Loving nepal news

Thursday, October 28, 2010

नाचे नालाबासी


कान्तिपुर संवाददाता

काभ्रे-, कार्तिक ११ - पुरानो नेवार बस्ती उग्रचण्डी नालाका बासिन्दा मंगलबार कन्सर्टमा झुमे । बनेपाबाट हिँडेर एक घन्टामा पुगिने यो थलोका बासिन्दालाई नचाउन पुगेका थिए- सेलो गायक चन्द्रकुमार दोङ, ग्लुमी गाइज ब्यान्डका हरि कर्माचार्य र नेवारी गायक दीपक स्वप्निल श्रेष्ठ ।

जातीय सद्भाव जगाउने ध्येयले आयोजित कन्सर्टमा काभ्रेको टुकुचा, देवीटार, बनेपा, साँगालगायतका थलोबाट दर्शक भेला भएका थिए । हरि कर्माचार्यले 'पिरतीको तालमा फूल फुल्यो...', 'टाटा गाडीमा...', 'लान्छु तिमीलाई म दार्जिलिङको रेलैमा...', 'आकाशैमा चिल उड्यो फनन...' लगायतका गीत गाएर माहौल तताए ।

चन्द्रकुमार दोङले सेलो र नेपाली लोक-आधुनिक दुवै स्वादका गीतहरू गाए । उनले 'डोल्मा तिम्रो रेशमी कपाल...', 'सिरीमा सिरी...' र तामाङ सेलो गाउँदा स्टेज अघिल्तिर सबै जातजातिका दर्शकले हातेसाङ्लो बनाएर नाचेका थिए । बीचबीचमा स्थानीय कलाकारको दोहोरी गीत र नृत्य प्रस्तुत गरिएको कन्सर्टको अर्का आकर्षण थिए- दीपक स्वप्निल श्रेष्ठ । नेवारी गीतबाट नेपाली आधुनिकतिर ढल्किएका उनले दोलखाली नेवारी भाषाको 'सुनि सुनि देखु एगुन लाह -हातमा पूजाको ताली लिएर आयो...) बाट सुरु गरेर नेपाली आधुनिक 'हाँसी हाँसी डोली चढ्यौ...' मा टुंग्याएका थिए ।

स्थानीय रेडियो नमोबुद्धले आयोजना गरेको कार्यक्रममा सेलो थिएटरले जातीय एकतासम्बन्धी नाटक 'हाम्रो एउटै आागन' लाई पनि देखाएको थियो । रेडियोका स्टेसन म्यानेजर भक्त स्याङ्तानका अनुसार कन्र्सट धुलिखेल, बनेपा र पनौतीमा पनि हुँदै छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks