पोखरा-, आश्विन २८ - जन्मँदा हत्केलाले समाउन सकिने, हेर्दा कुखुराको अन्डाजस्तो आकारका थिए खगेन्द्र थापा मगर । जन्मेको तीन दिनसम्म दूध चुस्न नसकेपछि आमा धनकलाले दूधको थोपा-थोपा खुवाएकी थिइन् । 'चार वर्षसम्म नबढ्दा बाँच्ला भन्ने लागेको थिएन,' धनकलाले भनिन्, 'आज ऊ बाँचेनमात्र, हाम्रा लागि वरदानै भयो ।'
बिहीबार गिनिज बुकमा विश्वकै होचा व्यक्तिको नाम लेखाउन लागेका खगेन्द्र अहिले देश/विदेशमा चर्चाका पात्र भएकोमा उनको परिवार निकै दंग छ । छोराको कारण दुर्गम गाउँका मगर दम्पती अहिले देश/विदेश घुम्न पाएकोमा निकै खुसी छन् । 'बचाउन गाह्रो भएको मान्छे, अहिले देशकै नाम राख्न सफल भयो,' बाबु रूपबहादुरले भने, 'यसमा निकै गौरव लागेको छ ।' होचो भएर सधैंभर स्याहार्दै बस्नु पर्छ कि भन्ने लागेकोमा अहिले देश/विदेशमा उचाइ माथि पुर्याउने पात्र बनेर हामी नै उसका पछि लाग्ने अवस्था आउँदा निकै खुसी लागेको दम्पत्तीले बताए ।
खगेन्द्रको चर्चाले उनको पारिवारिक अवस्थामा पनि परिवर्तन ल्याइदिएको छ । गाउँमा खेती, किसानी गर्दै जीविका चलाउनुपर्ने अवस्थाको परिवार अहिले पोखरामा बस्न थालेको
छ । गाउँमा ६ महिना पनि खान नपुग्ने जमिन छ । ज्यालामजदुरी गरी जीविकोपार्जन गथ्र्यो परिवारले । 'गाउँमा निकै दुःख गर्नुपथ्र्यो तर यहाँ अहिलेसम्म हातमुख जोर्ने समस्या छैन,' रूपबहादुरले भने, 'भोलि के हुन्छ थाहा छैन ।' खगेन्द्र्रको स्थायी घर बागलुङको धुल्लुबाँस्कोट-६ उल्लेरी
हो । खगेन्द्रका बाबु अहिलेसम्म बेलायत, अमेरिका, इटालीलगायत ५ देश घुमिसकेका छन् भने आमा मुलुकभित्रकै विभिन्न जिल्ला पुगिसकेकी छिन् । 'गाउँबाट बाहिर निस्कने अवस्थै थिएन,' रूपबहादुरले भने, 'छोराकै कारण आज ठूला र विकसित देशमा घुम्ने अवसर पाएँ ।' सुरुमा खगेन्द्र राम्रोसँग नबढ्दा चिन्तित उनीहरू अहिले भने सबैतिर खगेन्द्रको चर्चा भएर नाम विश्वभर फैलिँदा निकै आनन्द आउने बताउँछन् ।
मगर परिवार अहिले मासिक ५ हजार रुपैयाँ तिरेर सिर्जनाचोकको एक भाडाको सटरमा बस्दै आएका छन् । उनीहरूलाई खगेन्द्र थापामगर प्रतिष्ठानले मासिक ४ हजार दिँदै आएकोमा आर्थिक अभावले अहिले एक हजार ५ सय रुपैयाँमा झारेको छ । अन्य खर्च विभिन्न मेला महोत्सवमा प्रदर्शनी गरेर उठेको रकमले चलेको छ । 'पैसा जम्मा गर्नभन्दा पनि गिनिज बुकमा नाम लेखाउने कामलाई प्राथमिकता दिएका छौं,' दम्पतीले भने, 'जीविकोपार्जन चल्दै गर्छ ।'
उनीहरूका दुईमध्ये खगेन्द्र जेठा हुन् । कान्छा महेश बाराही उमाविमा ७ कक्षामा पढ्छन् ।
खगेन्द्रको बोली तोते छ भने लबाइखबाइ, हिँडाइ, खेलाइ सबै ठ्याक्कै दुई-तीन वर्षको बच्चाको जस्तै देखिन्छ । पहिलोपटक देख्नेले उनलाई दूधेबालक पनि भन्छन् । तर उनी बिहीबार १८ वर्ष पुग्नेछन् ।
खगेन्द्र बिहान ८ बजेतिर मात्र उठ्छन् । शौचालय गएर फर्केपछि साबुनपानीले हातमुख धुन्छन् । चिया खान्छन् । एकछिन् साथीभाइसँग
खेल्छन् । खाना खान्छन् । विद्यालय जाने क्रम उनको नियमित छैन । बेलुकी
भने १० बजेसम्म बस्छन् । उनी पोखराको सरस्वती बोर्डिङ स्कुलका एलकेजीमा पढ्छन् । तर विद्यालय भने नियमित छैन ।
उनी सफासुग्घर रहिरहन मन पराउँछन् । साथीभाइ नभए एक्लै खेलिरहन्छन् । कसैसँग झगडा गर्दैनन् । कहिलेकाहीं बिहे गर्छु भनेर पनि जिस्किन्छन् ।
प्रमाणपत्र आज
यसैबीच खगेन्द्रको अन्तिम स्वास्थ्य परीक्षण गरिएको छ । बिहीबारबाट १८ वर्ष पूरा हुन लागेका उनलाई होचा व्यक्तिको प्रमाणपत्र दिन गिनिज बुक अफ दि वल्र्डको टोली मंगलबार यहाँ आइसकेको छ ।
खगेन्द्रको यहाँस्थित फेवासिटी अस्पतालका बालरोग विशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले स्वास्थ्य परीक्षण गरेका हुन् । 'अन्तिमपटक उचाइ, तौल, हातखुट्टाको लम्बाइलगायत बाहिरी अंगको परीक्षण भयो' खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले भने, 'डाक्टरको प्रतिवेदनका आधारमा गिनिज बुकमा दर्ता हुनेछ ।' डाक्टर न्यौपानेले ५ वर्षदेखि निःशुल्क रूपमा खगेन्द्रको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । खगेन्द्रको ५७ सेन्टिमिटर
उचाइ र ६ केजी तौल रहेको सार्वजनिक हुँदै आएको छ । प्रतिष्ठानका अध्यक्ष रानाका अनुसार डाक्टरको प्रतिवेदन बुधबारै लन्डनस्थित गिनिज बुक
अफदी वल्र्डको प्रधान कार्यालयमा पठाइएको छ । 'बिहीबार बिहान १० बजेसम्म लन्डनबाट निर्णय आउने र त्यसैका आधारमा प्रमाणपत्र दिइने कार्यक्रमको तयारी भइरहेको छ,' रानाले भने । आन्तरिक भन्दै सञ्चारकर्मीलाई खगेन्द्रको परीक्षणको तस्बिर खिच्न भने दिइएन । अहिले पोखरामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारकर्मीको ठूलो उपस्थिति छ ।
स्वास्थ्य परीक्षण तथा विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोको नेतृत्वमा बेलायतस्थित गिनिज बुक अफ दी वल्र्डको प्रधान कार्यालयबाट एक टोली यहाँ आएको हो । बुकमा नाम दर्ता गराउन १८ वर्ष पुग्नुपर्ने व्यवस्था छ । खगेन्द्रको जन्मदिन असोज २८ मा पर्ने भएकाले भोलिबाट १८ वर्ष पुग्ने र उनले औपचारिक प्रमाणपत्र पाई विश्वकै
होचा व्यक्तिको रूपमा दर्ज हुने रानाले बताए । खगेन्द्रलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
गिनिज बुकमा नाम लेखाउन १५४८९४ को दर्ता नम्बर पाएका खगेन्द्र पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन वर्ष २०११ का लागि सद्भावना राजदूतसमेत घोषित भइसकेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks