गंगा बीसी
काठमाडौ, कार्तिक ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि शुक्रबार चीन जाने भएका
छन् । भ्रमण क्रममा उनले सांघाईमा आयोजना हुने एक अन्तक्रिर्यामा 'विशेष' सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
माओवादी सेनाका इञ्चार्जका साथै सैन्य कमान्डरसहित १० जना 'सुटुक्क' चीन भ्रमण गरी स्वदेश फर्किएको भोलिपल्टै दाहाल त्यता जान लागेका हुन् ।
सांघाई एक्सपोमा सहभागी हुने क्रममा उनले चिनियाँ उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ । माओवादीले भने यो राजनीतिक भ्रमण नभएको बताएको छ । एक्सपोमा सहभागी भएका चिनियाँ अधिकारीसँग चाहिँ भेटवार्ता हुने माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जनाए ।
'यो राजनीतिक भ्रमण होइन,' उनले कान्तिपुरसँग भने, 'सांघाई एक्सपोमा आएका चिनियाँ अधिकारीसँग भने कुराकानी हुनेछ ।' त्यहाँ चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेट हुने सम्भावना रहेको माओवादीले जनाएको छ ।
दाहालसँग विदेश विभाग प्रमुख महरा, पोलिटब्युरो सदस्य अग्नि सापकोटा, स्वकीय सचिव समीर दाहाल र उनका एक अंगरक्षक जाने तय भएको छ ।
उनले सांघाईमा एक अन्तक्रिर्यामा 'विशेष' सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि माओवादी उच्चस्तरीय टोली बेइजिङ जाने कार्यक्रम छ । महराले बेइजिङमा राजनीतिक भेटघाट नहुने जनाए ।
'बेइजिङमा राजनीतिक भेटघाट छैन,' उनले भने, 'भ्रमण मात्र हुन्छ ।'
सांघाईमा हुने अन्तक्रिर्यामा सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान हु, जर्मनीका पूर्वचान्सलर ग्रेहार्ड स्रोडर, वातावरणविद् अछिम स्टेनर, अन्तर्राष्ट्रि्रय रेडक्रसका प्रमुख ज्याकोब केलेनवर्गर, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, लन्डनका मेयर बोरिस जोह्नसन, पाकिस्तानका पूर्वप्रधानमन्त्री सौकात अजिज, सान प|mान्सिस्कोका मेयर गेभिन न्युजन, सिटी बैंकका सल्लाहकार रोबर्ट लरेन्स कुह्न आदिसँगै माओवादी अध्यक्ष दाहाल अन्तक्रिर्यामा सहभागी हुनेछन् ।
यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जुँवा अन्टोनियो सामारान्च, हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेडग्येसे, जापानका पूर्वविदेशमन्त्री कोमुरा मासाहिको, अमेरिकी कम्पोजर क्विन्सी जोन्स, नोबल पुरस्कार विजेता अर्थशास्त्री रोबर्ट जोन अउमान, अर्का नोबेल विजेता रसायनशास्त्री मारियो मोलिनालगायत प्रतिष्ठित व्यक्तिहरू त्यहाँ सहभागी हुने चीनले जनाएको छ ।
पछिल्लो समयमा माओवादी नेताको बाक्लो चीन भ्रमण हुन थालेकाले राजनीतिक र कूटनीतिक क्षेत्रमा चासोपूर्वक हेरिएको छ । दाहाल जानु अघिल्लो दिन माओवादी सेनाका इञ्चार्जका साथै सैन्य कमान्डरसहित १० जना चीन भ्रमण गरी स्वदेश फर्किएका छन् । स्रोतका अनुसार उनीहरूले पनि चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नुका साथै चीनका चार प्रान्तको भ्रमण गरेका थिए ।
सैन्य इञ्चार्ज वर्षमान पुन, सेना समायोजन तथा विशेष समिति सदस्य जनार्दन शर्मा, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, डिभिजन कमान्डरहरू तेजबहादुर ओली, महेन्द्र शाही, सुकबहादुर रोका, यमबहादुर अधिकारी र उनीहरूका एक/एक सहयोगीले बेइजिङ, सांघाई, हुनान, सिन्चुवान र गोञ्जाओको भ्रमण गरेका थिए । भ्रमणमा पुनपत्नी एवं सभासद ओनसरी घर्ती पनि सहभागी थिइन् । उनीहरूले असोज २८ देखि कात्तिक ५ गतेसम्म भ्रमण गरेका थिए ।
माओवादी नेता र कमान्डरहरूको भ्रमण पार्टीगत नभएको महराले जनाए । 'नेता र कमान्डरहरूको भ्रमण निजी हो,' उनले कान्तिपुरसँग्ा भने, 'निम्तामा भएको होइन । यसलाई राजनीतिसँग जोडेर हेर्न मिल्दैन ।'
दाहालको यो भ्रमण गत चैतमा तय भएको थियो । उनको यो तेस्रो चीन भ्रमण हो । यसअघि २०६६ असोज अन्तिम साता दाहाल, महराले चीनमा उच्च तरीय राजनीतिक भ्रमण गरेका थिए । त्यसबेला उनले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग जिनामा लामो वार्तासमेत गरेका थिए । दाहालले चिनियाँ कम्युनिस्ट पार्टीसँगका नेतासँग विभिन्न चरणमा दुई पार्टीको सम्बन्ध र दक्षिण एसियाको राजनीतिबारे अन्तक्रिर्या गरेका थिए ।
प्रधानमन्त्री भएलगत्तै २०६५ भदौमा दाहाल बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन चीन गएका थिए । त्यसबेला पनि उनले सरकारको तर्फबाट राष्ट्रपति हु लगायतसँग भेट गरेका थिए ।
२०६६ असोजमा भएको भ्रमणमा भने राष्ट्रपति हुले चीन नेपालको बलियो शक्तिको पक्षमा रहेको बताएका थिए । त्यसबेला उनले माओवादीतर्फ संकेत गर्दै चीन नेपालमा शान्ति, स्थिरता र प्रगतिको पक्षमा रहेको बताएका थिए । साथै उनले नेपालमा स्थायी शक्तिको आवश्यकता रहेको बताएका थिए । त्यसबेला राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा चीनले दाहाललाई विशेष अतिथिको सम्मान दिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks