काठमाडौ, कार्तिक ५ - एचआईभी संक्रमित भए पनि भाषा परीक्षामा उत्तीर्ण नेपाली कामदार कोरिया जान पाउने भएका छन् । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत भाषा परीक्षा भइसकेर स्वास्थ्य परीक्षणको समय तोकिएको अवस्थामा सरकारले हालै यस्तो निर्णय गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाका अनुसार यसपटक स्वास्थ्य परीक्षणको क्रममा एचआईभी/एड्सको परीक्षण गरिने छन् । तर यसअघि सन् २००८ मा कोरिया जानेको रोस्टर तयार गर्दा एचआईभी परीक्षण गरिएको थियो । त्यसबेला एचआईभी संक्रमित कोरिया जान पाएका थिएनन् ।
कोरियाले भदौमा लिएको भाषा परीक्षामा पास भएका व्यक्तिको स्वास्थ्य परीक्षण कात्तिक ७ गतदेखि सुरु हुँदैछ । 'संयुक्त राष्ट्रसंघको परिपत्रअनुसार हामीले यसपटक स्वास्थ्य परीक्षणमा एचआईभी परीक्षण नगर्ने भएका हौं,' सापकोटाले भने, 'संघले हालै एचआईभी संक्रमितलाई भेदभाव नगर्न परिपत्र जारी गरेको
छ ।' तर अन्य किसिमका रोगको भने परीक्षण गरिने उनले बताए । 'अन्य किसिमका सरुवा रोगको परीक्षण हुन्छ,' उनले भने, 'त्यस्ता व्यक्ति कोरिया जान योग्य हुँदैनन् ।'
आइतबारदेखि हुने स्वास्थ्य परीक्षामा भाषा परीक्षा पास भएका ४ हजार १ सय ८० कामदार सहभागी हुनेछन् । स्वास्थ्य परीक्षण १४ गतेसम्म हुनेछ ।
'हामीले दैनिक करिब ६ सय जनाको स्वास्थ्य परीक्षणको योजना बनाएका छौं,' उनले भने, 'भाषा परीक्षाको परीक्षाफल प्रकाशित गर्दाको सूचीमा पहिलो स्थानमा आउनेको सुरुमा परीक्षण हुनेछ ।' कुन व्यक्तिको परीक्षण कहाँ हुने जानकारी ग्वार्कोस्थित ईपीएस कार्यालयबाट पाइनेछ ।
स्वास्थ्य परीक्षण पाटन, टेकु, वीर र टिचिङ अस्पतालमा गरिनेछ । 'यसमा सबैभन्दा बढीको स्वास्थ्य परीक्षण टेकुबाट हुनेछ,' उनले भने, 'बीचमा कुनै अस्पतालको चाप बढी भए चाप कम भएको अस्पतालमा पनि पठाइन सकिन्छ ।' उनले सकेसम्म एकै दिनमा स्वास्थ्य परीक्षणको काम सक्ने योजना रहेको बताए ।
परीक्षण गराउन जाँदा राहदानीको सक्कल, भाषा परीक्षाको लब्धांकपत्रको प्रतिलिपि/प्रवेशपत्र, पासपोर्ट साइजको २ प्रति फोटो चाहिन्छ । स्वास्थ्य परीक्षणका लागि झन्डै ३ हजार ९ सय ५० रुपैयाँ -५५ दशमलव ६६ डलर) बुझाउनुपर्छ ।
मार्कसिट वितरण सुरु काठमाडौं- कोरियन भाषा परीक्षा पास भएकाको लब्धांकपत्र वितरण बिहीबारदेखि सुरु भएको छ ।दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत लिएको परीक्षामा पास भएका ४ हजार १ सय ८० को प्रमाणपत्र बिहीबारदेखि वितरण सुरु गरी १० गतेभित्र सबैलाई दिइनेछ । यस्तै यही १८ गतेभित्र रोजगार आवेदन फाराम भर्ने काम पनि पूरा गर्ने योजना रहेको छ । 'एकैपटक भीड नहोस् भनेर हामीले रोल नम्बरअनुसार लब्धांकपत्रको वितरण सुरु गरेका छौं,' वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने । जसमा सुरुमा ४ देखि ४ हजार ९१ रोल नम्बर भएकाको लब्धांकपत्र वितरण गरिएको हो । यस रोल नम्बरभित्र ५ सय ९७ जना पास भएका नेपाली छन् । औसत यही संख्यामा दैनिक लब्धांकपत्र वितरण गरिनेछ । लब्धांकपत्र लिने जानेले परीक्षाको प्रवेशपत्र र नागरिकता वा राहदानीको सक्कल लिएर जानुपर्छ ।
प्रहरी रिपोर्ट, स्वास्थ्य परीक्षण रिपोर्ट, भाषा परीक्षाको लब्धांकपत्र, कम्तीमा एक वर्षको समय भएको राहदानीको रंगिन फोटोकपीसहित कामदारले रोजगार आवेदन फाराम भर्नुपर्छ । रोजगार आवेदन फाराम वितरण र दर्ताको काम १२ गतेदेखि सुरु गरी १८ गतेसम्म सक्ने योजना छ । यसका लागि ग्लोबल बैंकको काउन्टरमा ५ अमेरिकी डलर -३ सय ५५ रुपैयाँ) बुझाउनुपर्छ ।
महानिर्देशक सापकोटाले राजधानी बाहिरबाट आउने धेरै बस्नु नपरोस् भनेर छिटो काम सक्न लागेको बताए । आवेदन फाराम भरेपछि तयार गरिने रोस्टरमा रहने व्यक्ति कोरिया जान योग्य हुनेछन् । तर उनीहरूले कोरियामा रोजगारी पाउने निश्चित भने हुँदैन ।
नेपाली युवामाझ लोकपि्रय बनेको कोरियाको रोजगारीका लागि यसपटक भाषा परीक्षामा ३६ हजार १ सय ८१ जना सहभागी भएका थिए । जसबाट सबैभन्दा बढी अंक ल्याउने ४ हजार १ सय ८० पास भएका हुन् । भाषा परीक्षा भदौ १२ र १३ गते भाषा परीक्षा भएको थियो । यसअघि सन् २००८ मा करिब ३० हजार भाषा परीक्षामा सहभागी भएकामा ६ हजार ५ सय ८० जना पास भएका थिए ।
दक्षिण कोरियाले १५ देशबाट कामदार लैजान्छ । उसले ईपीएसअन्तर्गत भियतनाम, मंगोलिया, थाइल्यान्ड, चीन, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, बंगलादेश, म्यानमार, किर्जिस्तान र पूर्वी टिमोरबाट कामदार लैजान्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks