जितेन्द्र साह
काठमाडौं, आश्विन २५ - रकम नपुग्ने भएपछि सानेपाकी ६७ वर्षिय बुनु भण्डारीले यसपालीको दसैंमा लुगा नकिन्ने भएकी छिन् । थापाथलीस्थित खाद्य संस्थानको अञ्चल कार्यालयमा परिवारका ८ सदस्यका लागि २६ किलोग्रामको खसी किन्दै उनको रकम सकियो ।
'छोराले दिएको रकम त खसी किन्दै सकियो' संस्थानको प्रांगणमा आइतबार खसीको डोरी समाएर थचक्क बसेकी वृद्धा भण्डारीले भनिन्, 'अब अर्को दसैंमा लुगा मात्र किन्नुपर्ला ।' उनले ७ हजार ३ सय ६७ रुपैयाँमा खसी किनिन् ।
'दुई वर्षअघिसम्म ५ हजार रुपैयाँमा यो खसी आउँथ्यो,' उनले भनिन्, 'अहिले त हजार रुपैयाँको नोट सय रुपैयाँ साटेझैं खर्च हुन्छ ।' दसैंमा बढ्दो महँगीको प्रत्यक्ष असर गृहिणी, फुटपाथ व्यवसायी र डिपार्टमेन्टल पसलसम्म परेको देखिन्छ ।
अन्य सामग्रीभन्दा लुगाफाटा सस्तो भए पनि क्रेताको प्राथमिकतामा खाद्य सामग्री परेको फुटपाथे कपडा व्यवसायीहरू बताउँछन् । 'पाँच वर्षदेखि लगातार व्यापार घट्दै गएको छ,' १५ वर्षदेखि सुन्धारा चोकमा कपडा बेच्दै आएका ४० वर्षिय गोविन्द कोइरालाले भने, 'पुराना लुगा सफा पारेर लगाउँदा हुन्छ, नखाई त बाँच्न सकिन्न नि ।'
पाँच वर्षअघि सय रुपैयाँमा पाउने भेस्ट १ सय ६० रुपैयाँ मात्र पुगे पनि यसको तुलनामा खाद्य सामग्रीको मूल्य निकै बढेको छ । धादिङ नीलकण्ठ-४ का व्यवसायी कोइरालाका अनुसार अघिल्ला वर्षहरूमा दसैंको बेला दैनिक सय पिस लुगा बिक्री हुन्थ्यो । अहिले दैनिक मुस्किलले ४० भेस्ट बिक्ने गरेको उनले बताए ।
'बाटामा हिंड्नेहरूमाथि भर परेको आपmनो व्यापार त आधा घट्यो,' कोइरालाले भने । माथिल्लो तहका ग्राहकको पहुँचमा हुने डिपार्टमेन्टल स्टोरका पसलेहरूले समेत दसैं महसुस गर्न नसकिएको बताए ।
सुन्धारा, आरएनएसी, रत्नपार्क, भोटाहिटी र जमलको फुटपाथको भन्दा कम भीड न्यूरोडको विशाल बजारमा देखियो । 'बढी हुनुपर्नेमा व्यापार उस्तै छ,' विशाल बजारको आईके इम्पोरियमका सञ्चालक ईश्वर फुयाँलले भने । उनी छ वर्षदेखि लुगाफाटा र चश्मालगायतको व्यवसाय गर्दै आएका छन् ।
उनका अनुसार राजनीतिक अस्थिरतासँग देखिएको आर्थिक मन्दीले यस्तो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष मुद्रा स्फीति दर १० दशमलव ५ प्रतिशत छ ।
फुयाँलले गत वर्षको भन्दा २५ प्रतिशतले व्यापार घटेको बताए । 'भनेका बेला र भनेको ठाउँमा खर्च गर्ने गरी अधिकांशसँग रकम छैन,' उनले भने, 'धेरैको अवस्था खाने कि लाउनेझैं छ ।'
'बढ्दो महँगीले खाद्यसामग्रीमै आमउपभोक्ता बढी केन्दि्रत छन्, आयको झण्डै ७५ प्रतिशत रकम दैनिक उपभोगका सामग्रीमा खर्च हुन्छ,' उनले भने, 'त्यसपछि बचेको रकमले लुगाफाटा किन्ने सोचमा हुन्छन् ।'
न्यूरोडमा किनमेल गरेर फर्किरहेकी कोटेश्वरकी शोभा थापाले खर्च व्यवस्थापन गर्न हम्मे परेको बताइन् । '२५ हजार रुपैयाँ बजेटमा खसी, तरकारी र मिठाइँ किन्दै धेरै रकम सकियो,' उनले भनिन्, 'छोरा, श्रीमान् र आफ्ना लागि एक जोर लुगा किन्दा त हात खाली भयो ।'
बजारमा समेत लुगाफाटाभन्दा खाद्यान्न पसलमा बढी भीड थियो । गत वर्षको तुलनामा खसीको मूल्यमा वृद्धि भएको संस्थानले जनाएको छ । संस्थानका अनुसार गत वर्ष प्रतिकिलोग्राम २ सय ४० देखि २ सय ५० रुपैयाँका दरले खसी बिक्री भएको थियो । यो वर्ष प्रतिकिलोग्राम २ सय ५६ रुपैयाँदेखि २ सय ७८ रुपैयाँको दरले खसी बिक्री भइरहेको छ ।
संस्थानले १८ किलोग्राम तौलसम्मका खसीको प्रतिकिलोग्राम मूल्य २ सय ५६, त्योभन्दा माथि २५ किलोग्रामसम्मका खसीको प्रतिकिलोग्राम २ सय ७० रुपैयाँ र त्यसभन्दा माथि तौलका खसीको प्रतिकिलो मूल्य २ सय ७८ रुपैयाँ कायम गरिएको छ ।
संस्थानमा अन्य उपभोग्य सामग्री किन्नेको उत्तिकै भीड छ । संस्थानले गत वर्ष प्रतिकिलो ४६ रुपैयाँ ९० पैसाका दरले बिक्री गरेको चिनीको खुद्रा मूल्य प्रतिकिलो ६५ र थोक मूल्य ६४ रुपैयाँ पुगेको छ । त्यसैगरी २७ रुपैयाँमा पाउने सोना मन्सुलीको मूल्य यस वर्ष प्रतिकिलो ३४ रुपैयाँ र गत वर्ष ४६ रुपैयाँ प्रतिकिलोको दरले बेचिएको जिरा चामलको मूल्य ५० रुपैयाँ पुगेको छ ।
संस्थानका नायव अञ्चल प्रबन्धक सुभाषचन्द्र कोइरालाले मूल्यवृद्धिको असर उपभोक्तामा पर्नु स्वाभाविक भएको बताए । 'तर, बेलामा किनेमा बढी मूल्य तिर्न नपर्ने मनोवैज्ञानिक सोचले गर्दा पनि खाद्य सामग्री पहिलो प्राथमिकतामा परेको देखिन्छ,' उनले भने, 'बजारमा पर्याप्त खाद्य सामग्री भएकाले अचाक्ली मूल्यवृद्धिको सम्भावना छैन ।' गत वर्षको तुलनामा संस्थानले न्यून मूल्यवृद्धि गरेको कोइरालाले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks