियो । 'पहिलो दिन बिहानै ठूलो भीड लागेको थियो,' उनले भने, 'त्यस दिन भीड व्यवस्थापन गर्न प्रहरी परिचालन गर्नुपर्यो ।'
जनकपुर पूर्वका लागि गाडी थप गरेको मकालु यातायातले दसैंका लागि भनेर भद्रपुर र धरानका लागि गाडी थपेको छ । १० वटा रुटमा बस चलाएको मकालुका इन्चार्ज प्रमुख अर्जुन थापाले बताए । 'सिट दोहोरिएला भनेर हामीले केही सिट राखेका छौं,' उनले भने । मकालुले ३ गते बुकिङ खुला गरेको थियो ।
'३/४ दिनमा प्रायः सिट प्याक भइसकेको थियो,' उनले भने, 'मकालुले ९ वटा भल्भो डिलक्स पनि सञ्चालन गरेको छ ।' काँकडभिट्टा, धरान र विराटनगरमा सञ्चालन हुने यसको टिकट शुल्क अन्यभन्दा २० प्रतिशत बढी छ । 'खाना र पानीको सुविधा भएको यो आरामादायी पनि छ,' उनले भने, 'यसमा पनि टिकट सकियो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks