कान्तिपुर संवाददाता
काठमाडौं, आश्विन २२ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी सत्ताका लागि मरिहत्तेमा लागेकाले सहमति हुन नसकेको बताएका छन् ।
कांग्रेसको तनहुँ-काठमाडौं सम्पर्क समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले माओवादी सहमतिका लागि अझै तयार नभई सत्ताको लागि मात्रै केन्द्रित भएको आरोप लगाए । राजतन्त्रको हाँगाबिंगा समाप्त गर्न सुरु भएको माओवादीको हिंसाको राजनीति अब गणतन्त्र आइसकेपछि कसकाविरुद्ध लक्षित हो भन्दै नेता पौडेलले प्रश्न गरे । 'राजनीतिक दल र नागरिकलाई तर्साउन हिंसाको राजनीतिको अन्त हुनुपर्छ,' उनले भने ।
यसैबीच कांग्रेस महामन्त्री प्रकाशमान सिंहले मुलुकमा सरकारविहीन अवस्था आउनुमा माओवादी र एमाले जिम्मेवार रहेको आरोप लगाएका छन् ।
कांग्रेस क्षेत्र नं ४ काठमाडौँले शुक्रबार चाबहिलमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले माओवादीले सहमति कार्यान्वयन नगरेको र एमालेले द्वैधचरित्र प्रदर्शन गरेर मुलुकलाई सरकारविहीन अवस्थामा पुर्याएको आरोप लगाए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks