Loving nepal news

Wednesday, October 6, 2010

एउटा मित्रता साँझ

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन २१ - सबै नेपाली बाजा एकपटक बजाउँदा कस्तो सुनिन्छ होला ? बुधबार साँझ राजधानीस्थित रुसी सांस्कृतिक केन्द्रमा भेला भएका नेपाली र रुसीहरूले साँच्चिकै समावेशी संस्कृतिको स्वाद लिए । विश्वका विभिन्न मुलुकमा रुसी सांस्कृतिक केन्द्र स्थापना भएको ८५औं वर्षगाँठ मनाउन आयोजना गरिएको सांस्कृतिक प्रस्तुतिमा नेपाल फोकलोर फाउन्डेसनका कलाकारहरूको प्रस्तुति रोचक थियो ।

हिमाली संस्कृति झल्काउन मञ्चमा शेर्पा समुदायको लोकनृत्य स्याब्रु पस्किरहेको बेला पछिल्तिर अन्य कलाकारले भने मादल, हार्मोनियम, सारंगी, बाँसुरी, धिमे, खैंचडी बजाइरहेका थिए । स्याब्रुमा यी कुनै पनि बाजा बजाइँदैन । टुंगना बजाउँदै नाचिने

स्याब्रुमा यी बाजा मिसाइनुलाई धेरैले नेपाली सांस्कृतिक विविधता र समावेशीपनको रूपमा बुझे ।

स्याब्रुपछि पस्किएको पहाडी संस्कृति झल्काउने कौरा नृत्यमा पनि यी सबै बाजा मिसाइएको थियो । प्रत्यक्ष संगीत दिइएको प्रस्तुतिमा बेबिलोन स्कुलका किशोरीहरूको नृत्य लोभलाग्दो थियो । उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको कार्यक्रमको सुरुवात भने सुकर्म ब्यान्डको सांगीतिक प्रस्तुतिबाट भएको थियो । यसपछि नेपाली पियानो वादक उपेन्द्रलालसिंह डंगोलले दुइटा प्रस्तुति पस्के । हालै 'उपेन्द्र अन पियानो' नामक धुनहरूको संगालो निकालेका उपेन्द्रले रुसी-नेपाली जमघटलाई तताउन 'म मरे पनि मेरो देश बाँचिरहोस्...' राष्ट्रिय भावको धुनबाट थालेर 'जति माया लाए पनि, जति कसम खाए पनि...' प्रेमभावको प्रस्तुतिमा टुंग्याएका थिए ।

रुसबाट गितारमा स्नातक गरेर फर्केका प्रशान्त पोखरेलको गिटार प्रस्तुतिले नजिकै आएको दसैंको झल्को दिन्थ्यो । दुइटा मिक्स र पश्चिमी धुन बजाएपछि उनले मालश्री पस्के । गितारको तार खेलाउँदै मालश्री धुन निकालिरहँदा पछिल्लो पंक्तिमा बसेका बेबिलोनका विद्यार्थीहरू 'हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा...' भन्दै मालश्री गुन्गुनाइरहेका थिए ।

यसपछि प्रस्तुत भएका शिशिर योगीले भने केही राजनीतिक विसंगतिका सन्दर्भसहितको गीत 'खै कहाँ बग्यो मेलम्ची पानी था' छैन भन्दिनु, धेरै दिन भयो एकमुठी पानी खा' छैन भन्दिनु...' गाए । उनका गीत सुन्दै गर्दा दर्शकले भने झन्डै एक दर्जनपटकको निर्वाचनमा पनि प्रधानमन्त्री छान्न नसक्ने नेपाली राजनीतिको दुर्भाग्यदेखि आश्वसन र विकासे सपना बाँड्ने प्रवृत्तिसम्म सम्झे । 'हो, यो गीतले अलिक राजनीतिक व्यंग्य पनि गरेको छ,' नयाँ एल्बम 'मोड मोडमा'को अन्तिम तयारीमा जुटिरहेका योगीले भने, 'गीतमा भोग्ााइको कुरा हुन्छ भने, यो हाम्रै समाजले व्यहोरेको तीतो भोगाइको गीत हो ।'

शिशिरपछि पुनः नृत्यहरू प्रस्तुत गरिए, जसमा नेपाली साँस्कृतिक विविधताको झल्को मिल्थ्यो । दुईतर्फी सांस्कृतिक आदान-प्रदानको ध्येयले विश्वका विभिन्न मुलुकमा स्थापित रुसी सांस्कृतिक केन्द्रको जन्मदिवस अवसरमा आफूलाई निकै खुसी लागेका बताउँदै रुसी राजदूत आन्द्रई त्रोफिमोभले यस्ता कार्यक्रमले भावनात्मक एकतालाई बलियो बनाउने बताए । काउन्सिलर स्तानिस्लाभ सिमाकोभले सही थप्दै भने, 'सांस्कृतिक सम्बन्धको साइलो निकै बलियो हुन्छ ।'

दुईघन्टे सांस्कृतिक कार्यक्रमका क्रममा नेपाली प्रस्तुतिलाई मन पराएर ताली बजाउनेमा धेरैजसो रुसी नागरिक थिए । केहीले भने नेपालीसँगै रुसी कलाकार पनि उभ्याइएको भए कार्यक्रम झन् राम्रो हुने टिप्पणी गरे ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks