Loving nepal news

Thursday, October 28, 2010

कांग्रेसको पहिलो बैठक / उम्मेदवारी यथावत् राख्ने निर्णय

बलराम बानियाँ

काठमाडौ, कार्तिक ११ - महाधिवेशनपछि बिहीबार कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बसेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीका लागि कांग्रेसको उम्मेदवारी यथावत् राख्ने निर्णय गरेको छ ।

कांग्रेसले उठाउँदै आएका चार विषय कार्यान्वयन नभएसम्म उम्मेदवारी फिर्ता नलिने प्रधानमन्त्रीका उम्मेदवार एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । 'कांग्रेसले उठाउँदै आएको शान्ति प्रक्रिया पूरा गर्ने प्रतिवद्धता, लोकतान्त्रिक संविधानमा सहमति, सत्ता साझेदारी र को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति भएपछि मात्रै उम्मेदवारी फिर्ता हुन्छ,' बैठकपछि पौडेलले सञ्चारकर्मीलाई भने ।

१२ औं महाधिवेशनपछिको पहिलो बैठकमा बिहीबार नवनिर्वाचित सभापति सुशील कोइराला, संसदीय दलका नेता पौडेल र केन्द्रीय सदस्य रामशरण महतले आ-आफ्नो धारणा राखे ।

बैठकमा सवै नयाँ

कांग्रेसको महाधिवेशनपछिको पहिलो बैठक चौथो तलामा हालसालै मात्र बनाएको नयाँ हलमा सुरु भयो । यसअघि काँग्रेस कार्यालयमा बैठक हल दोस्रो तलामा थियो । नयाँ हलमा, टेवल कुर्चीसमेत नयैँ देखिन्थे ।

सभापति सुशील कोइराला (बीचमा) नेता शेरबहादुर देउवा (दायाँ) र महामन्त्री प्रकाशमान सिंह । तस्बिरः कान्तिपुर

निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरु उपस्थित बैठकमा सभापति सुशील कोइरालासँग पराजित शेरबहादुर देउवा पनि मनोनित केन्द्रीय सदस्यको हैसियतमा बैठकमा सहभागी भए । बैठकमा बसेको व्यवस्था अनुसार देउवालाई दोस्रो मर्यदाक्रममा राखिएको थियो । नवनिर्वाचित सभापति कोइराला र देउवा एउटै लहरमा बसेका थिए । त्यसपछि पदाधिकारीलगायत अरु नेताहरु बसे । यद्यपी औपचारिक रुपमा निर्णय भएको छैन । तीन दिन अघि मात्र देउवालाई कोइरालाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

असोज १ गतेदेखि सुरु भएको कांग्रेस महाधिवेशन लगतै नवनिर्वाचित सभापति कोइराला विरामी परेका कारण बैठक बस्न ढिलो भएको हो । बैठकमा महाधिवेशनको समीक्षा, सत्ता समिकरण तथा केन्द्रीय पदाधिकारीको मनोनयनलगायतका विषयमा छलफल हुनेछ । सभापतिले उपसभापति, महामन्त्री र सह-महामन्त्री एक-एक जना तथा १६ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी नै छ ।

महाधिवेशन खर्च झण्डै तीन करोड

कांग्रेसको पहिलो बैठकमा महाधिवेशनमा लागेको खर्च विवरण पेस भयो । महाधिवेशनमा २ करोड ८२ लाख रुपैयाँ खर्च भएको आर्थिक विवरण पेस गरिएको छ । महाधिवेशनका लागि ३ करोड १० रुपैयाँ प्राप्त हुने प्रतिवद्धता आए पनि १ करोड १० लाख रुपैयाँमात्र प्राप्त भएको बैठकमा जानकारी गराइयो ।

तीन समिति गठन

यसैबीच कांग्रेस बैठकले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा विधान संशोधन समिति बनाएको छ । यसैगरी नयाँ विधान अनुसार नियमावली परिमार्जन गर्न अर्जुननरसिंह केसीको संयोजकत्वमा समिति बनाइएको छ ।

महाधिवेशनमा उठेका नीति तथा कार्यक्रमलाई समावेश गरी अन्तिम रुप दिन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति बनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks