जनकपुर, कार्तिक १४ - प्रधानमन्त्री माधवकुमार नेपालले एउटै कुर्सीका तीन जना दावेदार भएका कारण मुलुकमा राजनीतिक संकट झन गहिरिंदै गएको बताएका छन् । 'कुर्सी एउटै छ, यसलाई तीन तिरबाट तानिदै छ, यस्तो अवस्थामा कोही पनि बस्न सक्दैनन्', प्रधानमन्त्री नेपालले भने ।
पार्टीनिकट अनेरास्ववियुको बिसौं राष्ट्रिय सम्मेलनबाट चयन भएका नयाँ नेतृत्वलाई धन्यवाद दिन आइतवार जनकपुर आएका प्रधानमन्त्री नेपालले तीन दलबीच त्यागको भावना नआएसम्म राजनीतिक समस्या समाधान नहुने दाबी गरे ।
उनले भने, 'संविधान लेखन, सरकार निर्माण तथा शान्ति प्रक्रियासहितका समस्याहरु समाधान गर्न तीन दलबीच गंभीरता र इमानदारिता, संवाद तथा विश्वासको आवश्यकता छ, तीन ठुला दल मिल्नुको विकल्प छैन ।'
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलको अध्यक्षतामा सम्पन्न धन्यवाद सभामा एमाले छात्र फाँटका संयोजक गोकण बिष्ट, पोलिटव्युरो सदस्य पशुपति चौलागाई, नवनिर्वाचित सचिव सरोज यादवसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
यसअघि एमाले जिल्ला कार्यालयमा संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री नेपालले हालसम्म वजेट आउन नसकेको कारण मुलुक आर्थिक संकटमा फस्न थालेको बताएका थिए ।
समस्या समाधानका प्रमुख वाधक माओवादी रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री चयन हुन नसकेको तथा वजेट पारित नभएको प्रमुख दोष माओवादीमाथि थुपारे ।
माओवादी सैन्य कमाण्डरहरुको विना इजाजत चीन भ्रमणबारे आक्रोशित देखिएका प्रधानमन्त्री नेपालले त्यस विषयलाई लिएर सरकार गंभीर भएको बताए ।
प्रधानमन्त्री नेपाल जनकपुरको निरन्तर बिग्रिंदो शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मञ्चबाटै स्थानीय प्रहरी प्रशासकलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन पनि दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks