Loving nepal news

Tuesday, October 5, 2010

ढोका कसले ढकढकायो ?

कृष्ण ज्ञवाली

ललितपुर, आश्विन २० - अपरिचित व्यक्तिले ढोका ढकढकाए खोल्न नहतारिनुस् । लुटेरा पनि हुन सक्छन् । उपत्यका आसपासका बस्तीमा पहिलेदखि चिनेझैं ढोका ढकढकाएर लुटपाट गर्ने समूह सक्रिय भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

दसैंको मौकामा यस्तो घटना बढ्न थालेको भन्दै सजग रहन प्रहरीले सर्वसाधारणलाई सजग गराएको हो । पछिल्लो समयमा अपराधीले बेहास बनाउने औषधिसमेत प्रयोग गर्न थालेको प्रहरीको भनाइ छ ।

ललितपुर उपमहानगरपालिका-२ सानेपाकी निसिरानी साह यस्तै समस्यामा परिन् । काम परेको बहानामा घरमा आएका व्यक्तिले आग्रह गरेपछि उनले ढोका खोलिन् । ती व्यक्तिले लागूऔषध सुँघाई साहलाई बेहोस पार्न खोजे । हारगुहार गरी उनले लुटपाटका लागि आउनेमध्ये एकको आंैला टोकिदिएपछि प्रहरीले गिरोहलाई नै पक्राउ गरेको छ ।

दसैंका बेला टोल/गल्ली सुनसान हुने भएकाले समूह बनाई लुट्ने गिरोह सक्रिय भएको उल्लेख गर्दै ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिं थापाले नियन्त्रणका लागि सादा पोसाकका प्रहरी परिचालन गरिएको जनाए । 'बेहोस बनाउने औषधिको प्रयोगले चुनौती थपेको छ,' थापाले कान्तिपुरसित भने, 'सर्वसाधारण सचेत हुन जरुरी छ, घरमा आउनेबारे नबुझी ढोका खोल्दा तत्काल लागूऔषध सँुघाई बेहोस बनाउने खतरा रहन्छ ।'

पीडित साहका श्रीमान् शम्भुप्रसाद साहको उजुरीका आधारमा एक सातायता प्रहरीले गिरोहका मुख्य नाइके दीपककुमार जैसवाल, उमेश सुवेदी र सवीन दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका सबै १९ देखि २१ वर्षका छन् । उक्त समूहका फरार अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दसैंका बेला राजधानीका भित्री सडक र गल्ली सुनसान हुने भएकाले लुटपाट र चोरी बढ्छ । एकान्त ठाउँका घरहरूमा उनीहरूले पछाडिबाट सिसा फुटाउने, गि्रल र ताला काट्ने गरेको प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए । 'सकेसम्म कोठामा महत्त्वपूर्ण धनमाल नराख्नु नै बुद्धिमानी हो,' उनको सुझाव छ, 'झ्याल-ढोका पनि बलियो बनाउनुपर्छ ।'

प्रायः लुकेर चोर्नेहरूले अग्लो ठाउँमा चढ्न डोरी प्रयोग गर्छन् । उनीहरूले गि्रल काट्ने ह्याक्सो, सिसा फोर्ने हीराजडित चक्कु र कोठाभित्रका सामान तान्ने हुकयुक्त रड बोक्ने गरेको प्रहरीको भनाइ छ । सानेपामा पक्राउ परेका लुटेराको साथबाट पनि प्रहरीले लागूऔषधको बट्टा, डोरी, चक्कु र पञ्जा बरामद गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks