महेश आचार्य
न्यूयोर्क, कार्तिक १२ - हैजा फैलिएपछि संयुक्त राष्ट्रसंघले क्यारेबियन मुलुक हैटीस्थित नेपाली शान्ति सेना रहेको स्थानबाट संकलित सबै नमूनाको परीक्षणको परिणाम 'नेगेटिभ' आएको बताएको छ ।
नेपाली शान्तिस्थापक सेनाको बेसबाट निस्किएको दिशाजन्य फोहोरका कारण हैजा फैलिएको भन्ने आरोपको घुमाउरो रुपमा खण्डन गर्दै राष्टसंघले सो जानकारी गराएको हो । हैटीस्थित मिसन मिनुस्टाले दिएको पछिल्लो विवरण उदृत गर्दै राष्टसंघीय मुख्यालयले नेपाली सेना रहेको स्थानबाट संकलित नमूनाको परीक्षणमा हैजाको जीवाणु नभेटिएको उल्लेख गरेको हो ।
नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार न्यूयोर्कस्थित राष्टसंघीय मुख्यालयमा महासचिव बान की मुनका प्रवक्ता मार्टिन नेर्सर्कीले मिनुस्टाको विवरण उदृत गर्दै भने, 'सैनिक बेसबाट संकलित नमूना तथा नदी नजिकको पानीको गत शुक्रवार भएको परीक्षणको परिणाम नेगेटिभ आएको छ ।'
उनले मंगलवार र बुधवार थप परीक्षण गरिएको उल्लेख गर्दै त्यसको परिणाम शुक्रवार आउने जानकारी पनि दिए । मिरेबलाइस भन्ने स्थानमा रहेको नेपाली शान्तिस्थापक सेनाको बेस नजिकैको मेइली नदीको स्रोतमा उक्त बेसबाट दिशाजन्य फोहोर मिसिंदा हैजा फैलिएको आरोप केही स्थानीय राजनीतिककर्मीले लगाएका छन् ।
मेइली नदी, हैटीमा हैजा फैलनुको मुख्य कारणका रुपमा ठानिएको आर्टेनाइट नदीमा मिसिने नदी हो ।
पत्रकार सम्मेलनमा नेसर्कीले नेपाली सेनाले प्रयोग गर्ने चर्पी नजिकै भएको ओभरफ्लो, भान्सा र नुहाउने कोठाबाट आएको पानी भएको बताए । 'चर्पी नजिक ओभरफ्लो भएको पानी चर्पी वा सेफ्टी ट्यांकबाट आएको होइन' उनले भने, 'भान्सा र नुहाउने कोठाको पानी निकास हुने प्वालबाट ओभरफ्लो भएकोमा मिनुस्टाका इन्जिनियरहरुले जोड दिएका छन् ।'
उक्त प्वाल, चर्पीबाट ३ मिटरमात्रै टाढा रहेकाले बाहिरबाट हेर्नेहरुलाई उक्त ओभरफ्लो, चर्पीबाट निस्किएको फोहोर जस्तो आभास भएको हुनसक्ने मिनुस्टाले जनाएको छ । उसले सैनिक क्याम्पमा दिशापिसाब लगायतका मानवीय फोहोर सातवटा सेफ्टी ट्यांकमा संकलन हुने गरी जोडिएको बताएको छ । 'क्लोज सर्किटमा ती ट्यांक जोडिएको उल्लेख गर्दै मिनुस्टाले जैविक परीक्षणपछि साताको चारपटक नीजि ठेकेदारले अर्को स्थानमा लगेर फोहोर विर्सजन गर्ने गरेको बताएको छ ।
फोहोर विर्सजन गर्ने स्थान स्थानीय नगरपालिका परिषद्ले अनुमति दिएको र अन्तरराष्ट्रिय मापदण्ड बमोजिम पानीको खुला स्रोतबाट हुनुपर्ने आवश्यक दूरीभन्दा २० गुणा पर रहेको पनि मिनुस्टाले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नेसर्कीले शान्ति स्थापना कार्यमा खटिनुअघि सबै ७ सय १० नेपाली सैनिकले आवश्यक स्वास्थ्य परीक्षण पार गरेको जानकारी पनि दिए ।
'उनीहरुको अक्टोबर ८ देखि १५ भित्र स्वास्थ्य परीक्षण गरिएको थियो' उनले भने, 'परीक्षणमा उनीहरु कसैमा पनि हैजाको जीवाणु नरहेकोमा मिनुस्टाले जोड दिएको छ ।' नेपाली शान्तिस्थापक सैनिकको दिशाजन्य फोहोरबाट हैटीमा रोग फैलिएको र नेपालमा केही समयअघि भेटिएको हैजाको जीवाणुसंग मेल खाएको समाचार केही सञ्चारमाध्यममा प्रसारण, प्रकाशन भइरहेका बेला राष्ट्रसंघको त्यस्तो प्रष्टोक्ति आएको हो ।
नेसर्कीले नेपाली बेसको दिशाजन्य फोहोर हैटीमा हैजा फैलनुको कारण हुनसक्ने भन्ने आरोपलाई राष्ट्रसंघले गम्भीर रुपमा लिएको पनि उल्लेख गरे । त्यो आरोपबीच नेपाली कम्पाउण्डभित्र इच्छुक पत्रकारहरुलाई प्रवेश दिन सम्बन्धित अधिकारीहरु तयार रहेको समेत उनले बताए । उनले भने, 'सबै इच्छुक पत्रकारहरुलाई नेपाली कम्पाउण्डमा प्रवेश दिई सरसफाई र वातावरणसम्बन्धी सबै मापदण्ड अनुसार मिनुस्टा चलेको प्रमाणित गर्न फोर्स कमाण्डर र चिफ मिसन सपोर्ट अफिसर राजी भएका छन् ।'
केही दिनयता फैलिएको हैजाका कारण हालसम्म करिब ३ सय जनाको ज्यान गइसकेको छ भने अन्य सयौं बिरामी परेका छन् । विभिन्न दश डिपार्टमेन्ट रहेको हैटीमा सबैभन्दा बढी प्रभावित आर्टिबोनाइट डिपार्टमेन्ट हो । ओयुस्ट डिपार्टमेन्ट अर्न्तर्गत पर्ने राजधानी पोर्ट ओ प्रिन्स लगायत अन्य भागमा पनि हैजा फैलनेसक्ने खतरा अन्तरराष्ट्रिय निकायहरुले औल्याएका छन् ।
करिब साढे २ लाख मानिसको ज्यान जाने गरी गत जनवरीमा गएको आमविनाशकारी भूकम्पमा बाँचेकाहरु स्वस्थ खानेपानी लगायतका आधारभूत सुविधा समेतबाट वञ्चित भई अत्यन्तै दयनीय अवस्थामा शिविरहरुमा जीवन गुजार्न वाध्य छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks