Loving nepal news

Monday, October 4, 2010

अपहरणपछि निर्मम हत्या * अर्का विद्यार्थीको अवस्था अज्ञात

जे पाण्डे

नेपालगन्ज, आश्विन १९ - पाँच दिनअघि अपहरित एउटै स्कुलका दुई विद्यार्थीमध्ये अपहरणकारीले एक जनाको निर्मम हत्या गरेका छन् । एकको अवस्था अझै अज्ञात छ ।

बेलासपुरबाट साइकलमा घरतिर र्फकंदै गर्दा अपहरित जयवागेश्वरी उच्चमावि कक्षा १० मा अध्ययनरत १६ वर्षीय लीलाधर भट्टको हत्या गरिएको हो । घाँटी काटेर दुई टुक्रा पारिएको उनको शव कारकोदो-७ स्थित सीप विकास तालिम केन्द्रनजिकै धानखेतमा प्रहरीले सोमबार फेला पारेको हो ।

उक्त उच्चमाविमा ९ कक्षामा अध्ययन गर्ने सँगै अपहरित १५ वर्षीय कपिल द्विवेदीको अवस्था अझै अज्ञात छ । हत्या गरिएका र बेपत्ता विद्यार्थीको घरपरिवार र गाउँमा रुवाबासी छ ।

दैलेखबाट नेपालगन्जमा पढ्न आएका भट्ट आमासँगै नगरको भट्टीटोलस्थित कपिलको फूपूको घरमा डेरा गरी बस्दै आएका थिए । १४ गते स्कुलबाट घर आएका लीलाधर र कपिल एउटै साइकलमा धम्बोजीतिर घुम्न निस्केर र्फकंदा अपहरणमा परेका हुन् । कसले अपहरण गरेको हो भन्नेबारे केही जानकारी नभएको पीडितका परिवारले बताएका छन् ।

अपहरणकारीले १५ र १६ गते ९७२८१६६३०८ नम्बरको फोनबाट कपिलकी आमा रिचालाई दुई पटक ५० लाख रुपैयाँ फिरौती माग गर्दै नदिए छोरालाई जे पनि गर्न सक्ने धम्की दिएका थिए ।

'छोराको माया छ कि छैन ? माया छ भने ५० लाख जम्मा गर भन्दै धम्क्याए,' परिवारिक स्रोतले भन्यो, 'पहिले ५० लाख मागे पनि पछि २० लाख रुपैयाँ माग्न थालेका थिए ।' अपहरित विद्यार्थीको परिवार आर्थिक स्थिति सामान्य भएकाले त्यति धेरै रकम दिन नसक्ने अवस्थाका छन् । अपहरणकारीले फोनबाट परिवारलाई प्रहरी र पत्रकारलाई खबर नगर्न धम्की दिएका थिए ।

तर अपहरितलाई मार्न सक्ने त्रासका कारण आफन्तले प्रहरीलाई समेत जानकारी दिएका थिएनन् । 'परिवार र आफन्तले नबताए पनि दुई दिनपछि बाहिरबाटै सूचना पायौं,' जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले भने, 'सोमबार फोन सूचना आएपछि प्रहरी नै गएर शव फेला पारेको हो ।'

हत्या गरिएका विद्यार्थी लीलाधर जाजरकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक दिनकरदेव भट्टका छोरा हुन् । सम्साँझै व्यस्त सडकबाट अपहरण गरी विद्यार्थीको हत्यापछि उक्त क्षेत्रका बासिन्दा त्रसित र आतंकित बनेका छन् । कपिलका परिवार र आफन्त खुलेर बोल्नसमेत सकेका छैनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks